कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
अर्थमन्त्री प्रकरण

संसदीय समितिलाई पत्रकारले भने- स्रोत खुलाउन सकिन्न, जे छ पत्रिकामा नै छ

बिहीबार बिहान साढे ८ बजे शर्मासँग छलफल

काठमाडौँ — बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको भन्ने समाचार लेख्ने पत्रकारसँग संसदीय विशेष छानबिन समितिले छलफल गरेको छ । समितिले अन्नपूर्ण पोष्टका पत्रकारहरू सुरेन्द्र काफ्ले र ममता थापासँग छलफल गरेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । 

संसदीय समितिलाई पत्रकारले भने- स्रोत खुलाउन सकिन्न, जे छ पत्रिकामा नै छ

संघीय संसद सचिवालयमा बुधबार भएको पत्रकारद्वयसँगको छलफलमा उक्त समाचार कुन आधारमा लेखिएको हो भने‍र सोधेको थियो । समितिमा रहेका एक सांसदका अनुसार पत्रकारद्वयले समाचारको स्रोत समितिलाई दिन मानेनन् । 'उहाँहरूले स्रोत खुलाउन सकिन्न भन्नुभयो । पत्रकारहरूले जे छ पत्रिकामा छ र हाम्रो स्रोतप्रति हामी विश्वस्त छौं भन्ने कुरा राख्नुभयो,' पत्रकारका कुरा उल्लेख गर्दै ती सांसदले भने, 'अरु कुरा भन्नुपर्‍यो भने पत्रिकामार्फत नै भनौला भन्नुभयो ।'

शर्मालाई बिहीबार बिहानै बोलाइयो

समितिले जनार्दन शर्मालाई छलफलका लागि बिहीबार बिहान साढे ८ बजे उपस्थित हुन भनेको छ । करका दर हेरफेरका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी बजेट निर्माण गरेको विषयमा छलफल गर्नका लागि बोलाइएको समितिको सचिवालयले जनाएको छ ।

बिहीबार शर्मासँग मात्रै छलफल गरिने बताइएको छ । दिउँसो १ बजे प्रतिनिधिसभा बैठक भएको र समितिको समयावधि थप गर्नेबारे पनि छलफल गर्नुपर्ने भएकाले शर्मासँग मात्रै छलफल गर्नका लागि समय निर्धारण गरिएको समिति सचिवालयले जनाएको छ । समितिको १० दिनको समयसीमा बिहीबार सकिँदैछ ।

समितिले बजेट निर्माणमा संलग्न अर्थमन्त्रालयका १० अधिकारीसँग छलफल गरिसकेको छ । त्यसमा सचिवहरू मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, प्रशासन महाशाखा प्रमुख केदार शर्मा, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, सूचना प्रविधि हेर्ने उपसचिव ठेकु श्रेष्ठ, राजश्व व्यवस्थापन महाशाखाका उपसचिवहरू सरद निरौला र गोपाल खत्रीसँग छलफल गरिसकेको छ ।

संसदीय विशेष छानबिन समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन् ।

प्रकाशित : श्रावण ४, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?