कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गंगालालमा रोकियो मुटु शल्यक्रिया

शल्यक्रिया गर्न अनिवार्य ‘अक्सिजेनेटर’ को खर्च बिरामी आफैंले बेहोर्ने भए पनि अस्पतालले बेलैमा खरिद नगर्दा मंगलबार एकै दिन बेडबाट निकालिए ४५ बिरामी, उपकरण कहिले आउने हो, निश्चित छैन
प्रशान्त माली

काठमाडौँ — सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अत्यावश्यक ‘अक्सिजेनेटर’ सकिए पनि अस्पतालले बेलैमा प्रबन्ध नगर्दा मंगलबार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाइएको छ । 

गंगालालमा रोकियो मुटु शल्यक्रिया

मुटुको शल्यक्रिया गर्दा मुटु र फोक्सोको काम कृत्रिम रूपमा सञ्चालन गर्नुपर्छ । यसका लागि ‘अक्सिजेनेटर’ ले सहयोग गर्छ । यसले रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ । यो उपकरण एक पटकमा एक जना बिरामीलाई मात्र प्रयोग गर्न सकिन्छ । यसको मूल्य ४० देखि ५० हजारसम्म पर्छ, जसको भुक्तानी बिरामीले स्वयंले गर्नुपर्छ ।

उपकरण सकिन थालेको जान्दा जान्दै पनि अस्पताल व्यवस्थापनले एक महिनाअघि मात्रै खरिद प्रक्रिया सुरु गरेको थियो । हस्पिटेक इन्टरप्राइजेजमार्फत इटालीको सोरिन कम्पनीबाट १ हजार ५ सय ४६ वटा ल्याउने सम्झौता भए पनि त्यो कहिले आउने हो, निश्चित छैन ।

अस्पतालले २०७६/७७ र २०७७/७८ मा कोभिड महामारीका कारण शल्यक्रिया गराउने संख्यामा उल्लेख्य कमी आएको भन्दै ‘अक्सिजेनेटर’ खरिदमा चासो दिएको थिएन । गंगालालमा दैनिक ७ देखि ८ जनाको शल्यक्रिया हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार गंगालालमा शल्यक्रिया सेवा रोकिएपछि स्वास्थ्यमन्त्री, सचिव, नीति योजना महाशाखा प्रमुखलगायत बीच छलफल भएको थियो । तर, छलफलले कुनै निष्कर्ष निकालेन । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘अभाव भएको हो, यसबारेमा गंगालालमै बुझ्नुस्,’ उनले यतिमात्रै भने ।

गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीले युक्रेन–रुस युद्धले कच्चा पदार्थ अभावका कारण उत्पादनमा कमी आएकाले समयमै ‘अक्सिजेनेटर’ ल्याउन नसकेको दाबी गरे । ‘नेपालमा मात्र नभई भारतमा पनि अभावका कारण अपरेसन प्रभावित बनेको छ,’ उनले भने । तर यति संवेदनशील शल्यक्रियासँग जोडिएको उपकरण ल्याउन एक महिनाअघि मात्रै प्रक्रिया किन अघि बढाइयो भन्नेमा अस्पताल प्रशासनले ठोस जवाफ दिन सकेन ।

‘अक्सिजेनेटर’ अभावकै कारण शल्यक्रिया रोकिएपछि बिरामीहरू मर्कामा परेका छन् । बुटवलका ५७ वर्षीय भूमराज ढकाल वैशाखमा अस्पताल आएका थिए । मिति सर्दासर्दै मंगलबार शल्यक्रिया तोकिएको थियो । यसकै लागि उनलाई भर्ना गरेर प्रि–सर्जिकल वार्डमा राखिएको थियो । ‘५–७ पटक धाएपछि बल्लतल्ल पालो आयो भनेर दंग परेका थियौं,’ श्रीमतीले सुनाइन्, ‘एक्कासि डिस्चार्ज गरेर एक महिनापछि आउनु भनेर पठाइदिए ।’ उनका अनुसार समयमा शल्यक्रिया गर्न नसक्दा ढकाललाई दुई पटक हृदयाघात भइसकेको छ ।

यस्तै, भरतपुर अस्पतालबाट रेफर भएका बागलुङका ७५ वर्षीय बलिभद्र गौतमले मंगलबार शल्यक्रिया गर्न सोमबार साँझदेखि पेट खाली राखेका थिए । रगत दिन दाता पनि तयार पारिसकेका थिए । तर, अस्पतालले शल्यक्रिया नहुने बताएपछि उनी निराश भएर फर्केका छन् । समयमा शल्यक्रिया नहुँदा बेलाबेला श्वासप्रश्वास रोकिने समस्या रहेको उनले बताए । ‘उकालो चढ्नै हुँदैन, स्वाँस्वाँ आइहाल्छ,’ उनले भने । नवलपरासीकी छनीसरा दर्लामीले पनि शल्यक्रिया नहुँदा कष्ट सहनुपरेको छ ।

‘निजीमा उपचार गराउन सक्ने हैसियत छैन,’ उनकी दिदी हेमकला कुमालले भनिन्, ‘जस्तोसुकै समस्या आए पनि पर्खनुबाहेक अरू उपाय छैन ।’ उनलाई खुट्टा र हात सुन्निने समस्या छ । मुटुरोग विशेषज्ञ डा. प्रेम वैद्यले मुटुको धमनी ब्लक भएमा हृदयाघातको जोखिम रहने बताए । ‘भल्भ साँघुरो हुँदा वा अन्य रोग भएका बिरामीको पनि समयमै शल्यक्रिया नहुँदा मृत्युसमेत हुन सक्छ,’ उनले भने, ‘अक्सिजन कमी हुनेजस्ता समस्या भएका बिरामीले बढी सास्ती भोग्ने गरेका छन् ।’

शल्यक्रिया सेवा रोकिएको गुनासो आएपछि काठमाडौंका प्रदेशसभा सदस्य नरोत्तम वैद्य यसबारे बुझ्न अस्पताल नै पुगेका थिए । ‘सामान अभावको कारण देखाएर अपरेसन रोक्न मिल्दैन,’ उनले भने, ‘यसमा कसको कमजोरी भएको हो छानबिन गरी दोषीमाथि कारबाही गरियोस् । केही गरी बिरामी तलमाथि भएमा कसले जिम्मेवारी लिन्छ ?’

प्रकाशित : श्रावण ४, २०७९ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?