मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एक/दुई दिनमै वर्षा हुन्छ : मौसमविद्‍

कान्तिपुर संवाददाता

काठमाडौँ — मौसमविद्हरूले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरूले केही दिनयता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मी बढेको बताएका हुन् ।

जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले हाल देशका विभिन्न भागहरूमा तापक्रम बढी अत्यधिक गर्मी हुनु स्वभाविक रहेको बताएकी छन् ।

मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ । उनले मनसुन न्यून चापीय रेखा एक, दुई दिनभित्रै माथि आउने र वर्षा हुन सुरु हुनासाथ गर्मी हटेर जाने बताइन् ।

‘देशको विभिन्न भागमा तापक्रम बढेको, अत्यधिक गर्मीको जुन अनुभव गरिएको छ, यो मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ । यो दुईवटा लगभग सम्बन्धित जस्तै भन्नुपर्छ । वर्षा हुने बित्तिकै शीतल हुने, पानी नपर्ने लामै जस्तो भएको भएर पनि गर्मी बढेकै भयो । तापक्रम बढेको महसुस भइराखेको छ । वर्षाको क्रमसँगै बिस्तारै शीतल अनुभव गर्न सक्छौं,’ मौसमविद्‍ पोखरेलको भनाइ छ ।

मौसमविद्‍ पोखरेलका अनुसार प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको छ । उस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको छ ।

यस्तै मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेका सूचनाहरूलाई ध्यान दिन पनि पोखरेलको आग्रह थियो।

प्रकाशित : श्रावण ३, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्

निक्षेप बढे पनि तरलता समस्या कायमै, बैंकहरूले लिए दुई दिनमै ८१ अर्ब सापटी

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारी खर्च बढेकाले बैंक तथा वित्तीय प्रणालीमा निक्षेप बढेपनि तरलता समस्या कायमै छ । साउन १ र २ गते दुई दिनमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट करिब ८१ अर्ब अल्पकालीन सापटी लिनुले तरलता समस्या यथावतै रहेको पुष्टि हुन्छ ।


राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत आइतबार १९ अर्ब १५ करोड र सोमबार ६१ अर्ब ७४ करोड रुपैयाँ गरी कुल ८० अर्ब ८९ करोड रुपैयाँ अल्पकालीन ऋण लिएका छन् । यद्यपि पछिल्ला साताहरुमा बैंक तथा वित्तीय प्रणालीमा निक्षेप बढेको छ । आर्थिक वर्षको अन्तिम महिना भएकाले असारमा सरकारी खर्च बढ्दा बैंकहरुमा निक्षेप पनि बढेको हो । राष्ट्र बैंकका अनुसार गत असार महिनामा वाणिज्य बैंकहरुमा मात्र करिब १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा प्रवाह करिब १८ अर्बले घटेको छ ।

सरकारले म्याद थप नगरिदिँदा साउन १ देखि वाणिज्य बैंकहरूले स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ५० प्रतिशत मात्र निक्षेपमा गणना गर्न पाएका छन् । जबकि असार ३२ सम्म उक्त खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने सुविधा पाएका थिए । उक्त व्यवस्थाले निरन्तरता नपाउँदा वित्तीय प्रणालीमा करिब ४५ देखि ५० अर्ब निक्षेप घटेको बैंकरहरुले बताउँदै आएका छन् । यस्तै, साउन १ देखि बैंक तथा वित्तीय संस्थाले ऋणपत्रको बिक्रीबाट संकलन गरेको रकम पनि निक्षेप (स्रोत)मा गणना गर्न नपाउने भएका छन् । उल्लिखित कारणले आर्थिक वर्षको सुरुदेखि नै वित्तीय प्रणालीमा तरलता समस्या देखिन थालेको जानकारहरु बताउँछन् ।

प्रकाशित : श्रावण ३, २०७९ १३:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×