१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ई-स्पोर्ट्सको बेग्लै दुनियाँ

कम्प्युटर वा मोबाइल डिभाइसमा खेलिने खेल अब अभिभावकको आँखा छलेर खेल्ने बाध्यता रहेन, नेपालमा ६ वर्षअघि नै गठन भएको ई–स्पोर्ट्स एसोसिएसनले प्रतियोगिता गराउँदै आएको छ भने दक्षिण एसियास्तरमा छनोट भएका टिम विश्व च्याम्पियनसिपमा पुग्छन् जहाँ नेपाल पनि सहभागी भइसकेको छ । एसिएन ओलम्पिक काउन्सिलको आयोजनामा चीनमा हुने एसियन गेम्समा ई–स्पोर्ट्सका आठ खेल समावेश छन्, नेपाल पनि ६ खेलमा छनोट भएको छ । 
राजु घिसिङ

काठमाडौँ — काठमाडौं महानगरले १ करोड रुपैयाँ बजेट प्रस्ताव गरेपछि ‘ई–स्पोर्ट्स’ फेरि एकपटक चर्चामा आएको छ । महानगर प्रमुख बालेन्द्र शाहले ई–स्पोर्ट्सका नाममा सहयोगीलाई बजेट दिन लागेको भन्दै एकातिर आलोचना भइरहेको छ भने अर्कोतिर यो कस्तो खेल हो भन्ने विषयले आममानिसको ध्यान खिचेको छ ।

ई-स्पोर्ट्सको बेग्लै दुनियाँ

ई–स्पोर्ट्स भन्नाले ‘विद्युतीय माध्यमबाट खेलिने खेलहरू’ हुन् । टेलिभिजनको सहयोगमा खेल्न सुरु भएका यस्ता खेललाई कम्प्युटरले सहज बनाइदियो । स्मार्टफोनको तीव्र विकासले त यस्ता खेल र खेलाडीको संख्या ह्वात्तै बढाइदिएको छ । केही वर्षअघिसम्म ‘साइबर क्याफे’ र ‘गेमिङ सेन्टर’ मा केन्द्रित ई–स्पोर्ट्सलाई स्मार्टफोनले लगभग सबैको पहुँचमा पुर्‍याइदिएको छ । कुनै टिन एजर्स १०–२० मिनेट मोबाइलमा एकोहोरियो भने उसलाई ई–स्पोर्ट्सका खेलाडी भन्न थालिएको छ । पछिल्ला केही वर्षदेखि संस्थागत रूपमै यस्ता खेल खेल्न थालिएको छ ।

सन् २०१६ मा नेपाल ई–स्पोर्ट्स संघ (नेसा) स्थापना भएपछि ई–स्पोर्ट्सलाई एकताबद्ध गरेर मूलधारको खेलमा ढाल्ने प्रयास भइरहेको छ । खासमा ई–स्पोर्ट्स के हो ? नेसाका अध्यक्ष सुरज डंगोल भन्छन्, ‘पहिला भिडियो गेम चल्यो, त्यसपछि आर्केड गेम (प्ले–स्टेसनबाट खेल्ने खेलहरू) र अटारी (टीभीमा प्लग–इन गरेर खेलिने खेल) आयो । तिनैको आधुनिक रूप ई–स्पोर्ट्स हो । फिजिकल र भर्चुअल प्रतिस्पर्धालाई मिश्रण गर्दै यसको तीव्र विकास भइरहेको छ ।’ सन् २००८ मा दक्षिण कोरियाको बुसानमा इन्टरनेसनल ई–स्पोर्ट्स महासंघ (आईईएसएफ) स्थापना भएपछि ‘ई–स्पोर्ट्स’ चल्तीमा आएको उल्लेख गर्दै डंगोलले भने, ‘गेमिङ च्याम्पियनसिप भनेर निजी रूपमै प्रतियोगिता हुन्थ्यो, जसलाई पछि ई–स्पोर्ट्सले विस्थापित गर्‍यो ।’

ई-स्पोर्ट्सका लागि एक करोड रुपैयाँ दिने काठमाडौं महानगरको प्रस्तावलाई सकारात्मक रूपमा लिएको नेसाका अध्यक्ष डंगोलले बताए । ‘पहिलोपल्ट सरकारबाट इस्पोर्ट्समा रकम छुट्याइएको छ, यसलाई उपलब्धि मानेका छौं,’ उनले भने, ‘आफ्नै खर्चले जसोतसो नेपालको झण्डा लिएर विदेशमा प्रतियोगिता खेल्न पठाइरहेका छौं । महानगरको बजेटले इस्पोर्ट्सलाई मान्यता दिएको महसुस गरेका छौं ।’ त्यही बजेट ‘रुटिन अफ नेपाल बन्द’ लाई दिन लागेको भन्दै नगरप्रमुख शाहको आलोचना भएको थियो तर उनले कुनै संस्था वा खेलका लागि नभई एसियन गेम्समा पनि समावेश गरिएको इस्पोर्ट्सलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि छुट्याइएको दाबी गरेका थिए । उनले चुनावी घोषणा पत्रमै इस्पोट्सलाई बजेट छुट्याउने उल्लेख गरेका थिए ।

नेसाले सन् २०१६ मा आईईएसएफको सदस्यता पायो । ग्लोबल ई–स्पोर्ट्स महासंघ (जीईएफ) पनि छ र यसको सदस्यता नेसाले २०१९ मा लियो । नेसाले राष्ट्रिय प्रतियोगिता (नेसनल च्याम्पियनसिप) २०१८ मै सुरु गरेको थियो । हालसम्म राष्ट्रिय प्रतियोगिता तीनपल्ट आयोजना भएको छ । पहिलो राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामा ‘सीएस : गो (काउन्टर स्ट्राइक : ग्लोबल अफेन्सिभ)’, ‘डोटा २’ र ‘मोबाइल लिजेन्ड्स : ब्याङ ब्याङ (एमएलबीबी)’ लाई समावेश गरिएको थियो । दोस्रो संस्करण २०१९ मा ‘डोटा २’, ‘सीएस : गो’, ‘फिफा’ र ‘फ्री फायर’ को प्रतिस्पर्धा गराइएको थियो । त्यसपछि ई–स्पोर्ट्स कोभिड–१९ महामारीले प्रभावित भयो । गत साता सम्पन्न तेस्रो संस्करणमा ‘डोटा २’, ‘सीएस : गो’, ‘एमएलबीबी’, ‘टेकन ७’ र ‘पब्जी (प्लेयर अननोन ब्याटलग्राउन्ड्स)’ मा प्रतिस्पर्धा भएको थियो ।

आगामी मंसिरमा इन्डोनेसियाको बालीमा १४ औं वर्ल्ड ई–स्पोर्ट्स च्याम्पियनसिप हुँदै छ । यसको छनोट पनि थियो– तेस्रो राष्ट्रिय प्रतियोगिता । यसका पाँच खेलमा ४४६ खेलाडी सहभागी थिए । सबैभन्दा बढी २८४ खेलाडी (५७ टिम) ‘पब्जी’ मा थिए । ‘टेकन ७’ मा तीन, ‘एमएलबीबी’ मा १०५ (१७ टिम), ‘सीएस : गो’ मा ११ (२ टिम) र ‘डोटा २’ मा ४३ (८ टिम) दर्ता भएका थिए । प्रत्येक खेलका विजेताले अब क्षेत्रीय छनोट खेल्नेछन् । प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई प्राइम कलेजले स्नातक र स्नातकोत्तर तहमा पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । यसले नेपालमा ई–स्पोर्ट्सको दायरा फैलिएको देखाउँछ ।

एसियाली ओलम्पिक परिषद् (ओसीए) ले चीनको हाङजोउमा हुने १९ औं एसियाली खेलकुद २०२३ मा ‘माइन्ड गेम्स’ अन्तर्गत ई–स्पोर्ट्सलाई समावेश गरेको थियो । एसियाडमा ई–स्पोर्ट्सले प्रवेश पाएको यो नै पहिलो हो । ई–स्पोर्ट्सका आठ खेल समावेश गरिएको छ र हरेक खेलमा पदक (आठ स्वर्ण) दिइनेछ । भदौ–असोजमा हुने भनिएको उक्त एसियाड स्थगित गरिएको छ तर त्यसमा समावेश ई–स्पोर्ट्सका आठमध्ये ६ खेलमा नेसाले प्रतियोगिता आयोजना गरेर गत वैशाख–जेठमा नेपाली खेलाडी/टिम छनोट गरिसकेको छ । ‘डोटा २’, ‘एओभी (एरिना अफ भेलोर)’, ‘ड्रिम अफ द थ्री किङडम्स’, ‘फिफा अनलाइन ४’, ‘हर्थस्टोन’ र ‘पब्जी मोबाइल’ मा नेपालले छनोट गरेको थियो । विजेताहरू क्षेत्रीय छनोटको तयारीमा छन् । नेसाले ‘लिग अफ लिजेन्ड्स’ र ‘स्ट्रिट फाइटर’ को छनोट गरेन ।


डेनमार्कमा आइतबार सम्पन्न फिफा ई–वर्ल्डकप २०२२ को उपाधि जितेपछि खुसी साट्दै जर्मनीका उमुत गुल्टेकिन ।

‘लिग अफ लिजेन्ड्समा हामीसँग टिम नै छैन, स्ट्रिट फाइटरमा हाम्रो समुदायमा खेलाडी नै भेटिएनन्, त्यसैले यी दुई खेलमा एसियाडमा हाम्रो सहभागिता हुने छैन,’ अध्यक्ष डंगोलले भने । हाङजोउका दुई प्रदर्शनी खेल (रोबोटिक्स र भर्चुअल रियालिटी) मा नेपालको सहभागिता नहुने नेसाले जनाएको छ । चार वर्षअघि इन्डोनेसियाको जकार्ता–पालेम्बाङमा भएको एसियाडमा ई–स्पोर्ट्सलाई प्रदर्शनी खेलका रूपमा समावेश गरिएको थियो । त्यसमा नेपाली टिम लिग अफ लिजेन्ड्सको छनोट खेल्न भियतनाम पुगेको थियो तर त्यहाँ सफलता हात लागेन । ‘एओभी’, ‘क्लास रोयल’, ‘हर्थस्टोन’, ‘प्रो इभोल्युसन सकर’ र ‘स्टारक्राफ्ट २’ मा नेपालले सहभागिताको प्रयास नै गरेन ।

महादेशकै बृहत् र सबैभन्दा प्रतिष्ठित खेलकुद एसियाडबारे नेसाका अध्यक्ष डंगोलले भने, ‘हामी पब्जीमा केन्द्रित छौं, यसमा हाम्रो टिमले आफ्नो क्षेत्रमा राम्रै गर्छ जस्तो लाग्छ । डोटामा नेपाली खेलाडी दक्षिण एसियाली क्षेत्रबाट छनोट भएर ठूला प्रतियोगितामा गइसकेका छन् । हर्थस्टोन ‘माइन्ड गेम’ हो, यसमा पनि राम्रो गर्ने अपेक्षा गरेका छौं ।’ पब्जीमा एक टिममा चार खेलाडीले प्रतिस्पर्धा गर्छन् । टिममा ६ जनासम्म खेलाडी राख्न पाइन्छ । यसको एसियाड छनोटमा ६४४ टिम दर्ता भएका थिए । त्यस हिसाबले

पब्जीको छनोट ३ हजार बढीले खेलेको देखिन्छ । यसले पब्जीको लोकप्रियता प्रस्टै पार्दछ । प्रतियोगितामा सहभागिताको संख्याको हिसाबले पनि ई–स्पोर्टमा नेपालमा लोकप्रिय पब्जी नै देखियो । हार्डकोर फ्यानले डोटा मनपराउँछन् । सजिलोको हिसाबले फिफा (भर्चुअल फुटबल) खेल्छन् ।

नेपालमा ई–स्पोर्ट्सलाई पब्जीले ह्वात्तै माथि ल्याएको हो । यसमा महामारीको ‘लकडाउन’ ले पनि सहयोग गर्‍यो । धेरै पब्जी खेल्दा बालबालिकामा मानसिक असर परेको गुनासा आए । सरकारले तीन वर्षअघि पब्जीमा प्रतिबन्ध नै लगायो । त्यो निर्णयलाई केही दिनमै अदालतले उल्टाइदियो । ‘रातभरि खेलेर च्याम्पियन हुने होइन, समय मिलाएर व्यक्तिगत कुरा र स्वास्थ्यमा पनि ध्यान दिन खेलाडीलाई आग्रह गरेका छौं,’ नेसाका अध्यक्ष डंगोलले भने, ‘जुनै पनि कुरा धेरै गर्‍यो भने नराम्रो भइहाल्यो । चिनी पनि बढी खायो भने तीतो हुन्छ । त्यसैले खेलमा पनि नियन्त्रण हुनुपर्छ, तोकेरै खेल्ने समय दिनुपर्छ तर प्रतिबन्धचाहिँ ठीक होइन । यसलाई कसरी उपयोग गर्न सकिन्छ, त्यतातिर ध्यान दिनुपर्छ ।’

चीनलगायत केही देशमा बालबालिकालाई पब्जी खेल्न निश्चित समय पनि तोकिएको छ । ई–स्पोर्ट्स विन्डोज, एन्ड्रोइड, आईओसका प्लेटफर्ममा पर्सनल कम्प्युटर (पीसी), मोबाइल, एक्स बक्स, निन्टेन्डो स्वीच, प्ले स्टेसनलगायतका माध्यमबाट खेलिन्छ । नेपालमा पीसी र मोबाइल भर्सनका ई–स्पोर्ट्सका खेलहरू लोकप्रिय छन् ।

फैलँदो बजार र लोकप्रियता

नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहकार्यमा नेसाले एसियाडका लागि नेपाली खेलाडीको छनोट गर्ने अवसर पाएको हो । गत साता भएको राष्ट्रिय प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ थिए । एनओसी अध्यक्षसमेत रहेका उनले भनेका थिए, ‘नेपालमा ई–स्पोर्ट्सको इतिहास धेरै पुरानो छैन, कान्छो अवस्थामै छ । केही अघिसम्म विदेशमा देख्दा नेपालमा पनि ई–स्पोर्ट्स भए हुन्थ्यो भन्ने लाग्थ्यो । कतिपय नीति निर्मातालाई यहाँ ई–स्पोर्ट्स पनि छ है भन्ने थाहा नहुन सक्छ । युवामा दुनियाँमै लोकप्रिय भइरहेको छ । यो माइन्ड गेम पनि हो । ई–स्पोर्ट्समा नेपालको झन्डा फैलाउनेमा विश्वस्त छु ।’

नेसाले राष्ट्रिय खेलकुद परिषद्मा भने बेग्लै खेल संस्थाका रूपमा दर्ता गर्ने अवसर पाएको छैन । ताइवानी राष्ट्रपति साई इङ–वेन चार वर्षअघिको वर्ल्ड च्याम्पियनसिपको उद्घाटन र समापन समारोहमा प्रमुख अतिथि थिइन् । यसको बजारबारे न्युजुले गरेको अध्ययनअनुसार ई–स्पोर्ट्समा विश्वमा १ अर्ब डलर बढीको कारोबार भएको थियो । यो वर्ष (२०२२) मा ५० करोड मानिस ई–स्पोर्ट्समा संलग्न हुने र कारोबार १ अर्ब ७९ करोड डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

पाँच वर्षअघि (२०१७) मा ई–स्पोर्टको कारोबार ६५ करोड ५० लाख डलर मात्रै थियो । त्यसमा ३२ प्रतिशत (२०१८), २७ प्रतिशत (२०१९) वृद्धि हुँदै यसपालि २२ प्रतिशत (२०२२) वृद्धिको प्रक्षेपण गरिएको हो । ई–स्पोर्ट्स खेल्ने र हेर्नेको संख्यामा पनि तीव्र गतिमा वृद्धि भइरहेको छ । सन् २०१७ मा ई–स्पोर्ट्सका भ्युअर्स ३३ करोड ५० लाख थिए । यो संख्या यसपालि ६४ करोड ५० लाख पुग्ने आकलन गरिएको छ ।

ई–स्पोर्ट्सको फैलँदो बजार र लोकप्रियताबाट नेपाली पनि टाढा छैनन् तर ई–स्पोर्ट्समा नेपालमा अझै खुलेर लगानी गर्ने अवस्था नभएको बताउँछिन् माइस इन्टरनेसनल (इभेन्ट म्यानेजमेन्ट कम्पनी) की सीओओ (चिफ अपरेटिङ अफिसर) सिलु श्रेष्ठ । नेसाका तीनै राष्ट्रिय प्रतियोगिता र एसियाड छनोटको व्यवस्थापन सम्हालेकी उनले भनिन्, ‘ई–स्पोर्ट्सका खेलाडी बढिरहेका छन् । यसमा सर्वसाधारणमा चासो बढेको छ । ई–स्पोर्ट्स लोकिप्रय भइरहेको छ तर बजारमा अझै खुलेर लगानी गर्ने, प्रयोजक जुट्ने अवस्था आइसकेको छैन । कोभिडका कारण पनि हुन सक्छ स्थानीय बजारमा ई–स्पोर्ट्सको अवस्था तीन वर्षअघि जस्तो थियो, अहिले पनि उस्तै छ ।’ फैलँदो बजार र सम्भावनाकै कारण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पनि ई–वर्ल्डकप आयोजना गर्न थालेको छ । डेनमार्कमा आइतबार सम्पन्न ई–वर्ल्डकपमा जर्मनीका उमुत गुल्टेकिनले २०२२ को उपाधि जितेका छन् । उसले भर्चुअल फुटबल १८ वर्षअघि नै ल्याएको थियो । विश्वकै चर्चित फुटबल लिगका फेन्टासी लिग पनि लोकप्रिय छन् । लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेयमर, रोबर्ट लेवन्डाव्स्की, करिम बेन्जेमा, ल्युका मोडरिचजस्ता खेलाडीलाई भर्चुअल गेमका लागि कम्पनीहरूले ठूलो मूल्य तिरेका छन् । फर्मूला वान, बक्सिङ, मोटो जीपी, टेनिसलगायत विभिन्न खेलका भर्चुअल गेम पनि आइरहेका छन् । सहरमा खेल्ने मैदानको अभाव र प्रविधिको तीव्र विकासले पनि ई–स्पोर्ट्समा नयाँ पुस्ता आकर्षित भएका हुन् ।

स्ट्याटिस्टाको अध्ययनअनुसार २०२१ मा ई–स्पोर्ट्समा सबैभन्दा बढी पुरस्कार ‘डोटा २’ (४ करोड ७७ लाख ९० हजार डलर), ‘सीएस : गो’ (२ करोड १८ लाख ९० हजार डलर) र ‘पब्जी मोबाइल’ (२ करोड ५ लाख ७० हजार डलर) मा थियो । पब्जीको सबैभन्दा ठूलो बजार चीन नै हो, जहाँ आठ महिना निरन्तर प्रतियोगिता चल्छ । ‘डोटा २’ र ‘सीएस : गो’ विश्वभरि नै चलेका छन् । ‘फिफा’, ‘सीएस : गो’, ‘एओभी’ लगायतमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको कमाइ राम्रै छ तर यी खेलमा नेपालमा ‘पकेट मनी’ संकलन मात्रै भइरहेको छ, जुन थोरैको पहुँचमा मात्रै छ ।

ई–स्पोर्ट्सको लोकप्रियतासँगै सोसल मिडियामा गेमको ‘लाइभ स्ट्रिमर’ ले पनि राम्रो कमाइ गरिरहेका छन् । केही नेपाली कास्टरले मासिक १ लाखभन्दा बढी तलब बुझ्ने गर्छन् । कलाकार निश्चल बस्नेत आफैंले पनि आफ्नै पब्जी टिम ‘बटालियन ५’ चलाएका थिए । क्रिकेटर पारस खड्का, कलाकार रियाशा दाहाल, गायक विवेक लामा, कमेडियन विशाल गौतमले इन्फ्लुन्सरका रूपमा काम गरिसकेका छन् ।

डोटा २ : विश्वकै शीर्ष ५ मा नेपाली टिम

नेसा स्थापनाताका डोटा २ खुबै चलेको थियो । ‘सीएस : गो’ र ‘लिग अफ लिजेन्ड्स’ भर्खरै सुरु भएको थियो । त्यसपछि आएको हो– पब्जी । ताइवानमा भएको ई–स्पोर्ट्स वर्ल्ड च्याम्पियनसिप २०१८ मा नेपाली खेलाडीले ‘सीएस : गो’ मा प्रतिस्पर्धा गरेको थियो तर प्रारम्भिक चरणमै चुनौती सकियो । कोरियामा भएको वर्ल्ड च्याम्पियनसिप २०१९ मा ‘डोटा २’ मा नेपाली टिम (माई रिभेन्ज) पाँचौं भयो । ई–स्पोर्ट्समा हालसम्मकै सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिइएको उक्त नतिजाले नेपालको अन्तर्राष्ट्रिय जगत्मै चर्चा भएको थियो । सुमित श्रेष्ठका कप्तानीमा रहेको टिममा अभिनव शाक्य, आइरन राई, लिगल सुब्बा र स्वर्णुप तण्डुकार थिए । समित र अभिनव अहिले पनि ‘डोटा २’ खेल्छन्, अरूले खेल्न छाडिसके ।

त्यो कोरिया यात्राबारे कप्तान सुमितले भने, ‘राम्रो सुविधा पाएको भए हामीलाई वर्ल्ड च्याम्पियनसिप जित्ने अवसर थियो । बुथ क्याम्पमा राख्ने, पाँचै खेलाडी एउटै स्थानमा रहेर खेल्ने, खेलाडीलाई उत्साहित पार्ने, प्रायोजकको व्यवस्थालगायतका अभाव अहिले पनि छ ।’ दुईपल्ट राष्ट्रिय च्याम्पियन हुँदै वर्ल्ड च्याम्पियनसिप खेलेका २५ वर्षीय उनले भने, ‘करिब १० वर्षको हुँदैदेखि मैले साथीहरूसँग साइबर क्याफे गएर वारक्राफ्ट, एज अफ एम्पायर खेल्थें । पीइएस (भर्चुअल फुटबल) खेल्थें । अनि डोटा १ खेलें । ५–६ वर्षयता डोटा २ खेल्छु । यसमा केही वर्षअघिसम्म धेरै खेलाडी थिए, राम्रो थियो, हाइप पनि थियो ।’ स्नातक तहमा अध्ययनरत उनले अहिले पनि डोटा २ खेलेरै मासिक १५–२० हजार कमाउने गर्छन् । महामारीले प्रायोजक र प्रतियोगिताको कमी भएको पनि उनले बताए ।

त्यसपछि डोटा २ मा नेपाली टिम दक्षिण एसियाली च्याम्पियन भयो तर महामारीका कारण वर्ल्ड च्याम्पियनसिप खेल्न पाएन । गत वर्ष नेपाली टिमले छनोट भएरै इजरायलमा भएको वर्ल्ड च्याम्पियनसिप खेलेको थियो । नेपाली टिमले पीइएसको एसियन कप (बैंकक) र गोल्डकप (बेङ्लोर) पनि खेलिसकेकाले डोटा २ मा राम्रो नतिजाको आशा गर्ने गरेको छ ।

पब्जीमा मनग्गे कमाइ

गत वर्ष (२०२१) पब्जीमा सबैभन्दा बढी पुरस्कार जित्ने नेपाली पब्जी टिम डीआरएस (द रियल सोल्जर) हो । सरकारी निकायमा दर्ता गरिएको पहिाले ई–स्पोर्ट्स टिम डीआरएसले सात वटा प्रतियोगिताबाट १ लाख ४४ हजार डलर पुरस्कार भित्र्याएको थियो । यो रकम अहिलेको सटही दर (१ डलरको रु. १२७.७७) मा १ करोड ८३ लाखभन्दा बढी हुन आउँछ । यो भनेको नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन मच्छिन्द्र क्लबको पछिल्लो वर्षको बजेटभन्दा ३७ लाख मात्रै थोरै हो । गत फागुनमा मच्छिन्द्रले २ करोड २० लाख लगानीमै ए डिभिजन लिगको उपाधि रक्षा गरेको थियो । थप लगानी र प्रायोजन रकम पनि हिसाब गर्ने हो भने डीआरएसको गत वर्षको बजेट मच्छिन्द्रको भन्दा बढी हुन आउँछ ।

डीआरएस नेसाको एसियाड छनोटमा पहिलो भएको थियो । वर्ल्ड च्याम्पियनसिपको छनोटमा भने उसलाई हाई भोल्टेज (एचभी) ले पछाडि पार्‍यो । एसियाड छनोटमा डीआरएस र एचभीको विवादले युटुबमा लाखौं भ्युअर्स पाएको छ । नेपालकै पब्जी टिमहरू डेडा गाइजले ४३ हजार र टीटुके (ट्रेन्ड टु किल) ले पनि ४१ हजार डलर पुरस्कार २०२१ म जितेको थियो । डीआरएस र टीटुकेको यो पुरस्कार अफिसियल प्रतियोगिताबाट आएको हो । अनौपचारिक प्रतियोगितामा पनि कमाइ हुन्छ, त्यो बेग्लै छ ।

राम्रो आर्जनसँगै तीन वर्षयता टिमले खेलाडीलाई वर्षभरिकै लागि अनुबन्ध गर्न थालेका छन् । पब्जी खेलाडीले १ लाख ३० हजार रुपैयाँसम्म मासिक तलब पाइरहेका छन्, जुन ‘ए’ डिभिजन लिगमा सबैभन्दा बढी कमाउने फुटबलर (मासिक १ लाख ४० हजार) नजिक छ । फरक के भने फुटबलरले वर्षमा ६–७ महिना मात्रै तलब पाउँछन् । राष्ट्रिय टिमका फुटबलरले मासिक १८ हजार एन्फाबाट पाउँछन् । ए श्रेणीमा परेका क्रिकेटरले मासिक ५० हजार तलब पाउँछन्, यसमा भत्ता र क्लबको कमाइ थपिन्छ । पब्जी खेलाडीले पुरस्कारमा पाउने हिस्सा बेग्लै छ ।

विदेशी कम्पनीले नेपाली पब्जी खेलाडी अनुबन्ध गर्न थालेका छन् । कुनै बेला क्लास अफ क्लान्स, क्लास रोयल, फिफा खेलेका संगीन भट्टराई पब्जीमा आएपछि यसैमा लागे । अहिले उनी डीआरएसका म्यानेजर हुन् । उनले भने, ‘पब्जीमै सम्भावना देखें । नेपालमा ई–स्पोर्ट्समा करिअर भएको सावित पब्जीले नै गरिदियो । त्यसैले ५ वर्षयता पब्जीमै लागिरहेको छु ।’ दाङका २५ वर्षीय उनी बेलाबेला टेबलटेनिस खेल्थे । तर, उनी ‘फिल्ड गेम’ मा करिअर बनाउन कहिल्यै गएनन् ।

डीआरएसले पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) को साउथ एसिया च्याम्पियनसिपदेखि फिल्ड इभेन्टमा ग्लोबल ई–स्पोर्ट्स टुर (गेट रियाद, साउदी अरेबिया) र पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी, दुबई) सम्मै खेलिसकेको छ । अनलाइन गेममा डीआरएसका खेलाडीले करिब ७० लाख रुपैयाँ खर्च गरेर पाँचतारे होटल म्यारियटमा एक महिना बसेर गत वर्षको पब्जी मोबाइलको वर्ल्डकप मानिने ग्लोबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो, जहाँ उसले विश्वका २४ टिममध्ये १३ औं स्थानमा रहेर ३६ हजार डलर पुरस्कार भित्र्याएको थियो । डीआरएसले गत वर्ष पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (अनलाइन इभेन्ट) मा जितेको ५४ हजार ५ सय डलर युनिसेफलाई दिएको थियो ।

कोरियन कम्पनी क्राफ्टनले पीसी, अमेरिकी माइक्रोसफ्ट स्टुडियोले एक्स बक्स र चाइनिज कम्पनी टेनसेन्टले मोबाइल भर्सनको पब्जी ल्याएको हो । टेनसेन्टको स्वीकृतिमा मात्रै पब्जी मोबाइलका प्रतियोगिता सञ्चालन हुने गर्छ । भारतले चीनसँगको सम्बन्ध चिसिएका बेला सेप्टेम्बर २०२० मा पब्जी मोबाइलमा प्रतिबन्ध लगाएको थियो । त्यसको एक वर्षपछि कोरियन कम्पनी क्राफ्टनले ‘ब्याटलग्राउन्ड मोबाइल इन्डिया’ ल्यायो, जुन पब्जीकै अर्को नाम हो, इन्डियन भर्सन हो । भारतमा खेलिने पब्जीको सर्भर फरक भएकाले पीएमपीएल साउथ एसियामा भारतीय खेलाडी/टिमले प्रतिस्पर्धा गर्दैनन् ।

पब्जी र यसको इन्डियन भर्सनको फिचर्स उही हो, डेटामात्रै फरक हो । इन्डियन भर्सन कोरियन कम्पनीले हेर्छ । नेपालसहितले खेल्ने पब्जी चिनियाँ कम्पनीअन्तर्गतको हो । ब्याटलग्राउन्ड मोबाइल इन्डिया चर्चित टेलिभिजन च्यानल स्टार स्पोर्ट्समा प्रसारण भइरहेको छ । पब्जीलाई चीनमा ‘गेम फर पिस’ नाम दिइएको छ । चाइनिज र इन्डियन भर्सनका पब्जीमा रगत हरियो देखाइन्छ, नेपालसहित अरू देशमा रातो । ती दुई देश र अरूमा चलेको पब्जीमा फरक त्यति नै हो । कारण चीन र भारतमा पब्जीलाई हिंसा कम हुने खेलको रूपमा देखाउन खोजिएको हो ।

पीएमपीएल साउथ एसियाली क्षेत्रमा नेपालसहित मंगोलिया, पाकिस्तान र बंगलादेश पर्दछन् । गत सिजन यसमा छनोट भएका १६ टिममध्ये १० टिम नेपाली थिए । यसपालि पनि उत्तिकै संख्यामा नेपाली टिम छनोट भएका छन् । पीएमपीएल साउथ एसियाका उत्कृष्ट टिम ग्लोबल च्याम्पियनसिपमा छनोट हुने गर्छ । करिब दुई दर्जन पब्जी टिमका खेलाडीले पुरस्कार र तलब गरेर औसतमा मासिक ४०–५० हजार रुपैयाँ कमाउँछन् । यो कमाइ फुटबल र क्रिकेट खेलाडीकै हाराहारीको हो ।

झन्डै दुई वर्षअघि टिम बनाएका डीआरएस गेमिङका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेलले भने, ‘म फुटबल, क्रिकेट फ्यान हुँ तर यसका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हामी धेरै पछाडि छौं, धेरै नै कमजोर छौं । त्यसैले भर्चुअल गेमकै माध्यमबाट भए पनि देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सफलता दिलाउन पब्जीमा लगानी गरिएको हो । राम्रै पनि गरिरहेका छौं । पब्जी मात्रै होइन, ई–स्पोर्ट्सका अरू खेलमा पनि हामीले अझ राम्रो गर्न सक्ने ठाउँ र सम्भावना छ ।’

नेपालमा लोकप्रिय

इन्टरनेसनल ई–स्पोर्ट्स महासंघ (आईईएसएफ) ले ई–स्पोर्ट्सलाई चार भागमा वर्गीकरण गरेको छ, ट्याक्टिकल सुटर्स, मल्टी प्लेयर अनलाइन ब्याटल एरिना (मोबा), स्पोर्ट्स सिम र फाइटिङ । भर्चुअल फुटबल गेम फिफा, बास्केटबलको ‘एनबीए २ के’ जस्ता खेल स्पोर्ट्स सिममा पर्दछन् । पब्जी, सीएस : गो, कल अफ ड्युटीलगायत ट्याक्टिकल सुटर्समा पर्दछ । मोबामा लिग अफ लिजेन्ड्स, डोटा २ लगायतलाई राखिएको छ । यी हुन् नेपालमा लोकप्रिय ६ खेल :

पब्जी
एउटा द्वीपमा दर्जनौं खेलाडीले अरू खेलाडीलाई समाप्त गर्दै बाँच्नका लागि भर्चुअल रूपमा गरिने प्रतिस्पर्धा नै पब्जी हो । यसको मोबाइल भर्सन सन् २०१८ मा सुरु भएको थियो । इन्डिभिजुअल वा टिम (चार जना खेलाडी) का रूपमा खेल्न सकिन्छ । अन्त्यमा बचेको टिम नै पब्जीमा विजयी हुन्छ । एकैपल्ट प्रतियोगितामा ६४ र सामान्य अवस्थामा १ सय खेलाडीले खेल्न मिल्छ । पीसी (पर्सनल कम्प्युटर) मा खेल्ने गरी पब्जी चिनियाँ कम्पनी टेन्टेन्टले एक दशकअघि ल्याएको हो । नेपालमा मोबाइल भर्सनमा सबैभन्दा लोकप्रिय खेल नै पब्जी भएको छ ।

डोटा २

अमेरिकी कम्पनी भाल्भे डेभलपर रहेको डोटा २ रणनीतिक खेल हो । मोबाइल लिजेन्ड्सको पीसी भर्सन हो यो । गेम प्ले र खेल उस्तै किसिमका छन् । यसमा एक टिममा ५ खेलाडी हुन्छ । यो खेल कम्तीमा आधा घण्टा र बढीमा जति पनि लम्बिन सक्छ । यसमा स्ट्रक्चर ‘एन्सियन्ट’ बिल्डिङ हुन्छ, जसले पहिला त्यो बिल्डिङ ढाल्यो त्यसैले जित्छ । आफ्नो बिल्डिङ जोगाउने चुनौती हुन्छ, जसको लागि विभिन्न रणनीति बनाउनुपर्छ ।

गरिना फ्री फायर

भियतनामी कम्पनी १११ डट्स स्टुडियो डेभलपर रहेको फ्री फायर पब्जीजस्तै बच्नका लागि भिड्नुपर्ने खेल हो । एक टिममा चार जना हुन्छ । एकपल्टमा ५० जनासम्मले खेल्न मिल्छ । फरक नक्सामा एउटा द्वीपमा झरेपछि लडाइँ सुरु हुन्छ । यसमा पब्जीमा जस्तै विपक्षी टिमका खेलाडीलाई मारेर आफ्नो टिमलाई बचाउनुपर्छ । अन्त्यमा जुन टिम बच्छ, उसैले खेल जित्छ ।

सीएस : गो

काउन्टर–स्ट्राइक : ग्लोबल अफेन्सिभ (सीएस : गो) पनि टिम हो । एउटा टिममा ५ जना खेलाडी हुन्छ । एक टिमले अर्को टिमसँग प्रतिस्पर्धा गर्छ । टाइम बम राख्ने, विपक्षीले राखेको बम निष्क्रिय गर्ने, अपरहणमा परेकालाई उद्धार गर्ने होड नै सीएस : गो हो । यसमा टेरोरिस्ट र काउन्टर टेरोरिस्टका रूपमा टिमले प्रतिस्पर्धा गर्छन् । अभियान गौतम, आरम्भ अधिकारी, रियल सिंह, औरस कोइराला, स्वर्णिम शाक्य, सौरभ डंगोलको टिम लिजनले नेसाको तेस्रो ई–स्पोर्ट्स च्याम्पियनसिपमा सीएस : गोको उपाधि जितेको थियो ।

मोबाइल लिजेन्ड्स : ब्याङ ब्याङ

मोबाइल लिजेन्ड्स : ब्याङ ब्याङ (एमएलबीबी) मा दुई टिमको प्रतिस्पर्धा हुन्छ । एउटा टिममा ५ खेलाडी हुन्छ । एक टिमले अर्को टिमको टावरमाथि आक्रमण गर्नुपर्छ । जसको मुख्य टावर ढल्छ, त्यो टिम हार्छ । स्मार्टफोनमै सहजै उपलब्ध मोबाइल लिजेन्ड्स नेपालमा पनि खुबै चलेको छ । १७ टिम सहभागी नेसाको तेस्रो ई–स्पोर्ट्स च्याम्पियनसिपमा मोबाइल लिजेन्ड्सको उपाधि आयुष राई, यवेश सुनुवार, कबिन कार्की, सुदेश राई र किशोर गुरुङको टिम एभेन्जर्सले जित्यो ।

फिफा

मैदानमा जसरी फुटबल खेलिन्छ, त्यसैगरी भर्चुअल रूपमा खेलिने फुटबल नै फिफा हो । यो पीसी, मोबाइल, कन्सोल (एक्स बक्स, प्ले स्टेसन, निन्तेन्डो) मा खेल्न सकिन्छ । यसमा फुटबलका एक टिमका रूपमा एक खेलाडीले खेल्ने गर्छ । ई–स्पोर्ट्सले अन्तर्राष्ट्रिय फुटबल महासंघसँग सहकार्य गर्दै भर्चुअल फुटबलको प्रतिस्पर्धाका रूपमा फिफा ल्याएको हो । नेपालमा ई–स्पोर्ट्स समुदायमा फिफा लोकिप्रय छ । एसियाडमा नेपालको छनोटको फाइनलमा समीर गुरुङले जेनिश बस्नेतलाई ८–१ ले हराएको थियो ।

प्रकाशित : श्रावण ३, २०७९ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?