३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नकुहिने फोहोर व्यवस्थापनबारे महानगर किन मौन ?

गोविन्द पोखरेल

काठमाडौँ — काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरेर राख्न भन्दै सूचना निकालेको छ । विभिन्न वडाहरुमा महानगरपालिकाले स्रोतबाटै फोहोरको वर्गीकरण गर्न भन्दै सचेतना फैलाइरहेको छ । यसअघि पनि महानगरपालिकाले फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्न खोजेको थियो, तर सफल भएन ।

नकुहिने फोहोर व्यवस्थापनबारे महानगर किन मौन ?

आइतबार र बुधबार कुहिने फोहोर संकलन र सोमबार र शुक्रबार नकुहिने फोहोर संकलन गर्ने भन्दै महानगरले सोही अनुसार फोहोरलाई स्रोतबाटै वर्गीकरण गर्न आग्रह गरेको हो ।

काठमाडौं उपत्यकाका स्थानीय तहबाट दैनिक १२ सय टन फोहोर निस्कन्छ तीमध्ये काठमाडौं महानगरबाट मात्रै दैनिक ५१६ टन फोहोर निस्कन्छ । महानगरको फोहोरका स्रोतमा घरेलु, औद्योगिक, रासायनिक, स्वास्थ्य, हानिकारक, मलखाद योग्य, कबाडी, प्लास्टिकजन्य, सिसाजन्य फोहोरहरू छन् । तीमध्ये महानगरबाट निस्कने फोहोरमध्ये सबैभन्दा धेरै जैविक फोहोर छ । जैविक फोहोरको हिस्सा ७०.८७ प्रतिशत छ । प्लास्टिक ९.१८ प्रतिशत, कागज ८.५१, रबर ०.५४, कपडा ३.०२, धातु ०.९२, सिसा २.५० प्रतिशत, छाला ०.१२ र काम नलाग्ने/निष्क्रिय फोहोरको मात्रा ४.३३ प्रतिशत छ ।

संकलन गरिएको कुहिने फोहोरलाई घरायसी विधिअनुसार मल बनाउने महानगरपालिकाको तयारी छ । तर नकुहिने फोहोरलाई के गर्ने भन्नेबारे महानगरको तत्काल कुनै योजना छैन । महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईले कान्तिपुरसित भनिन्, ‘कुहिने फोहोरलाई हामी कम्पोस्टिङ गर्ने तयारी गरेका छौं । हामी घरायसी प्रविधि प्रयोग गरेर मल बनाउने छौं ।’

नगर प्रमुख बालेन्द्र शाहका सहयोगी एवं सचिवालय सदस्य सुनिल लम्सालले कुहिने फोहोरलाई मल बनाउने जनाए पनि नकुहिने फोहोरलाई के गर्ने भन्नेबारे निर्णय भइनसकेको बताए ।

शनिबार स्रोतमा नै फोहोर नमिसाउने अभियानमा सहभागी हुँदै मेयर शाहलगायत ।

घरायसी प्रविधि प्रयोग गरेर फोहोरलाई तत्काल व्यवस्थापन गर्ने भनेको खाल्डो खनेर पुर्ने र करिब ९० दिनपछि मल तयार भएपछि त्यसलाई प्रयोग गर्ने हो । अहिले ‘पाइलोटिङ’का लागि महानगरले यो विधि प्रयोग गर्न लागेको हो । यो योजना सफल भएपछि यसलाई केही व्यवस्थित गर्दै एउटा सानो छाप्रोभित्र ढलान गरिएको खाल्डोमा फोहोरलाई विसर्जन गरी मल उत्पादन गर्ने योजना रहेको लम्सालले जानकारी दिए ।

अहिले संकलन भएका कुहिने फोहोरलाई बन्चरेडाँडा ल्यान्डफिल साइटमा छुट्टै स्थानमा राखेर छोप्ने महानगरको तयारी छ । लम्सालले कान्तिपुरसित भने, ‘अहिले हामीले कुहिने फोहोरलाई बन्चरेडाँडामा छुट्टै राख्छौं । त्यहाँ दुर्गन्ध नफैलने औषधि छरेर परम्परागत तवरबाट मल निकाल्ने तयारी छ । यो सफल भएपछि यसलाई व्यवस्थित गर्ने योजना छ ।’

कुहिने फोहोरलाई काठमाडौंमै दीर्घकालीन व्यवस्थापन गर्नका लागि जग्गा खोज्ने काम भइरहेको छ । शनिबार जग्गा छनोटका लागि महानगरको एउटा टोली चन्द्रागिरि र दक्षिणकाली पुगेको थियो । ‘दीर्घकालीन व्यवस्थापन उपत्याभित्रै गर्ने हाम्रो तयारी छ, ’ लम्सालले भने,‘अब केही महिनाका लागि बन्चरेडाँडाबाटै मल उत्पादन गर्ने कोसिस गरेका हौं । ’

महानगरले निजी क्षेत्रलाई पनि वर्गीकरण गरेको फोहोर मात्रै उठाउन भनेको छ । निजी क्षेत्रलाई महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न कानुनीरुपमा नदिए पनि उनीहरुले आफैं व्यवस्थापन गर्दै आएका छन् । महानगरले वडा नम्बर १२, १८, १९, २०, २१, २३, २४ र २५ को मात्रै फोहोर उठाउँछ । अन्य वडाका फोहोर निजी क्षेत्रले र केही वडामा महानगर र निजी क्षेत्र दुवैले उठाउँदै आएका छन् ।

‘हामीले सूचना जारी गरिसकेका छौं । सबैलाई वर्गीकरण गरेको फोहोर मात्रै उठाउन भनेका छौं,’ वातावरण विभागकी प्रमुख राईले भनिन्,‘ एक महिनाभित्र कस्तो फिडब्याक आउँछ हामी रिभ्यू पनि गर्नेछौं । ’

कुहिने फोहोरबाट मल उत्पादन गर्ने तयारी भएपछि नकुहिने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे महानगरसँग योजना छैन । संकलन गरिएका सबै नकुहिने फोहोरलाई अहिले जसरी नै ल्यान्डफिल साइटमै विसर्जन गर्ने कि कुनै नयाँ तरिका अपनाउने भन्नेबारे महानगरसँग ठोस कार्यक्रम छैन ।

निजी क्षेत्रले संकलन गर्ने धेरै नकुहिने फोहोर रिसाइकल हुने गरेको छ । उनीहरु ७० प्रतिशतसम्म नकुहिने फोहोरलाई रिसाइकल गर्ने गरेका छन् । तर, काठमाडौं महानगरले संकलन गर्ने यस्ता फोहोरलाई रिसाइकल गर्ने कि सिधै बन्चरेडाँडामा लैजाने भन्नेबारे निर्णय गरिसकेकाे छैन ।

महानगरले संकलन गर्ने नकुहिने फोहोरलाई पनि वर्गीकरण गर्न सकिन्छ । त्यसलाई रिसाइकल गर्दा बन्चरेडाँडा पठाउने फोहोरको मात्रा कम हुन्छ । कानुनी प्रावधानका कारण नकुहिने फोहोरलाई रिसाइकल गरेर बेच्ने सवालमा अन्योल रहेको लम्सालले बताए । यसका लागि महानगरपालिकाले नीति नै निर्माण गरेर अघि बढ्नुपर्ने देखिएको उनले बताए । ‘यसका लागि हामीले केही मस्यौदा पनि बनाएका छौं । केही निजी कम्पनीले पनि रिसाइकलका लागि चासो देखाएका छन्,’ लम्सालले भने । कुहिने फोहोरबाट प्राप्त मललाई वितरण गर्ने महानगरले जनाएको छ ।

फोहोरको मात्रा कम गर्नका लागि स्रोतमै फोहोरलाई छुट्याइदिने, वैकल्पिक रूपमा प्रयोग गर्ने, सरसफाइमार्फत संकलन गर्ने, बेच्ने, प्रशोधनका लागि फोहोर उपलब्ध गराउन सकिने यसका अवसरहरू रहेको राईले बताइन् ।

सम्बन्धित समाचारहरुः

कुन देशमा कसरी गरिन्छ फोहोर विसर्जन ?

फोहोरमा सधैंको फोहोरी खेल

प्रकाशित : असार ३२, २०७९ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?