राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भारतीय राजदूत श्रीवास्तवबीच भेट- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भारतीय राजदूत श्रीवास्तवबीच भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार उनीहरूबीच शिष्टाचार भेट भएको हो।

भेटको सुरुमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्तिलाई नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए । साथै राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल-भारत सम्बन्धले थप उचाइ प्राप्त गर्ने उनले अपेक्षा गरे ।

अध्यक्ष तिमिल्सनाले नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध रही आएको उल्लेख गर्दै भने, ‘नेपाल-भारत छिमेकी राष्ट्र मात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ। हामीमध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध विशेष छ।’

छिमेकी देश भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो ‘नेबरहुड फर्स्ट पोलिसी’ अन्तर्गत छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्त्व दिने नीतिको अध्यक्ष तिमिल्सिनाले प्रसंशा गरे ।

‘नेपाल र भारतबीचको बहुआयामिक एवं गहन सम्बन्धका विविध आयामलाई सुदृढ तुल्याउन दुई देशको सरकारले प्रथामिकता दिइरहेको छ,’ उनले भने, ‘त्यसको उदाहरणका लागि भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू नेपाललाई प्रथामिकता दिएर पाँचपटक राजनीतिक तथा धार्मिक भ्रमण गरिसक्नुभएको छ। नेपालको तर्फबाट पनि उच्चस्तरीय भ्रमणहरु भइरहेका छन्।’

अध्यक्ष तिमिल्सिनाले नेपाल र भारतको सीमा क्षेत्रमा वर्षेनि बाढी र डुबानका कारणमा जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि सहकार्य र विगतमा दुई देशबीच भएका विभिन्न सम्झौताको कार्यान्वयन आवश्यक रहेको बताए ।

भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले भारतले नेपालमा आर्थिक तथा प्राविधिक लगायत विभिन्न क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

उनले दुई देशका संसद्‍बीच सम्बन्ध विस्तारका लागि नेपालको संघीय संसदमा नेपाल-भारत संसदीय मैत्री समूह रहेको र यसबाट दुई देशका संसद्‍बीच सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा रारे ।

अध्यक्ष तिमिल्सिनाले राजदूत श्रीवास्तवमार्फत् भारतको राज्य सभाका सभापति वेनकाय नायडुको सुस्वास्थ्यको कामना तथा भारतीय जनताको प्रगति र समृद्धिको कामना पनि गरेका थिए । साथै सभापति नायडुलाई सन् २०२२ भित्र नेपाल भ्रमणका लागि राजदूतमार्फत् आमन्त्रणसमेत गरे।

भेटका क्रममा राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको लामो र मित्रवत सम्बन्धलाई आफ्नो कूटनीतिक अनुभव र क्षमताको प्रयोग गरी थप बलियो बनाउन भूमिका खेल्ने उल्लेख गरे ।

साथै उनले दुई देशबीच राजनीतिकसँगै आर्थिक सम्बन्धलाई पनि मजबुत र विस्तार गर्नुपर्ने उल्लेख गरेका थिए । राजदूत श्रीवास्तवले नेपाल र भारत बीचको व्यापारिक सन्तुलनका लागि जलविद्युत, पर्यटन र कृषिमा प्रथामिकताका साथ काम गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित : असार ३१, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्

अध्यक्षले एकलौटी गरेको भन्दै गाउँसभा बहिष्कार

हरिराम उप्रेती

गोरखा — भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले एकलौटी गरेको आरोप लगाउँदै उपाध्यक्षसहित २० जना सदस्यले गाउँसभा बहिष्कार गरेको बताएका छन् ।

गाउँपालिका अध्यक्षले योजना निर्माणमा हस्तक्षेप गरी उपाध्यक्षलाई भूमिकाविहीन बनाएको भन्दै गाउँसभा बहिष्कार गर्ने गाउँसभा सदस्यहरूले बताएका छन् । अध्यक्षले बहुमतको दम्भमा योजना कार्यपालिकामा पेस गरेको गाउँपालिका उपाध्यक्ष अमृता वस्तीले आरोप लगाइन् ।

न्यायिक समिति गठनमा पनि उपाध्यक्षको परामर्शबिना सदस्यहरू प्रस्ताव गरेको उनले बताइन् । कार्यपालिका बैठकमा सर्वसम्मतिको प्रयास नगरी एकलौटी गाउँसभा संचालन गरेपछि बिहीबारको गाउँसभा बहिष्कार गरेको उपाध्यक्ष वस्तीको भनाइ छ । ‘वडाबाट आएका नीतिगत योजनालाई पनि सम्बोधन गरिएको छैन, अनुत्पादक क्षेत्रमा योजना बाँडफाँट गर्ने काम भयो,’ उनले भनिन्,‘कुनै पनि छलफलबिना नियतवस अतिआवश्यक कर्मचारीको करार अवधि थपिएन ।’

बुधबारको कार्यपालिका बैठकमै असहमति जनाए पनि पुन: कार्यपालिका बैठकमा आफ्ना माग सम्बोधन ननगरिकन गाउँसभाको आयोजना गरेपछि बहिष्कार गरेको उपाध्यक्ष वस्तीले बताइन् । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १७ को उपदफा ३ बमोजिम कार्यपालिका बैठकको निर्णय सर्वसम्मति हुनुपर्ने भए पनि प्रयास नगरी आफूखुसी गाउँसभा संचालन गरेको असन्तुष्टहरूले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष बञ्जाराले भने आफूमाथिको आरोप गलत भएको दाबी गरेका छन् । असार १० गते स्थगित भएको गाउँसभा बिहीबार आयोजना भएको थियो । ‘कानुनमा के लेखेको छ, भूमिकाविहीनको विषय स्पष्ट छलफल बहस गरे भइहाल्छ, केही भएजस्तो लाग्दैन,’ गाउँपालिका अध्यक्ष बञ्जराले भने, ‘हामीले नीति बनाएका छौँ, भएको बजेट कार्यन्वयन गर्ने नत्र खोज्ने हो, विवाद गर्न हुँदैनथ्यो ।’

प्रकाशित : असार ३१, २०७९ १४:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×