३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मधेसवादी दलहरुमा फुटको शृंखला

राज्यसत्ताको विभेदमा परेको भन्दै भावनात्मक कुरामा एक हुने मधेसवादी दलहरु सत्ता र अवसरका खेलमा भागबन्डा नमिल्दा पटक पटक विभाजित हुने गरेका छन् ।
‘एउटा पसल थापिहालौँ, थोत्रो माल बेचिहालौँ भनेर एकीकरण गरिएको होइन’ – बाबुराम भट्टराई, समाजवादी पार्टी, संघीय अध्यक्ष 
‘विभेदरहित नेपाल निर्माण गर्न पार्टी एकता गरेका हौँ’ –उपेन्द्र यादव, समाजवादी पार्टी, अध्यक्ष 
ध्रुव सिम्खडा

काठमाडौँ — २०७६ वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले अगुवाई गरेको नयाँ शक्ति पार्टीबीचको एकता कार्यक्रममा बोल्दै नेताद्वयले माथिका भनाइ व्यक्त गरेका थिए । तीन वर्षअघिमात्र यस्तो वाचा–कबुल गरेर मिलेका यादव र भट्टराई अहिले फेरि विभाजित भएका छन् । 

मधेसवादी दलहरुमा फुटको शृंखला

तीन वर्षअघिको पार्टी एकता कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भनेका थिए, ‘पार्टी एकता गरेर हामीले हिमाल, पहाड र तराईलाई जोडेका छौँ । आन्तरिक एकता बलियो बनाएका छौँ ।’ हिमाल, पहाड र तराई जोडियो कि जोडिएन, त्यो थाहा भएन तर पार्टीको आन्तरिक एकताचाहिँ बलियो भएको पाइएन । किनभने यतिबेला जसपाका संघीय अध्यक्ष भट्टराईले काठमाडौँको जडिबुटी र अध्यक्ष यादवले वीरगञ्जमा आफ्नो समुहको भेला गरेर विभाजित भइसकेका छन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता भई समाजवादी पार्टी गठन भएको थियो । नयाँ शक्तिसितको एकतापछि पहिलोपटक उपेन्द्र यादव समुहले आफ्नो पुरानो पहिचान फोरम छाडिदिएको थियो ।

फोरम र नयाँ शक्तिको उदय

२०६३ वैशाख ११ गते जनआन्दोलन सफल भइसकेपछि माघ १ गते अन्तरिम संविधान जारी गरिएको थियो तर उक्त संविधानमा संघीयताको कुरा नआएको भनी मधेसी जनअधिकार फोरमले विरोध मात्रै जनाएन नेता उपेन्द्र यादवले काठमाडौँको माइतीघर मण्डलामा संविधानको प्रति नै जलाए । त्यसपछि उनको चर्चा निकै चुलियो । मधेसमा राजनीति गरेका र गर्न चाहनेहरुको आकर्षणको केन्द्र बन्यो–मधेसी जनअधिकार फोरम ।

माइतीघर मण्डलामा अन्तरिम संविधान जलाएपछि पक्राउ परेका यादवसहित २८ जना नेता/कार्यकर्ताको रिहाइको माग गर्दै मधेसमा आन्दोलन चर्कियो । आन्दोलन मत्थर पार्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एकै हप्ता दुईपटकसम्म सम्बोधन गर्नुपरेको थियो । त्यसयता वामपन्थी पृष्ठभूमिका यादवले सत्ता र सडक दुवैलाई आफ्नो अनुकूल प्रयोग गर्दै आएका छन् ।

उता सांसद पदसहित तत्कालिन एमाओवादी परित्याग गरी २०७३ जेठमा बाबुराम भट्टराईले दशरथ रंगशालामा निकै चमकधमकसाथ भेला आयोजना गरी नयाँ शक्ति पार्टी गठन गरेका थिए । त्यसको कमान्ड भट्टराईले नै सम्हालेका थिए । गठन भएको तीन वर्षपछि भट्टराई नयाँ शक्ति उपेन्द्र यादव नेतृत्वको पार्टीमा मिसाएर । अनि राजपासँग मिलेर जसपा बनेपछि भट्टराई संघीय परिषद् अध्यक्ष बने । एकताको तीन वर्षपछि फेरि यादव र भट्टराई अलग अलग बाटोमा लागेका छन् ।

यादव, भट्टराईले केपी ओली सरकारले दल विभाजनको प्रयास गरेपछि महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा लगायतका नेताहरुहरुको राष्ट्रिय जनता पार्टीबीच एकता गरी जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो । तर जसपा पनि विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको छ । त्यसपछि अहिले जसपामा यादव र भट्टराई पनि अलग भएको छ ।

छिन्नभिन्न सद्भावना परिवार

नेपाल सद्भावना परिषद्ले २०४० सालदेखि नै मधेसीका हकहितका कुरा गर्दै आएको हो । २०४६ मा पञ्चायती व्यवस्थाको खारेजी र बहुदल प्राप्तिपछि २०४७ सालमा सोही परिषद्लाई गजेन्द्रनारायण सिंह, रामजनम तिवारी, रामचन्द्र मिश्रहरु मिलेर नेपाल सद्भावना पार्टी गठन गरे ।

२०४९ सालमा गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीमा पहिलोपटक फुट आयो । त्यसबेला राष्ट्रियसभामा जाने सवालमा विमति राख्दै रामजनम तिवारी सद्भावनाबाट बाहिरिए । अनि उनले नेपाल सद्भावना पार्टी (आर) स्थापना गरे र २०५१ सालमा पुनः माऊ पार्टीमै समाहित हुन आइपुगे । २०५२ सालमा प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति बन्ने आफ्नो चाहनामा पार्टी अवरोधक बनेपछि हृदयेश त्रिपाठीको समुहले सद्भावनाबाट विद्रोह गरी समाजवादी जनता दल गठन गरे । तर दुई वर्ष पनि बित्न नपाउँदै उनको समूह पुनः २०५४ मा मूल पार्टीमै फर्कियो ।

२०५८ सालमा सद्भावनाका संस्थापक नेता गजेन्द्रनारायण सिंहको निधन भएपछि पार्टीको नेतृत्व बद्रीप्रसाद मण्डलको जिम्मामा पुग्यो । पञ्चायतकालीन मन्त्री तथा सद्भावना अध्यक्ष मण्डल २०५९ असोजमा तत्कालिन राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिपरिषद् सदस्य बने । अध्यक्ष मण्डलले प्रतिगमनलाई समर्थन गरेपछि राजविराजमा सम्पन्न पार्टी अधिवेशनमा सद्भावना फेरि विभाजित बन्न पुग्यो । भरतविमल यादव, राजेन्द्र महतोलगायत नेताहरुले संस्थापक नेता गजेन्द्रनारायणकी पत्नी आनन्दीदेवीलाई अध्यक्ष बनाएर नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) गठन गरे र २०६१ माघ १९ को शाही ‘कू’ विरुद्ध संघर्षमा होमिए ।

२०६४ जेठमा फेरि नेसपा र नेसपा (आनन्दीदेवी) बीच एकीकरण भई आनन्दीदेवी अध्यक्ष र बद्री मण्डलको सद्भावना समुहबाट लक्ष्मणलाल कर्ण उपाध्यक्ष बने । त्यसको तीन महिनापछि सम्पन्न एकता महाधिवेशनमा अध्यक्ष आनन्दीदेवी, श्यामसुन्दर गुप्ता, खुशीलाल मण्डल, देवेन्द्र मिश्रलगायतका नेताहरु अनुपस्थित रहे । उक्त महाधिवेशनबाट राजेन्द्र महतो अध्यक्ष भए पनि निर्वाचन आयोगले आनन्दीदेवी समूहलाई नै आधिकारिकता दिएपछि महतोले आफ्नो अध्यक्षतामा अलग्गै सद्भावना पार्टी दर्ता गराए ।

२०६५ साल पुग्दा–नपुग्दै नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) सरिता गिरि नेतृत्वको नेपाल सद्भावना पार्टी र श्यामसुन्दर गुप्ता नेतृत्वको नेपाल सद्भावना पार्टी (युनाइटेड) (जो व्यापारी अपहरणको अभियोगमा जेलमा छन्) तीन टुक्रा हुनपुग्यो । त्यसपछि पनि पार्टी विभानजको श्रृंखला रोकिएन । फुट्दा फुट्दा नेता/कार्यकर्ताभन्दा पनि सद्भावना फुर्को जोडिएका पार्टीहरु बढी हुने अवस्था आयो ।

२०६६ मा नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी), २०६८ मा संघीय सद्भावना पार्टी, सोही साल राष्ट्रिय सद्भावना पार्टी र २०७० सालमा तराई–मधेस सद्भावना पार्टी गठन हुन पुग्यो । २०७१ सालमा संघीय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भई नेपाल स्दभावना पार्टी बन्न पुग्यो ।

फोरममा फुटको श्रृङ्खला

उपेन्द्र यादवले २०५४ सालमा गैरसरकारी संस्थाको रुपमा मधेसी जनअधिकार फोरम गठन गरेका थिए । त्यसैबाट उनले मधेसमा आफ्ना गतिविधि बढाउँदै थिए । माओवादी निकट भएर काम गर्दा भारतमा पक्राउ पनि परे र रिहा भए । २०६३ सालको मधेस विद्रोहपछि भने फोरमले निकै चर्चा बटुल्यो । त्यसैको जगमा २०६४ सालमा आफै अध्यक्ष बनेर यादवले मधेसी जनअधिकार फोरम पार्टी विधिवत् रुपमा निर्वाचन आयोगमा दर्ता गरे । पहिलो संविधानसभामा ५२ जना सभासद् थिए । पहिलो संविधानसभा निर्वाचन सकिएलगत्तै भाग्यनाथ गुप्ता र किशोर विश्वासहरुले यादवसित असहमती जनाउँदै मधेसी जनअधिकार फोरम (मधेस) गठन गरे । गठन भएको वर्षदिन पनि नबित्दै मधेस फुर्को झुन्डिएको अर्को फोरम पनि बन्यो । यो नै फोरममा पहिलो आधिकारिक फुट थियो । त्यसको एकवर्षपछि २०६५ सालमा अमर यादवले फोरमबाट विद्रोह गरेर मधेस तराई फोरम गठन गरे ।

मधेस विद्रोहपछि फोरमको लोकप्रियता बढ्यो । नेपाली कांग्रेसका जेपी गुप्ता र विजयकुमार गच्छदारहरु पनि पार्टी छाडेर फोरम प्रवेश गरे । यद्यपि, गुप्ता भने त्यसअघि पनि फोरम प्रवेश गरेर बाहिरिएका थिए ।

२०६६ सालमा पुष्पकमल दाहाल नेतृत्वको पहिलो सरकार ढलेपछि माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भएको थियो । उक्त सरकारमा सहभागी हुने/नहुने विषयमा विवाद चर्किंदै जाँदा फोरमले फुट व्यहोर्नु पर्‍यो । त्यसबेला विजयकुमार गच्छदारसहित २८ जनाले विद्रोह गरेर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । त्यसबेला यादव भने प्रचण्डसित बढी नजिक थिए, त्यसैले प्रचण्डको पहिलो मन्त्रिपरिषद्मा फोरमबाट उनी सामेल भएका थिए ।

माधवकुमार नेपालको सरकार ढलेपछि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार बनेको थियो । त्यसबखत पनि विवादको मुख्य विषय सरकारमा सहभागी हुने कि नहुने भन्ने नै थियो । २०६८ जेठमा फोरम फेरि फुट्यो । जेपी गुप्ताले १३ जना सभासद् लिएर मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) गठन गरे तर त्यसपछि बाबुराम भट्टराई नेतृत्वको सरकारमा भने गुप्ता आफै सहभागी भए र मन्त्री रहेकै बेला भ्रष्टाचार मुद्दामा जेल परे ।

२०७२ जेठमा उपेन्द्र यादव नेतृत्वको फोरममा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी मिसिएपछि मधेसी जनअधिकार फोरमको नाम संघीय समाजवादी फोरम बनेको थियो ।

२०७६ वैशाखमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भई समाजवादी पार्टी बन्यो । त्यसको एकवर्षपछि अर्थात् २०७७ वैशाखमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो तर गठन भएको एकवर्ष पनि बित्न नपाउँदै खटपट सुरु भयो र २०७८ असारमा महन्थ ठाकुरहरुले जसपाबाट अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे । २०७९ असार अन्तसम्म आइपुग्दा जसपामा बाँकी रहेका दुई नेता उपेन्द्र यादव र बाबुराम भट्टराई पनि आ–आफ्नो बाटो लागेका छन् ।

तराई–मधेस लोकतान्त्रिक पार्टीमा विभाजन

महन्थ ठाकुर नेतृत्वमा ०६४ मंसिर तराई- मधेस लोकतान्त्रिक पार्टी गठन भएको थियो । त्यही पार्टीमा पनि पटक पटक विभाजन आयो । विभिन्न फुट जुट हुँदै यो पार्टीको हाँगो अहिले लोसपाको रुपमा छ । २०७४ को चुनाव अघि मधेसकेन्द्रित ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएको थियो । त्यही पार्टी उपेन्द्र यादवको पार्टीमा मिलेर जसपा बन्यो । जसपाबाट महन्थ ठाकुर नेतृत्वको पार्टी बाहिरिएपछि वृशेषचन्द्र लालहरु अलग्गिएर तमलोपा पुनर्गठन गर्ने भन्दै संगठित अभियान चलाईरहेका छन् । लोसपा नेताहरु महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो र अनिल झाले पार्टीमा सिन्डिकेट चलाएपछि तमलोपा व्यूँताउनु परेको लाल समूहको जिकिर थियो । मधेसी वृत्तमा उपेन्द्र यादवको जसपालाई पुष्पकमल दाहाल र ठाकुर, सिंह, महतो र झाको लोसपालाई ओलीको पिछलग्गु भएको आरोप लाग्ने गरेको छ ।

फ्ल्यासब्याक: २०१२ सालताका वेदानन्द झाको तराई कांग्रेस तराईमा चर्चित थियो किनभने उनले नेपाली कांग्रेससँग विद्रोह गरेर तराईको हकहितका कुरा अघि सारेका थिए । पछि उनी महेन्द्रको सत्ता पलटको समर्थन गर्दै विभिन्न पदमा मनोनीत भएपछि तराई भावभूमि भएको नवगठित त्यो दल इतिहासको गर्तमा विलुप्त हुन पुगेको थियो । २०१५ को महानिर्वाचनसम्म अस्तित्वमा रहेको तराई कांग्रेस २०१७ सालको ‘कू’ पछि अध्यक्ष झा राजासित लहसिएपछि त्यसको पनि अस्तित्व सकियो । यद्यपि, तराई कांग्रेस मधेसीहरुकै हकहित निम्ति भनेर गठन भएको दल थियो ।

किन फुट्छन् मधेसी दलहरु ?

‘संघीयता, एक मधेस एक प्रदेश, स्वायत्त मधेस प्रदेश’ जस्ता मधेसी इमोसन/भावनालाई क्यास गरेर गठन भएका नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम र तराई–मधेस लोकतान्त्रिक पार्टीको फुट र जुटको लामो श्रृंखला रहेको छ । प्रश्न उठ्छ–किन जुट्छन् र फुट्छन् त मधेसवादी दलहरु ? पूर्वराजदूत तथा प्राध्यापक विजयकान्त कर्ण भन्छन्, ‘पहिचानको राजनीतिमा इमोसन हुन्छ । त्यसले उनीहरुलाई जुटाइदिन्छ किनभने यो जेनेरिक/अर्ग्यानिक विषय हो र यसमा एकताको कुरा प्रमुख हुन्छ । तर सत्ता प्राप्तिको मनोमालिन्य र झैझगडाले भने यिनीहरुलाई फुटाइदिन्छ र मधेसवादी दलहरु फुट्छन् ।’

२०६६ सालयता माधवकुमार नेपाल नेतृत्वको सरकारमा जाने/नजाने सवालमा फोरम फुट्यो । झलनाथ नेतृत्वको सरकारका बेला पनि त्यही नियति दोहोरियो । को सरकारमा जाने र को नजाने भन्ने विवादका कारण फोरम फेरि विभाजित हुनपुग्यो । बाबुराम भट्टराई नेतृत्मा सरकार गठन हुँदा पनि फोरममा फुटको त्यही नियति दोहोरियो । प्रचण्ड, ओली जो सरकारमा आए पनि मधेसी नेताहरु सत्तामा सहभागी हुने र नहुने सवालमा विभाजित हुँदै आए ।

ठूला पार्टीहरु साना पार्टी फोर्ने र तिनको आन्तरिक पार्टी गतिविधिमा खेल्ने अनि खेलाउने खेलमा माहिर छन् । उनीहरु हरदम साना पार्टीलाई लोभ्याएर फोर्ने कसरतमा लागिरहेका हुन्छन् । पछिल्लो समय केपी ओली प्रधानमन्त्री भएका बेला अध्यादेश ल्याएर भए पनि उनी जसपा र लोसपालाई फुटाउन चाहन्थे तर ओलीको पार्टी फुटाइदिने त्यो कर्म विरुद्ध उपेन्द्र र महन्थ मिले । उनीहरुको पार्टी फुटबाट बालबाल बचेको थियो । तर पछि लगत्तै पार्टीमा विग्रह आइहाल्यो ।

पूर्वराजदूत तथा प्राध्यापक कर्ण भन्छन्, ‘मधेसी नेताहरुको के सोच देखिन्छ भने उनीहरु सजिलै पार्टी निर्माण गर्न खोज्छन् तर त्यस्तो नभएपछि एकले अर्कोलाई आरोप लगाएर फुट्ने गर्छन् ।’

मधेसमा मात्र होइन समग्र मुलुकमै मानिसहरु दलमा किन लाग्छन् भनी प्रश्न गर्नुपर्ने बेला भइसकेको छ । साझा विचार र भावना मिल्नेहरु आबद्ध भएर नै पार्टीहरु बन्ने हुन् । त्यसमा एकापसमा स्विकार्यता हुने गर्छ । दलमा धेरै नेता/कार्यकता र शुभचिन्तकहरु हुन्छन् । तिनलाई चित्त बुझाउन आन्तरिक लोकतन्त्र आवश्यक हुन्छ । हाम्रा दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएका कारणले नै तिनीहरु फुट्ने गर्छन् । एक मधेस मामिलाका जानकारको बुझाइमा ‘मधेसका नेताहरुले कार्यकर्तालाई आफ्नो दलमा इन्गेज गराइराख्न नसक्दा फुटको सामना गरिरहनु परेको छ । दलमा नीति, पद्धतिभन्दा पनि व्यक्ति हावी देखिन्छन् । नेताप्रधान हुनु पनि मधेसी दलहरु विभाजन हुनुको अर्को कारण ठान्छन् उनी ।

कपिलवस्तुमा रहेर मानवअधिकारको क्षेत्रमा काम गरिरहेका सामाजिक अभियन्ता रवीन्द्रनाथ ठाकुर मधेसवादी दलहरु फुट्नुको कारण तिनका नेताहरुमा अरुको नेतृत्व स्विकार्ने क्षमताको अभाव र सत्ता प्राप्तिको लालसालाई ठान्छन् । ठाकुर भन्छन्, ‘मधेसी नेताहरु चाहे उपेन्द्र यादव हुन् या राजेन्द्र महतो वा अन्य जो कोहीमा पनि अरुको क्षमतालाई स्विकार्ने र नेता मान्न सक्ने क्षमता देखिँदैन । सँधै नेतृत्वमा रहेर सत्ताको भागबन्डा गर्ने तिनको प्रवृत्तिले गर्दा मधेसी दलहरुमा फुट पैदा हुने गरेको पाइन्छ ।’


प्रकाशित : असार ३१, २०७९ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?