३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

लेखा समितिको नेतृत्वमा सरकारको छाया देखियो : एमाले 

काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभाको लेखा समितिको सभापति आफूले पाउनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नका लागि सभापति भरतकुमार शाहलाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमालेका सांसदहरूले विरोध गरेका थिए । 

लेखा समितिको नेतृत्वमा सरकारको छाया देखियो : एमाले 

एमालेका सांसद तथा लेखा समिति सदस्य राजेन्द्र गौतमले संसदीय अभ्यासविपरीत सरकारको नेतृत्व गरिरहेको कांग्रेसका सांसदले लेखा समितिको सभापति पद नछोडेको बताए । 'अहिलेसम्म हाम्रो अभ्यास, परम्परा र मूल्य र मान्यताको हिसाबले पनि सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दलले गर्दै आएको अभ्यास छ । गठबन्धन सरकार बनेको १ वर्ष बित्दा पनि लेखा समितिको नेतृत्वमा सरकारको छाया देखिएका छन्,' उनले भने ।

मुलुकमा भ्रष्टाचार, अनियमितता हुँदा पनि समितिमा छलफल हुन नसकेको भन्दै गौतमले सभापतिले सरकारको इशारामा काम गरिरहेको बताए । एमालेले लेखा समितिको सभापतिको विषयलाई लिएर सभामुख र राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराएको विषय पनि उनले उल्लेख गरेका थिए । खर्च पनि सरकारले नै गर्ने र परीक्षण पनि उसले नै गर्ने कस्तो प्रणाली हो भनेर उनले प्रश्न गरेका थिए ।

सांसद गौतमले लेखा समितिको नेतृत्वबारे सभामुखको राय के हो भनेर पनि प्रश्न गरेका थिए । 'यसमा सभामुखको के राय हो ? सदनले जानकारी पाउनुपर्‍यो । यसबारेमा रुलिङ गरेर यथोचित निकास दिनुपर्छ,' उनले भने ।

एमालेको धारणा सुनेपछि सभामुख सापकोटाले लेखा समितिको सभापतिको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।

प्रकाशित : असार ३०, २०७९ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?