कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राप्रपाले पार्टीविरोधी गतिविधिमा लागेको भन्दै ४ नेतालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ — राप्रपाले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै चार नेतालाई अनुशासन कारबाही प्रक्रिया सुरु गरेको छ । राप्रपाका केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र राजाराम श्रेष्ठसँग २४ घण्टै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुमाथि थप कारबाहीका लागि अनुशासन कमिटीमा सिफारिस गर्ने निर्णय राप्रपाले गरेको हो ।

राप्रपाले पार्टीविरोधी गतिविधिमा लागेको भन्दै ४ नेतालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

'राप्रपाको बृहत्तर हित र एकतामा आँच आउने गरी केही व्यक्तिले पार्टीको नाम दुरुपयोग गर्दै भेला, छलफल र बैठक गरेको विषयलाई पार्टीले गम्भीररुपमा लिएको छ,' राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पार्टीको हितविपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभावी समाचार प्रकाशन, प्रसारण गर्ने, गराउने कार्यमा संलग्न भएकालाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । 'स्पष्टीकरण सोध्ने निर्णय गरेको चार जनामध्ये तिमल्सिनाले निर्वाचन आयोगमा बुझाएको विधान महाधिवेशनबाट पारित नभएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेका छन् ।

त्यसैगरी राप्रपाको नेतृत्व पंक्तिमा आन्तरिक विवाद भएको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा श्रृङ्खलाबद्ध तरिकाले प्रचारप्रसार भएकोमा त्यसमा संलग्न हुने कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिइएको छ ।

'पार्टीको नेतृत्व पंक्ति पूर्णरुपले एकताबद्ध रहेको प्रस्ट पार्दछौं । पार्टीको हितविपरीत एवं नेतृत्व पंक्तिको मानमर्दन हुने गरी कुनै किसिमको गतिविधि र सामाजिक सञ्जालमा जथाभावी प्रचार नगर्न/नगराउन पार्टीका सबै तहलाई बैठकले आग्रह गरेको छ । यस्तो गतिविधिमा संलग्न भएको पाइएमा कडा कारबाही गर्ने निर्णय गरिएको छ,' निर्णयमा भनिएको छ ।

त्यसैगरी असार २६ गते राष्ट्रिय प्रजातन्त्रिक महिला संगठनमा भएको विवादलाई लिएर पार्टी महामन्त्री कुन्ती शाहीमाथि सामाजिक सञ्जालमा अभद्र टिप्पणी भएकोप्रति ध्यानाकर्षण राप्रपाले जनाएको छ ।

प्रकाशित : असार २९, २०७९ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?