टिकट वितरण गर्नेले आत्मालोचना गरौं : विश्वकर्मा


काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई टिकट वितरण गर्नेहरूले आत्मालोचना गर्नुपर्ने बताएका छन् । मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता विश्वकर्माले टिकट वितरण पारदर्शी नहुँदा धेरै ठाउँमा विद्रोह भएको बताए ।

‘स्थानीय चुनावमा गठबन्धन गर्नु आवश्यक थियो, त्यो भयो । तर त्यही गठबन्धन गर्ने निर्णय समयमा भएको भए राम्रो उपयोग हुन सक्थ्यो, समयमा गठबन्धन नहुँदा त्यसको राम्रो उपयोग हुन सकेन,’ उनले भने, ‘गठबन्धनकै कारण राम्रो परिणाम आएको पनि सत्य हो, तर चुनावी गठबन्धनकै कारण पार्टीभित्र खलबल मच्चिएको छ । आगामी चुनावका लागि त्यस्ता कुरालाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ ।’
नेता विश्वकर्माले टिकट वितरणको अधिकार तल्ला तहलाई दिँदा टिकट वितरणमा अनियमितता भएको बताए । ‘टिकट वितरणको अधिकार विधानले तल्ला तहलाई दियो, तर त्यो पारदर्शी हुन सकेन,’ उनले भने, ‘त्यहीकारण विद्रोही धेरै भए, अहिले विद्रोहीलाई कारबाही गर्ने कुरा सुनिएको छ, तर विद्रोहीलाई कारबाही गर्दा पार्टी खाली हुने अवस्था नहोस्, बरू टिकट वितरण गर्नेले आत्मालोचना गरौं ।’
उनले पार्टीमा भ्रातृ संस्था र विभागहरू गठन गर्न ढिलो हुँदा संगठन कमजोर बन्दै गएकाले यथाशीघ्र तिनलाई पूर्णता दिनुपर्ने बताए ।