१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पराजित भएका ठाउँमा समीक्षा गर्नुपर्छ : कांग्रेस नेता महर

काठमाडौँ — नेपाली कांग्रेसका नेता नैनसिंह महरले स्थानीय निर्वाचनको सन्दर्भमा पार्टी पराजित भएको ठाउँमा पार्टीले समीक्षा गर्नुपर्ने र जितेको ठाउँमा पनि अन्तर्घात भएकाले त्यसको पनि समीक्षा हुनुपर्ने माग राखेका छन् ।

पराजित भएका ठाउँमा समीक्षा गर्नुपर्छ : कांग्रेस नेता महर

कांग्रेस केन्द्रीय समितिको बैठकमा 'बागी उम्मेदवार, तिनका समर्थक, प्रस्तावकसँगै गठबन्धनमा असहयोग गर्नेलाई अनुशासनको कारबाही गर्ने कुरा त छँदैछ । तर, जनताले प्रश्न उठाउने खालका अयोग्य उम्मेदवारलाई टिकट दिएर चुनाव हारियो भने त्यस्तो टिकट दिने व्यक्तिलाई पनि अनुशासनको दायरामा ल्याउनुपर्छ,' महरको सुझाव छ ।

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले ७० प्रतिशत युवालाई उम्मेदवारका रुपमा अघि सार्नु पार्टीका लागि हितकर हुने केन्द्रीय सदस्य नैनसिंह महरले सुझाव दिएका छन् । ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको मुख्य कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा महरले पार्टीले युवा पंक्तिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका हुन् ।

'कांग्रेसमा चार पुस्ताको समन्वय, समझदारी र अपनत्वले मात्रै आगामी दिनमा संघ तथा प्रदेशको निर्वाचनमा हाम्रा लागि सहज हुन्छ। एउटा ६० माथिको पुस्ता छ, अर्को ६० देखि ४५ सम्मको पुस्ता छ। तेस्रो भनेको ३० देखि ४५ र अर्को ३० मुनिको छ,' महरले भने, 'नेपालको संविधानले १८ वर्षभन्दा माथिकालाई वयस्क मानेर मतदानको अधिकार दिएको छ। यस्तो अवस्थामा यी सबै उमेरका मानिसहरूलाई मिलाएर लगे मात्रै निर्वाचन जित्न सकिन्छ। र पार्टीले गति लिन सक्छ।' संविधानले नै २५ वर्षमाथिका व्यक्तिलाई उम्मेदवार बन्न सक्ने व्यवस्था गरेको भन्दै महरले अबको स्थानीय तहमा २५ देखि ६० वर्ष उमेरसमूहका ७० प्रतिशत व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताए ।

महरले पार्टीका क्रियाशील रहेको ठूलो समूह युवा नै भएकाले उनीहरूको मनोभावना बुझ्नुपर्ने बताए । यसरी हेर्दा ३२ वर्षमुनिका मतदाताले मतपरिणामलाई धेरै तलमाथि पार्नसक्ने देखिएकाले युवामाझ लोकप्रिय बन्नेगरी पार्टी अघि बन्नुपर्ने महरको सुझाव छ ।

'अर्को कुरा पुरानो पुस्ता पनि योग्य छ। तर, केही पाएको छैन । त्यो पुस्तालाई पनि सम्झाउनु पर्ने चुनौती छ । नत्र उनीहरूको मन भाँडिन सक्ने जोखिम छ । त्यसैले उनीहरूलाई ३० प्रतिशतभित्र समेटेर उचित स्थान दिनुपर्छ । यसरी रणनीतिक रुपमा अघि बढ्यो भने पार्टीमा द्वन्द्व पनि हुँदैन । सबै अट्ने बाटो पनि हुन्छ,' महरले भने । अहिले स्वतन्त्रहरूको उदय भइहेको बेला युवाहरूलाई अवसर दिँदा सबैसँग लड्न सहज हुने महरको भनाइ छ ।

यसका अलावा पार्टी जनजीविकाका सवालमा गम्भीर हुनुपर्ने सुझाव महरको छ । 'मूल्य वृद्धिका कुरामा, पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कुरामा, सुशासनका कुरामा, विकासका कुरामा, शिक्षा र स्वास्थ्यका कुरामा पार्टी गम्भीर हुनुपर्छ । केपी ओलीलाई लगाइरहेका आरोप हामीलाई दोहोर्‍याउने अधिकार छैन । त्यसैले यसमा गम्भीर बनौं,' महरले भने ।

पार्टीले जनताका मुद्दा उठाएर उनीहरूकै माझमा रहेर काम गर्न सकेमात्रै प्रदेश र केन्द्रको निर्वाचन सहजै जित्नसकिने उनले बताए । स्थानीय तहमा जितेका जनप्रतिनिधिलाई देश र पार्टीका लागि बढी जवाफदेही बनाउनुपर्ने महरले बताए । उनीहरू प्रत्येक्ष जनतासँग जोडिएका हुने भएकाले उनीहरूलाई बढी सक्रिय बनाउनु आवश्यक रहेको महरले बताए ।

'उनीहरू पार्टी र देशका प्रति जवाफदेही भएनन् भने राम्रो नतिजा ल्याउन सकिँदैन । अनुशासन हिनता बढे समस्या हुन्छ । गल्ती गर्नेहरूलाई पार्टीबाट निकाल्ने वा उसकै पदै खारेज गरिदिए पनि हुन्छ,' महरले भने ।

महरले गठबन्धनका विषयमा पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन् । उनले गठबन्धन गरेर जाने भए सबै राजनीतिक दलको सामूहिक नारा के हुन्छ भन्दै प्रश्न गरेका छन् । 'अहिले कम्युनिस्टहरूलाई एकतावद्ध बनाउन बाह्य शक्तिहरू पनि सक्रिय छन् । केही मानिसहरूको आवतजावत पनि बढिरहेको छ । यस्तो अवस्थामा गठबन्धन हुन पनि सक्छ, नहुन पनि सक्छ,' महरले भने, 'यस्तो अवस्थामा पार्टी एकल रुपमा निर्वाचन लड्न पनि पूर्ण रुपमा तयार रहनुपर्छ । यस्तो बेला हामीले गठबन्धन भए कसरी जाने नभएर कसरी जाने भन्ने विषयमा छलफल गर्नुपर्छ ।'

महरले अरुको वैसाखीमा टेकेर पार लाग्न सकिन्छ भन्ने कुरा सबैले त्याग्नुपर्ने महरले बताए । उनले पदाधिकारी र केन्द्रीय समितिको नाममा सिंगो ओज घटाउने काम नगर्न पनि पार्टी पंक्तिलाई सुझाव दिएका छन् । उनले केन्द्रीय समितका पदाधिकारी भूमिकाविहीन जस्तै भएको गुनासो गर्दै नेतृत्वले कुनै न कुनै भूमिका दिएर सक्रिय गराउनुपर्ने बताए ।

'केन्द्रीय कार्यसमितिको बैठक खाली केन्द्रीय सम्पादन समितिको निर्णय अनुमोदन गर्नका लागि मात्रै हो जस्तो पनि पार्नु हुँदैन ।

उनले पार्टीका भातृ र सुवेच्छुक संस्थाको पूर्णतामा समेत पार्टी नेतृत्व गम्भीर हुननसकेको आरोप लगाएका छन् । 'पार्टी, भ्रातृ संस्था र सुभेच्छुक संस्था तीन वटै गठन गर्न सक्यो भने ३५ हजारभन्दा बढीले जिम्मेवारी पाउँछन् । चुनाव आइरहेको समयमा ३५ हजारलाई किन सक्रिय नपार्ने ? उनीहरूको हात बाध्ने काम किन गर्ने ?,' महरले प्रश्न गरे ।

उनले भातृ र सुभेच्छुक संस्थालाई यस महिनाभित्रै पूर्णता दिनुपर्ने धारणा राखेका छन् । विधान संसोधन गरेर भए पनि अन्तरिक विधानका माध्यमले सबै भातृ र सुवेच्छुक संस्थालाई ठूलो कारको कमिटी बनाउनु पर्ने महरले बताए । प्रदेश कमिटी पनि बनाउन आवश्यक रहेको भन्दै उनले त्यसलाई पदाधिकारीसहितको बनाउनुपर्ने धारणा राखे ।

नेविसंघ, महिला संघ र तरुण दलको आकार ठूलो बनाउनुपर्ने महरको सुझाव छ । उनले नेविसंघको त विधान अनुसार कुनै समिति नै नभएको गुनासो गरे ।

प्रकाशित : असार २७, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?