प्रहरीका लागि हतियार किन्ने निर्णयबाट फिर्ता हुन एमालेको माग- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीका लागि हतियार किन्ने निर्णयबाट फिर्ता हुन एमालेको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेपाल प्रहरीका लागि हतियार किन्ने निर्णय सरकारले फिर्ता लिनुपर्ने माग गरेको छ । कमिसनका लागि सत्तारुढ गठबन्धनमा रहेका नेताहरूले प्रहरीका लागि हतियार किन्ने योजना ल्याएको एमालेको आशंका छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद नवराज सिलवालले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा करोडौंको हतियार किन्ने योजना के कारणले अगाडि ल्याएको हो भनेर प्रश्न गरेका थिए । 'गठबन्धनमा बसेका साथीहरूलाई पैसा चाहिएको छ । कमिसन चाहिएको छ । यो कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस गर्ने योजना हो । राष्ट्र बैंकले दर्जनौं वस्तुमा आयात रोक लगाएको अवस्थामा फेरि अर्थतन्त्रलाई मारमा पार्ने गरिकन करौडौंको हतियार किन्ने योजना आउनु राष्ट्रघात हो । हतियारको कमिसन ३०० प्रतिशतसम्म कोटा बढाएर खरिद गर्नु धोका हो,' उनले भने, 'गठबन्धन सरकार हतियार किन्ने निर्णयबाट फिर्ता होस् ।'

हतियार खरिद गर्ने योजनाबारे नेपाल प्रहरीका उच्च अधिकारीलाई थाहा नदिइएको सिलवालको दाबी छ । उनले प्रहरीलाई हतियार नभएर प्रविधि र तालिम चाहिएको बताए । 'नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन । प्रहरी अधिकारीलाई सोध्दा उनीहरूलाई कानोकान कसैलाई खबर छैन । प्रहरीलाई ब्यारेक, प्रविधि चाहिएको छ । डिजिटल अपराध बढेर गएका छन् । उसलाई प्रविधियुक्त अनुसन्धानमा योग्य बनाउनुपर्‍यो,' उनले भने, 'तर जुन ढंगले यहाँ ११ सय ५० थान सर्टगन, १ हजार थान पेस्तोल र २५ सय थान सेल लगायतका हतियार र सेलहरू खरिद गर्ने भन्ने ढंगले समाचार बाहिर आएका छन् यो धोका हो ।'

नेपाल प्रहरीका लागि हतियार खरिद गर्नु राष्ट्रघात भएको उनको भनाइ थियो । समुदायमा रहेर काम गर्ने भएकाले सेनालाई जस्तो हतियार प्रहरीलाई आवश्यक नभएको उनको भनाइ थियो ।

हतियार खरिदका लागि रकमान्तर गर्ने अर्थमन्त्रालयको निर्णय पनि शंकास्पद रहेको सिलवालको भनाइ छ । उनले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गराउने तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिँदै गर्दा हतियार किन्नका लागि रकमान्तर गर्नु गलत भएको बताए । 'संसद्ले नै छानबिन गर्ने प्रक्रिया अगाडि बढाएको अवस्थामा अर्तमन्त्रीले राजीनामा दिएर जाँदैगर्दा ८४ करोड रकमान्तर गरेर नेपाल प्रहरीलाई हतियार खरिद गर्नु राष्ट्रघात हो,' उनले भने ।

विगतमा प्रहरीलाई हतियार लगायतका सामग्री खरिदमा फसाइएको उनको भनाइ थियो । सुडान घोटालामा प्रहरी अधिकारीलाई जेल हालिएको कुरा स्मरण गर्दै अहिले पनि त्यस्तै गर्न खोजिएको हो कि भन्ने उनको प्रश्न थियो । अहिले ल्याएको हतियार खरिदको योजनाले पनि अहिलेका उच्च प्रहरी अधिकारीलाई जेल जानुपर्ने अवस्था आउनेतर्फ उनले सचेत गराए ।

प्रकाशित : असार २७, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

क्यारिकेचर प्रदर्शनीमा मेयर बालेन्द्र र हर्क पनि

सुशीला तामा‌ङ

काठमाडौँ — नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको मुहार झल्कने ‘नेपाली क्यारिकेचर प्रदर्शनी २०७९’ सुरु भएको छ । आइतबार प्रतिष्ठान र नेपाल कार्टुनिस्ट क्लबले संयुक्त रुपमा गरिएको प्रदर्शनीमा ४३ जना कलाकारहरुद्वारा तयार गरिएको साढे तीन दर्जनभन्दा बढी व्यक्तित्व झल्कने क्यारिकेचरहरु प्रर्दशन गरिएका छन् ।

प्रदर्शनीमा नेपालमा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरुको क्यारिकेचर अवलोकन गर्न सकिन्छ । शताब्दी पुरुष सत्यमोहन जोशीदेखि अहिले स्वतन्त्रतर्फबाट काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयर बालेन्द्र साह तथा हर्क साम्पाङसम्मको क्यारिकेचर प्रदर्शनीमा छन् ।


प्रदर्शनीमा लेखक एवं पत्रकार किशोर नेपाल, ऋषि धमला, कलाकारहरु नीर शाह, सुनिल थापा, नारायण गोपाल, हरिवंश आचार्य, भुवन केसी, केदार घिमिरे, विपिन कार्की, रंगकर्मी सुनिल पोखरेल, गायक अमृत गुरुङ, चित्रकारहरु किरण मानन्धर, केके कर्माचार्य, सुषमा राजभण्डारी लगायतका हुबहु मुहारलाई अतिरञ्जना गरिएका छन् ।

कुनै पनि व्यक्तिको मुहारलाई व्यंग्यात्मक रुपमा चित्रण गर्नुलाई क्यारिकेचरको रुपमा लिइन्छ । यस विधामा कुनै व्यक्तिको मुहारको भाव आउने गरी कुनै रंग, रेखा वा डिजिटर माध्यममा अतिरञ्जना गरिन्छ । झट्ट हेर्दा कार्टुन चित्र जस्तै देखिए पनि यसलाई कार्टुन विधामा समेट्न नसकिने कार्टुनिस्ट केशवराज खनालको धारणा छ । ‘कार्टुनले कुनै पनि विषय वा घटनाको बारेमा कुनै सन्देश बोकेको हुन्छ’, उनले भने,‘क्यारिकेचरमा हास्यव्यंग्य झल्कने गरी व्यक्तिको मुहार चित्र बनाइन्छ ।’ यसमा हास्यरससँगै व्यक्तिको व्यक्तित्व समेत हुबहु झल्काउने पर्ने भएकोले मुहार चित्र भन्दा अझ कठिन रहेको उनको अनुभव छ ।


कार्टुनमा कुनै घटनालाई तिखो व्यंग्य प्रहार हुने गरी सम्बन्धित क्षेत्रलाई समेत सचेत बनाउन चित्र बनाइन्छ भने क्यारिकेचरमा ख्यातिप्राप्त व्यक्तित्वहरुलाई चिनाउन सम्बन्धित व्यक्तिको मुहार चित्रमा अतिरञ्जना गरिन्छ । नेपालमा तुलनात्मक रुपमा कला क्षेत्रमा महिला सहभागिता निकै देखिएपनि कार्टुन तथा क्यारिकेचर विधामा न्यून संख्यामा देखिएको कार्टनिस्ट अविन श्रेष्ठले बताए । प्रदर्शनीमा भने नयाँ पुस्ताका महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ । प्रतिष्ठान र क्लबले गत पुस महिनामा तीन दिने क्यारिकेचर विधामा महिला कलाकारकालाई अभिप्रेरित गर्ने लक्ष्य राखेर क्यारिकेचर कार्यशाला नै सञ्चालन गरेको थियो । प्रदर्शनीमा २१ जना महिला सहभागी भएका थिए । ती मध्येबाट पनि केहीलाई छनोट गरी प्रदर्शनीमा समावेश गरिएका छन् ।


कार्टुन तथा क्यारिकेचर विधामा पुरानो पुस्तामा महिला सहभागिता नदेखिएपनि अहिले नयाँ पुस्तामा निकै अग्रसरता बढको प्रतिष्ठानका चित्रकला विभाग प्रमुख शुषमा राजभण्डारीले बताइन् । आगामी दिनमा महिला कलाकारहरुको समेत सहभागिता बढाउन प्रदर्शनीले उत्प्रेरणा दिने उनको विश्वास छ । प्रतिष्ठान र क्लबले २०७४ सालदेखि नै नियमित रुपमा क्यारिकेचर प्रदर्शनी गर्दै आइरहेको छ ।


प्रदर्शनी मंगलबारसम्म जारी रहनेछ ।

प्रकाशित : असार २७, २०७९ १२:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×