कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेविसंघले माग्यो त्रिवि पदाधिकारीको राजीनामा

काठमाडौँ — नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयले एकपछि अर्को परीक्षामा लापरबाही गरेको भन्दै त्रिविका पदाधिकारीको राजीनामा माग गरेको छ । निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाउने, गत वर्षकै प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्‍याउने र फरक विषयका प्रश्नपत्र वितरण गरी विद्यार्थीको भविष्यमा गम्भीर आघात पुर्‍याउने काम त्रिविबाट भइरहेकै नेविसंघको आरोप छ। 

नेविसंघले माग्यो त्रिवि पदाधिकारीको राजीनामा

त्रिविले असार २२ मा व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३: अर्गनाइजेसन बिहेबिएरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि-बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत् देशकै ठूलो र प्रतिष्ठित विश्वविद्यालयमै परीक्षाजस्तो संवेदनशील विषयमा लापरबाही भएका घटना हुनु लज्जास्पद भन्दै त्रिविका पदाधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

शनिबार मात्रै 'बिबिए छैटौं सेमेस्टरको नेप्लिज सोसाइटी एण्ड पोलिटिक्स एसओसी २०२' विषयको परीक्षामा पाँचौं सेमेस्टरको सोसोलोजीको प्रश्न सोधिएको भन्दै विद्यार्थीले विरोध गरेका थिए।

त्रिविको यस्तो गैरजिम्मेवार, शंकास्पद तथा लापरबाहीपूर्ण कदमप्रति नेविसंघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। यसअघि त्रिविले गत जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयका प्रश्नपत्रहरू गत वर्षकै हुबहु दोहोर्‍याएको थियो।

‘उक्त घटनाको छानबिन गर्न गठित छानबिन समितिद्वारा तयार पारिएको प्रतिवेदन आजसम्म सार्वजनिक नगर्नु, दोषीलाई उम्काउने चलखेल गर्नु, पटकपटक परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रहार गरिरहनु, बिचौलिया/निजी कलेजसँग साँठगाठ गरिरहनु, आदि घटनाले विश्वविद्यालयका पदाधिकारी तथा जिम्मेवार निकायहरू पतित भएको पुष्टि भैसकेको छ,’ नेविसंघले भनेको छ ।

यस्तो छ नेविसंघको विज्ञप्ति :

प्रकाशित : असार २६, २०७९ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?