कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुरेलाई जोगाउन नसके तराई मरुभूमि बन्छ : पूर्वराष्ट्रपति यादव

जनकपुर — नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले तराईलाई मरुभूमि हुनबाट जोगाउन चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने बताएका छन् ।

चुरेलाई जोगाउन नसके तराई मरुभूमि बन्छ : पूर्वराष्ट्रपति यादव

शनिबार जनकपुरमा कान्तिपुर मिडिया ग्रुप र मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय तथा प्रदेश सभा सचिवालयको सहकार्यमा शनिबार जनकपुरमा आयोजित 'मधेश मन्थन' कार्यक्रममा विद्वत प्रवचन दिँदै पूर्वराष्ट्रपति यादवले चुरे क्षेत्र जैविक विविधतायुक्त क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई जोगाउनुपर्ने बताएका हुन् ।

जैविक विविधता र पानीको भकारीलाई हटाएर मरुभूमि बनाउन नहुने उनको भनाइ छ । पछिल्लो समयमा चुरेको दोहन भइरहेकाले मधेशमा पानीको मुहान सुक्न थालेको, कृषियोग्य जमिन विस्तारै मरुभूमिमा परिणत हुँदै गइरहेको उनले बताए ।

‘साँच्चै मधेशलाई जोगाउने हो भने, चुरे र महाभारतको दोहन तत्कालै रोक्नुपर्छ,’ उनले भने, ‘चुरेको दोहन नरेकिए आउँदा केही वर्षमा चुरु मरभूमिमा परिणत हुनेछ ।’ मधेश प्रदेशमा धेरै सम्भावना रहेको उल्लेख गर्दै यादवले तिनलाई अधिकतम सदुपयोग गरी उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्ने सुझाव दिए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले वैकल्पिक उपाय अपनाउनुपर्ने पनि उनले बताए । संघीय सरकार पूरा दलबलका साथ निजगढमै गएर त्यहीँ विमानस्थल बनाइछाड्छौँ भन्नु दु:खद भएको उनको भनाइ छ ।

पछिल्ला ३० वर्षमा चुरे दोहन अत्यधिक हुँदै गएको र त्यसले मरुभूमि बन्ने खतरा रहेको उनले बताए । चुरे, महाभारत र भावर क्षेत्रको संरक्षणमा सबै पक्षको सहभागितामा पनि उनले जोड दिए ।

प्रकाशित : असार २५, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?