चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आइतबार काठमाडौं आउँदै- समाचार - कान्तिपुर समाचार

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आइतबार काठमाडौं आउँदै

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेतासहितलाई भेट्ने
जगदीश्वर पाण्डे

काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नव नियुक्त विदेश विभाग प्रमुख लिउ जियान चाओ आइतबार चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । लिउको नेपाल भ्रमणबारे एमाले र माओवादी केन्द्रका नेता तथा सरकारी स्रोतले कान्तिपुरलाई पुष्टि गरेको छ ।

यस बारे नेपालस्थित चिनियाँ राजदूतावासले भने आफूलाई पार्टीको तर्फबाट हुने भ्रमणबारे जानकारी नभएको उल्लेख गरेको छ ।

विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केहि दिन अघि माओवादी, एमाले र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । लिउ नेतृत्वको चिनियाँ टोलीले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भर्चुअल संवाद गरेको थियो । यस्तै, लिउले असार १६ मा कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरेका थिए ।

नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ । त्यसैलाई मध्यनजर गरेर लिउले आसन्न नेपाल भ्रमणका दौरानमा कांग्रेस, एमाले, माओवादी, नेकपा एसका नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्ने कार्यक्रम छ ।

नेपालमा फेरि आम निर्वाचनको तयारी चलिरहेको र नेपालमा ठूला कम्युनिस्ट पार्टीहरूबीच एकताको लागि सदासयता व्यक्त गर्ने र सत्तारूढ कांग्रेससँग सम्बन्ध सुधार गर्ने रणनीति चीनले लिएको चर्चा भइरहेका बेला विदेश विभागको जिम्मेवारी सम्हालेपछि लिउले पहिलो पटक मुलुक बाहिरको यात्रामा नेपाल रोजेका हुन् ।

निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट हुन लागेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । २०७४ मा निर्वाचन हुनु अघि एमाले र माओवादी केन्द्रलाई मिलाएर निर्वाचनमा सँगै लान र त्यसपछि नेकपा बन्नको लागि चिनियाँ पक्षले खुलेर भूमिका खेलेको कुटनीतिक बृत्तमा अहिले पनि चर्चा हुने गरेको छ । तर चिनियाँ पक्षको सहयोग र सद्भावबीच नेकपा कम्युनिष्ट नेतृत्वको सरकार ढलेको अवस्थामा चीनका उच्च अधिकारीको भ्रमण हुन लागेको हो ।

दुई साता अघि ओली र दाहालसँगको संवादमा लिउले चीनको चाहना दुबै कम्युनिस्ट पार्टी मिलेर अघि बढून् भन्ने रहेको उल्लेख गरेका थिए । ‘चिनियाँहरूले एउटै विचारधारा बोकेका पार्टीहरू मिलेर अघि बढ्दा राम्रो हुन्छ भन्ने कुरा राख्नुभयो,’ उक्त भिडियो संवादमा सहभागि एक नेताले कान्तिपुरसँग भनेका थिए ।

२०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर जानुपर्छ भन्नेमा चीन पनि थियो । ती दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएर नेकपा बन्ने सन्दर्भमा चीनले ‘सहजीकरण’ को भूमिका खलेको दाबी गरिँदै आएको छ । नेकपाको झन्डै दुई तिहाइको सरकार रहेकै बेला २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिने राजकीय भ्रमण गरेका थिए, जुन चीनबाट राष्ट्रपति स्तरमा भएको २३ वर्षपछिको भ्रमण थियो ।

तत्कालीन नेकपा विवाद चुलिएर विभाजनतिर उन्मुख भइरहँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ओली र दाहालका साथै वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई पटक–पटक भेटेकी थिइन् । उनको जोड एकतामै थियो । तर २०७७ पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विकसित घटनाक्रमले नेकपा छिन्नभिन्न भयो । अहिले ओलीले एमाले, दाहालले माओवादी केन्द्र र नेपालले एकीकृत समाजवादीको नेतृत्व गरिरहेका छन् । एमाले सत्ताबाहिर छ भने सत्ताको नेतृत्वमा कांग्रेस छ ।

बदलिँदो राजनीतिक परिस्थितिकै कारण चार सदस्यीय विशेष टोलीको नेतृत्व गर्दै २०७७ पुसको दोस्रो साता काठमाडौं आइपुगेका सीपीसी विदेश विभागका तत्कालीन उपप्रमुख कुओ येचौले कम्युनिस्ट नेताहरूलाई भेटेका ।त्यस बेला बुढानीलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग पनि संवाद गरेका थिए ।

प्रकाशित : असार २३, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

महिला विद्रोहको कथा [भिडियो]

एकल महिलाका लागि समाज अनुदार भएको समयको कथा नाट्य रूपान्तरणपछि अब फिल्ममा
पर्वत पोर्तेल

सिलिगुडी — युवावस्थामै श्रीमान् वा श्रीमती गुमाएकाहरूलाई अहिलेको समाजले के भन्छ ? उत्तर सजिलो छ– ‘उमेर काट्न गाह्रो छ, चल्दोमिल्दो हेरेर जोडी बाँध्नुपर्छ । विगत सम्झेर भविष्य चल्दैन ।’ नेपाली समाज यति उदार हुन थालेको धेरै वर्ष भएको छैन । जीवनसाथीको असामयीक अवसान भोग्नलाई एक्लै कष्टकर जीवन बाँच्न बाध्य पार्ने समाज कस्तो थियो ? पुरुषका लागि सहज भए पनि महिलाका लागि निकै असहज थियो । त्यही परिवेश बुझाउँछ फिल्म- ‘जार' ले ।

राणाकालीन नेपाली समाजको कथा दार्जिलिङका इन्द्रबहादुर राईले वर्षौंअघि लेखेका हुन् । जसलाई धेरैअघि खगेन्द्र लामिछानेले नाट्य रूपान्तर गरेका थिए । नाटक निर्देशन गरेका थिए, सुनील पोखरेलले । अहिले भने दार्जिलिङका फिल्मकर्मी फुर्वा लामाले उक्त कथालाई फिल्मी रूपान्तरण गरेका छन् । पोस्ट प्रोडक्सनको काम अन्तिममा पुगेको फिल्म प्रदर्शनको तयारीमा छ । ‘फिल्म छिटै रिलिज हुनेछ,’ सिलिगुडीमा भेटिएका लामाले भने, ‘हामी फिल्म फेस्टिभल मोडेलमा रिलिज गर्ने योजनामा छौं ।

त्यसो हुँदा दुई वर्षभन्दा अघिदेखि ‘जार’ कुरेर बसेका सीमाना वारिपारिका दर्शकले तत्काल फिल्म हेर्न पाउने देखिँदैन । खासगरी यो फिल्ममा त्यो समयको कथा छ, जुन समयमा श्रीमान् छाडेर दोस्रो बिहे गर्ने साहस प्राय: महिलाहरूमा विरलै हुन्थ्यो । ‘जीवनका दुविधा र दु:खभन्दा पनि प्रेम मुख्य कुरा भएकाले प्रेमको जित निश्चित हुन्छ भन्ने भाव कथाले बाकेको छ,’ निर्देशक लामा भन्छन्, ‘दोस्रो बिहे गर्ने विद्रोही महिलाको कथा पनि यसले भन्छ ।’

खासमा लामा र उनको टिमले सन् २०२० बाटै फिल्म निर्माण थाल्ने निधो गरेको थियो । तर, कोभिड–१९ संक्रमणको महामारी अचानक आइलागेपछि योजना बिथोलियो । ‘प्रि–प्रोडक्सन स्टेजमा थियौं, स्क्रिप्ट फाइनल भइसकेको थियो । अरू पनि धेरै काम सकिँदै गएको थियो,’ लामाले अनुभव साटे, ‘कोभिडले त चौपटै पारिहाल्यो नि !’

कोभिड महामारी नआएको भए अहिले फिल्म रिलिज भइसक्ने थियो । त्यति मात्रै हैन, पर्यटकीय गन्तव्य घान्द्रुकमा फिल्म छायांकन हुने थियो । तर, कोभिडले आवागमन असहज भयो । अन्तत: सिक्किमको एक गाउँलाई घान्द्रुक मानेर फिल्म छायांकन भयो ।

फिल्म निर्माणको योजनामा कोभिडपछि धेरै परिवर्तन भयो । सबैभन्दा बढी असर बजेटमा पर्‍यो । करिब ८५ लाख भारु लगानी फिर्ता भयो । ‘लगानीकर्ताले बीचैमा हात झिकिदिए,’ लामाले भने, ‘जसको आड भरोसामा काम गरेका थियौं उनैले हात झिकेपछि चौपट त हुने नै भयो ।’ बनारसकी अनिता देले काँध थापेपछि चाहिँ बल्ल फिल्म निर्माण सुरु भयो ।

सुरुमा कथामा भए जस्तै असली बाघलाई फिल्म देखाउने योजना थियो । कजाकिस्तानतिर गएर खिच्ने योजना थियो । ‘अन्तिममा लाइभ एनिमल नगर्ने भइयो । कम्प्युटर ग्राफिक्समा करिब आधा करोड खर्च लाग्यो,’ उनले भने । फिल्मको ९० प्रतिशत काम सकिएको छ । ‘सोचेभन्दा ढिलो भयो, तर यो समयमा रिवर्क पनि गर्दै छौं,’ लामाले थपे, ‘ढिलो भएकोमा दु:ख छैन, राम्रैका लागि भएको छ, गल्ती कमजोरी सुधार्दै छौं । अब करिब २/३ महिनामा फाइनल हुन्छ ।’

लामाले बलिउड र हलिउडमा फिल्मी अनुभव बटुलिसकेकी सिक्किमकी गीताञ्जली थापालाई फिल्ममा डेब्यु गराएका छन् । लामाको पनि ठूलो पर्दाको यो डेब्यु फिल्म हो । यसअघि उनीसँग ‘एक ढाकर जीवन’, ‘माछाको मोल’, ‘गोर्खे जिप’ र ‘भाले जुदाई’ आदि फिल्म निर्माण गरेको अनुभव थियो । फिचर फिल्मको अनुभवचाहिँ पहिलो हो । गीताञ्जलीसँग उनको पुरानै चिनापर्ची थियो । केही वर्षअघि पनि उनले गीताञ्जलीलाई एक फिल्मको स्क्रिप्ट पठाएका थिए । उनले मन पराएकी पनि थिइन् । तर, फिल्मचाहिँ बन्न पाएन । जार गर्ने भएपछि दिमागमा गीताञ्जलीकै अनुहार नाच्यो । ‘स्क्रिप्ट पठाएँ, उनले ओके गरिन्,’ लामाले भने, ‘नेदरल्यान्डबाट आएर फिल्ममा काम गरिन् ।’

करिब १५ वर्षदेखि फिल्म निर्माणमा संलग्न लामाको व्यावसायिक मसला फिल्मभन्दा पनि विषय प्रधानप्रति बढी रुचि छ । विगतमा दार्जिलिङमा प्रताप सुब्बा, तुलसी घिमिरेहरूको दबदबा थियो । अहिले सेङपेन खिमसर, फुर्वा लामाहरू नयाँ सोच र योजनाका साथ उदाएका छन् । अमेरिकामा बस्दै आएका खरसाङका सेङपेन खिमसरले गोर्खाल्यान्ड आन्दोलनसँग सम्बन्धित ‘ब्रोकेन विङ्स’ फिल्म निर्देशन गरेका छन् ।

प्रकाशित : असार २३, २०७९ १९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×