कोरोना संक्रमण दर ४ प्रतिशत नाघ्यो- समाचार - कान्तिपुर समाचार

कोरोना संक्रमण दर ४ प्रतिशत नाघ्यो

असार १ यता दैनिक संक्रमित संख्या ५ गुणा र संक्रमण दर साढे ६ गुणाले बढ्यो
भारतबाट आएका १९ जनामा संक्रमण पुष्टि
अतुल मिश्र

काठमाडौँ — कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) बुधबार ४ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्र रूपमा वृद्धि हुन थालेपछि महामारीको जोखिम पनि बढेको छ । असार १ यता सक्रिय संक्रमितको संख्या झन्डै ५ गुणा बढेको छ भने संक्रमण दर साढे ६ गुणाले वृद्धि भएको छ ।

असार १ मा कोभिडको दैनिक संक्रमण दर ०.६४ प्रतिशत रहेकामा बुधबार दैनिक संक्रमण दर ४.१४ प्रतिशत पुगेको छ । असार १ मा ८७ जना सक्रिय संक्रमित रहेकामा बुधबार बढेर ४ सय ७१ पुगेको छ । ‘कोभिड संक्रमणको केस पछिल्लो समय बढेको छ, केही साताअघिसम्म संक्रमण दर १ भन्दा कम रहेकामा अहिले ४ प्रतिशत नाघ्नु चिन्ताजनक हो,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा.चुमनलाल दासले भने, ‘बिरामीमा जटिलतासमेत देखिन थालेको छ । त्यसैले महामारीको जोखिम कम गर्न स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्ने देखिएको छ ।’

सरकारी अधिकारीहरूका अनुसार पछिल्लो समय भारतमा कोभिड संक्रमण उकालो लागेसँगै त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । विभागका अनुसार बुधबार विभिन्न नाका हुँदै भारतबाट आएकामध्ये १९ जनामा संक्रमण देखिएको छ । सरकारी अधिकारीहरूले भारतमा बढी संक्रामक मानिएको ओमिक्रोनको सबभेरिएन्ट ‘बीए.५’ नेपालमा देखिएसँगै संक्रमण दरमा तीव्र वृद्धि देखिएको हो ।

तराईमा पनि कोभिडको केस देखिन सुरु भएको जनाउँदै डा. दासले भने, ‘भारतबाट निरन्तर संक्रमित नेपाल आइरहेको र पछिल्लो समय ओमिक्रोनको बढी संक्रामक सबभेरिएन्ट ‘बीए.५’ को प्रवेश भइसकेकाले पनि संक्रमण विस्तार तीव्र बनेको हुन सक्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार गत मंगलबार गरिएको ३२ वटा नमुनाको जिन सिक्वेन्सिङमा २ वटामा ओमिक्रोनको ‘बीए.५’ सबभेरिएन्ट पाइएको छ । यस्तै २८ वटा नमुनामा ओमिक्रोनको बीए.२’ सबभेरिएन्ट र दुईवटा नमुनामा ओमिक्रोनको ‘बीए.१’ सबभेरिएन्ट पुष्टि भएको छ । मन्त्रालयका अनुसार प्रत्येक दुई सातामा जिन सिक्वेन्सिङ गर्ने गरिएको छ । ओमिक्रोनको अन्य सबभेरिएन्टभन्दा ‘बीए.५’ सबभेरिएन्ट बढी संक्रामक पाइएको छ । ‘बीए.५’ सबभेरिएन्ट पुष्टि भएका दुईमध्ये एउटा नमुना केन्द्रीय डाइग्नोस्टिक प्रयोगशाला र अर्को नमुना बेलहिया नाकामा संकलन गरिएको थियो ।

संक्रमितमध्ये ५ जना बेलहिया नाका हुँदै भारतबाट भित्रिएका हुन् । थपिएका नयाँ संक्रमितसँगै मुलुकभर कुल संक्रमितको संख्या ११३ पुगेको छ । त्यसमध्ये ४१.६९ प्रतिशत काठमाडौं उपत्यकामा छन् । बुधबार ललितपुरमा ९ जना र काठमाडौंमा ३८ जनामा कोभिड पुष्टि भएको छ । सोमबारसम्म वाग्मतीमा एक जना र सुदूरपश्चिममा एक जना गरी दुई जना आईसीयूमा र सुदूरपश्चिमकै एक जना भेन्टिलेटरमा उपचाररत छन् । डा. दासले संक्रमण जोखिम कम गर्न खोपको पूर्ण मात्रा लिएर तीन महिना भइसकेकाहरू सबैले बुस्टर डोज लिनुपर्ने र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउनुपर्ने बताए ।

प्रकाशित : असार २३, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

अशक्तलाई घरमै स्वास्थ्य सेवा

हरिराम उप्रेती

गोरखा — भीमसेन थापा गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत प्रत्येक महिना पालिकाका ८ वटै वडाका घर र टोल पुगेर अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच हुनेछ ।

भीमसेन थापा–३ स्थित मानव सेवा आश्रमका वृद्धवृद्धाको स्वास्थ्य जाँच गरी गत बिहीबारबाट कार्यक्रम थालिएको हो । पछिल्ला ६ दिनमा स्वास्थ्यकर्मी प्रत्येक वडाका अधिकांश टोलमा पुगिसकेका र कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले दाबी गरे । निःशुल्क औषधि वितरण तथा स्वास्थ्य बिमामा समेटिएकालाई समेत कार्यक्रममार्फत नै सेवा दिइने उनको भनाइ छ ।

‘अहिले कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई पनि कार्यक्रममा समेटेका छौं,’ उनले भने । शारीरिक रूपमा अशक्त रहेका व्यक्तिका हकमा घरमै पुगेर सेवा प्रवाह गर्ने पालिकाले जनाएको छ । ‘एउटा दर्ता किताब बनाएका छौं, कार्ड पनि वितरण हुन्छ । प्रत्येक महिना त्यही कार्डको आधारमा स्वास्थ्य अवस्था बुझ्ने र परामर्श दिने काम हुन्छ,’ उनले भने, स्वास्थ्यमा के समस्या छ बुझ्छौं, हामीले सक्ने उपचार टोल र घरमै पुगेर दिन्छौं ।’ गम्भीर रोग र जटिल प्रकृतिको उपचारका लागि विशेषज्ञसम्म पुग्न परामर्श गरी सहजीकरण पनि गरिने उनले बताए ।

उनका अनुसार अब प्रत्येक महिना मिति तोकेरै टोलटोलमा स्वास्थ्यकर्मी खटाइनेछ । प्रत्येक महिना एकै दिन टोलमा पुग्दा सेवाग्राहीलाई पनि सम्झन सजिलो हुने पालिकाको विश्वास छ । स्वास्थ्य जाँचका लागि वडास्तरमा रहेका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरिएको छ । पहिलो महिना मुटु, फोक्सो, थाइरोइडलगायत स्वास्थ्य समस्या भएका ज्येष्ठ नागरिक तथा अशक्तको पहिचान गरिने उनले बताए । ‘कस्ता स्वास्थ्य समस्या भएका कति छन् भनेर स्वास्थ्यकर्मीले थाहा पाइसकेपछि फलोअप गर्न पनि सहज बन्छ,’ उनले भने ।

हाल पालिकामा उपलब्ध जनशक्ति नै परिचालन गरी कार्यक्रम सुरु गरिएको पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए । ‘विशेषज्ञ सेवा पनि कसरी उपलब्ध गराउन सकिन्छ भन्नेमा छलफलमा छौं,’ उनले भने ।

प्रकाशित : असार २३, २०७९ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×