सांसदले 'बंक' गर्दा प्रतिनिधिसभा बैठक स्थगित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसदले 'बंक' गर्दा प्रतिनिधिसभा बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको बैठक गणपुरक संख्या नपुग्दा स्थगित गरिएको छ । औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नेक्रममा कूल संख्याको एक तिहाइ पनि सांसदहरू उपस्थित नहुँदा प्रतिनिधसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा धेरैजसो सांसद उपस्थित थिए । अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि संसद्‌को अन्य कारबाही अगाडि बढेको थियो । त्यसैक्रममा सांसदहरू भने बैठक छोडोर बाहिरिएका थिए ।

औषधि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल चलेर स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले जवाफ दिने बेलासम्म संसद् बैठकका कुर्सी रित्ता देखिएका थिए । संविधानको धारा ९४ मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक तिहाईको सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ ।

सांसद बस्ने कुर्सी रित्ता देखिएको अवस्थामा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा नेमकिपाका सांसद प्रेम सुवालले गणुरक संख्याको प्रश्न उठाएका थिए । त्यसपछि सभामुख सापकोटाले ३ मिनेट घण्टी बजाउन निर्देशन दिएका थिए ।

सांसदहरूले हाजिर गरी बाहिरिएकाले ३ मिनेटमा पनि गणपुरक संख्याअनुसार सांसदहरू पुगेका थिएनन् । ३ मिनेट घण्टी बजाउँदा पनि ६५ सांसदमात्रै उपस्थित भएका थिए । जबकी गणपुरक संख्या ६९ हो ।

त्यसपछि सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । यसअघि पनि प्रतिनिधिसभा बैठक गणपुरक सांसद उपस्थित नहुँदा स्थगित भएको थियो ।

प्रकाशित : असार २२, २०७९ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्

भिक्षु संघद्वारा श्रीलंकालाई अत्यावश्यक औषधि सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल भिक्षु संघले आर्थिक संकटग्रस्त मुलुक श्रीलंकालाई अत्यावश्यक औषधि सहयोग गरेको छ । काठमाडौंस्थित श्रीलंकाको राजदूतावासका अनुसार अखिल नेपाल भिक्षु संघ र यसअन्तर्गत गठित ‘ह्यान्ड्स फर श्रीलंका’ समितिले श्रीलंकाको राजदूतावासलाई २५ लाख रुपैयाँभन्दा बढीको अत्यावश्यक औषधि दान गरेको हो ।

राजदूत हिमाली अरुणातिलकले उक्त परियोजनामा उदारतापूर्वक योगदान पुर्‍याउने नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरिन् । उनले उक्त संघ र ‘ह्यान्ड फर श्रीलंका’का सबै सदस्यहरूलाई श्रीलंकाली जनतालाई आवश्यक औषधिहरू दान गर्न आयोजना गर्ने प्रतिबद्धता र प्रयासका लागि धन्यवाद पनि दिइन् ।

नेपालबाट श्रीलंकामा पठाइएको औषधिको यो दोस्रो खेप हो । अघिल्लो महिना एसियन फार्मास्युटिकल्स प्रालिले अहिले आर्थिक संकटमा रहेको मुलुकलाई सहयोग गरेको हो । औषधि ढुवानी श्रीलंका एयरलाइन्सले गर्नेछ ।

प्रकाशित : असार २२, २०७९ १७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×