१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अर्थमन्‍त्री शर्माले राजीनामा दिनुपर्छ : खनाल

'अहिले उठेका सवालहरूमा हेलचेक्र्याँई र लिपापोत गर्न हुँदैन'

काठमाडौँ — सत्तारुढ गठबन्धनका नेता झलनाथ खनालले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिले आएका विषयहरु सत्य हुन् भने अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।

अर्थमन्‍त्री शर्माले राजीनामा दिनुपर्छ : खनाल

उनले अर्थमन्त्री शर्मा प्रकरणमा प्रचार भइरहेको विषयलाई आफूले अत्यन्त गम्भीर रुपमा लिएको बताए । ' यो एकदमै गम्भीर घटना हो । यो घटना सत्य कति हो, राम्ररी छानबिन गरेर बाहिर ल्याइनुपर्छ । र, यस्ता खालका घटनाहरु घट्न थाले भने मुलुकमा मात्रै हैन, धेरै कुराहरूमा प्रश्‍न आउँछ,' खनालले भने,'घटनाक्रम के भएका छन् त्यस सम्बन्धी राम्रोसँग छानबिन भएर तथ्यपरक आउनुपर्‍यो । र अहिले जसरी यो कुराहरु प्रसार भइरहेको छ, अर्थमन्त्रीको राजीनामा स्वभाविक हो । '

नेता खनालले अर्थमन्त्री प्रकरणको विषय गठबन्धनको बैठकमा छलफल नभएको र यसबारे आफूलाई कुनै कुरा थाहा नभएको बताए । उनले भने, 'मलाई यो विषयमा छलफल गर्नका लागि गठबन्धनको बैठकमा बोलाएको पनि छैन । यो विषयमा छलफल भएको छैन । अरु कोही साथीहरूलाई बोलाएको छ भने थाहा भएन । यो छलफल योग्य विषय हो । '

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले अहिले उठेको विषयमा नेकपा माओवादी केन्द्रले पनि अवलिम्ब दिनुपर्ने बताए । उनले भने,' हामीले यो नयाँ ‌संविधान जारी भएपछि यो मुलुकमा सुशासन स्थापना गर्नुपर्छ भनेर अपेक्षा गरिरहेका छौं, प्रयत्‍न गरिरहेका छौं । तर त्यो भइरहेको छैन । र, अहिलेको अवस्थामा जे हिसाबले जुन धरातलमा यो प्रश्न उठेको छ । यसको जवाफ सम्बन्धित पार्टीले अविलम्ब दिनुपर्छ । सम्बन्धित व्यक्तिले पनि दिनुपर्छ ।'

उनले अहिले उठेका सवालहरूमा हेलचेक्र्याँई र लिपापोति पनि गर्न नहुने बताए ।

प्रकाशित : असार २२, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?