ब्रेक फेल हुँदा बस खस्यो : १३ को मृत्यु, २२ घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — काठमाडौंका लागि हिँडेको बस रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । २२ जना घाइते छन् ।

ब्रेक फेल हुँदा बस खस्यो : १३ को मृत्यु, २२ घाइते

मंगलबार बिहान सुनापति–३ हिलेदेवीको स्वाँराबाट ४० जना बोकेर हिँडेको पूर्व अरनिको यातायात समितिको बा३ख ८३९६ नम्बरको बस लुभु बजारबाट केही उत्तरमा पर्ने घुम्तीबाट खसेको हो । ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले बताए ।

बस सडकबाट ३० मिटर तल खस्दा ९ जनाको घटनास्थलमै र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सुनापति–५ का ६० वर्षीय ठूला तामाङ, खनियापानीका ढुकुरे भन्ने खड्गबहादुर विक, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सञ्जु आलेमगर, वडा ४ बेथानकी २६ वर्षीया समरिता तामाङ, काभ्रेको रोशी गाउँपालिका–४ का २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, कुलबहादुर विक र मण्डनदेउपुरकी शुभलक्ष्मी मानन्धरको घटनास्थलमै मृत्यु भएको डीएसपी थिङले बताए । धुलिखेल अस्पतालमा उपचारका क्रममा सुनापति–५ खनियापानीका ४५ वर्षीय रामबहादुर श्रेष्ठ, २४ वर्षीय बुद्ध तामाङ, ६० वर्षीय नेमा तामाङ र एक महिलाको मृत्यु भएको हो ।

घाइतेमध्ये ७ जनाको काठमाडौंका विभिन्न अस्पतालमा, १४ जनाको धुलिखेल अस्पताल र एक जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका चालक भने प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाको जानकारी पाउनासाथ लुभुघाट चौकी, बेथान र जिल्ला सदरमुकामबाट प्रहरी टोली पुगेको थियो । स्थानीयको सहयोगमा दुर्घटनास्थलबाट घाइते र मृतकको शव निकालिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए । उनका अनुसार घटनास्थलमै मृत्यु भएका ९ जनाको शव आफन्तजनले बुझेका छन् ।

आठ वर्षअघि पनि दुर्घटनास्थलनजिकै लुभु खोलामा जिप खस्दा चार जनाको मृत्यु भएको थियो भने तीन वर्षअघि सोही ठाउँमा सुमो दुर्घटना हुँदा चालकले ज्यान गुमाएका थिए । मध्यपहाडी राजमार्गबाट खनियाँपानीतर्फ लाग्ने सडक निकै उकालो छ । केही गरी पछिल्तिर गुडेको अवस्थामा दुर्घटनाबाट जोगिन नसकिने स्थानीय मानबहादुर तामाङले बताए ।

‘एक्कासि तल्लो बाटोमा पुग्यौं’

हामी काठमाडौं गइरहेका थियौं । मान्छे करिब ५०–५५ जनाजति हुनुपर्छ । भित्र आलुका बोरा पनि हालेको थियो । लुभुघाट आइपुग्ने बेलामा गाडी माथिल्लो बाटोबाट एक्कासि तल्लो बाटोमा खस्यो । ओरालो बाटोमा गाडी खसेको थाहै भएन । म अगाडि तल्लोपट्टि परेछु । आलुले पनि थिच्यो, मान्छेले पनि थिचे, खुट्टामा चोटपटक छ ।

(सुनापति–३ का चन्द्रकुमार कुवेर श्रेष्ठसँगको कुराकानी)

प्रकाशित : असार २२, २०७९ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?