१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

शून्य लागतमा मलेसियाको विर्स्टनले नेपाली श्रमिक लैजाने

काठमाडौँ — मलेसियाको विर्स्टन टेक्नोलोजीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । श्रमिक लैजान मंगलबार आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल म्यानपावर कम्पनीसँग विर्स्टनले सम्झौता गरेको हो । विर्स्टनले पहिलो चरणमा चार सय ५० जना लैजाने भएको छ । विर्स्टनमा जाने श्रमिकले १ पैसा पनि खर्च गर्नु नपर्ने विर्स्टनका उपमहाप्रबन्धक डेभिड तावोन चोङले बताए । 

शून्य लागतमा मलेसियाको विर्स्टनले नेपाली श्रमिक लैजाने

आकर्षणका प्रमुख कार्यकारी निर्देशक विष्णु केसी, लालधनुषका प्रमुख आङ नेवाङ शेर्पा र चोङबीच शून्य लागतमा श्रमिक भर्ना गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसअघि मलेसियाका कम्पनीहरुले शून्य लागतमा श्रमिक लैजाने दाबी गरेपनि नेपालमै आएर सार्वजनिकरुपमा म्यानपावर कम्पनीसँग सम्झौता गरेको थिएन ।

विर्स्टन टेक्नोलोजीले घरदेखि मलेसियाको कम्पनीसम्म पुग्ने सबै लागत खर्च बेहोर्नेछ । गाउँदेखि काठमाडौंसम्म आउने–जाने, काठमाडौंको होटलमा बस्ने र खाने, राहदानी बनाउन लागेको खर्च, मेडिकल, भिसा, हवाई टिकटलगायत सम्पूर्ण लागत खर्च विर्स्टन टेक्नोलोजीले बेहोर्ने उपमहाप्रबन्धक डेभिड तावोन चोङले बताए । बिना खर्च गएका श्रमिकले मासिकरुपमा ७० हजारदेखि ९० हजारसम्म आम्दानी गर्नेछन् ।

बहुराष्ट्रिय कम्पनी विर्स्टनले मलेसियाको पोर्टकिआङ र पेटालिङमा उद्योग छ । सम्झौताअनुसार पहिलो चरणमा आकर्षणले १५० महिला र ६० पुरुष गरी २ सय १० जना र लालधनुषले १७५ महिला र ७५ पुरुष गरी २ सय ५० जना नेपाली श्रमिकलाई पठाउने सम्झौतामा उल्लेख छ । यी श्रमिकको छनोट विर्स्टनले नै गर्नेछ । श्रमिक छनोटका लागि बुधबार र बिहीबार अन्तर्वार्ता तोकिएको छ ।

२०७५ कात्तिक ११ गते शून्य लागतमा मलेसियाले नेपालबाट श्रमिक लैजाने भन्दै श्रम सम्झौता गरेको थियो । कोभिडपछि मलेसियाको रोजगारदाता कम्पनीहरुसँग भिसा नै किन्ने प्रतिस्पर्धा भइरहेको बेला विर्स्टनले आफूहरु शतप्रतिशत शून्य लागतमा श्रमिक लैजाने दाबी गरेको छ । ‘मलेसिया जान घरबाट निस्केदेखि जे जति खर्च हुन्छ । त्यो सबै हामी श्रमिकको बैंक खातामा नै रकम सोधभर्ना गरिदिन्छौं,’ आकर्षणका प्रमुख कार्यकारी निर्देशक केसीले भने,‘हामी कुनै पनि विचौलियामार्फत श्रमिक लिने छैन । सिधै म्यानपावर कम्पनीमा आएका श्रमिकलाई अन्तर्वार्ता लिनेछौं । अन्तर्वार्ता पारदर्शी हुनेछ ।’

चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा सो कम्पनीको उद्योग छ । यो कम्पनीमा ८० हजार जना कर्मचारी काम गर्छन् । गत वर्ष यो कम्पनीको आफ्नै ब्राण्ड उत्पादन छैन तर ब्राण्ड कम्पनीको इलोक्ट्रोनिक्स सामानहरु उत्पादन गर्छ ।

प्रकाशित : असार २१, २०७९ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?