१८ वर्षदेखि चुहिँदै मायादेवी मन्दिर

दुई सय वर्ष पुरानो सुर्की र चुन प्रयोग विधि अपनाइए पनि कालिगड पोख्त नहुँदा समस्या आएको हुन सक्ने अनुमान
माधव ढुंगाना

लुम्बिनी — विश्व सम्पदामा सूचीकृत मायादेवी मन्दिर चुहिन थालेपछि पुरातात्त्विक वस्तु क्षयीकरणको चिन्ता बढेको छ । पुनर्निर्माण भएको केही समयपछि नै छतबाट पानी चुहिन थाले पनि लुम्बिनी विकास कोषले समस्या सुल्झाउन सकेको छैन । पानी परेका बेला दर्शनार्थीले भित्रै छाता ओढ्नुपर्ने बाध्यता त छँदै छ, ठूलो समस्या पुरातात्त्विक र ऐतिहासिक सम्पदालाई कसरी जोगाउने भन्ने छ ।

१८ वर्षदेखि चुहिँदै मायादेवी मन्दिर

पुरातत्त्वविद्का अनुसार मायादेवी मन्दिर बुद्ध जन्मस्थलमा सबैभन्दा महत्त्वपूर्ण ठाउँ हो । सम्राट अशोकले राख्न लगाएको बुद्ध जन्म स्मृति शिला (मार्कर स्टोन), इसापूर्व तेस्रोदेखि सातौं शताब्दीसम्मका इँटाका भग्नावशेष र बुद्धलाई जन्म दिने अवस्थाको मायादेवीका मूर्ति यहाँ छन् । यिनै सम्पदा संरक्षण गर्न २०६० मा मायादेवी मन्दिर पुनर्निर्माण गरिएको थियो । युनेस्को, पुरातत्त्व विभागअन्तर्गत विश्व सम्पदा शाखा र विश्व सम्पदा केन्द्रले तयार पारेको मापदण्ड पालना गरी सरकार र कोषले बेहोर्ने गरी ६ करोड लगानीमा मन्दिर पुनर्निर्माण गरिएको थियो ।

‘छत निर्माणमा डन्डी, सिमेन्ट र वाटर प्रुफ रसायन प्रयोग गरिएको छैन,’ कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले भने, ‘मन्दिर पुरातात्त्विक स्थल भएकाले निर्देशनअनुसार सुर्की (इँटाको धूलो) र चुन प्रयोग गरेका छौं ।’ निर्माण सामग्रीमा राणाकालीन दुई सय वर्ष पुरानो विधि अपनाइए पनि कालिगड पोख्त नहुँदा समस्या आएको हुन सक्ने उनले बताए । मन्दिर ‘स्टिल स्ट्रक्चर’ प्रविधिबाट बनाइएको हो । निर्माणको केही वर्षमै छत लच्किएको थियो, पछि नट–बोल्टले कसिए पनि पानी चुहिने समस्या हटेन । ‘वाटर प्रुफिङ’ गरिएको थियो तर मन्दिरका भित्ता पनि वर्षामा रसाउन थाले । भित्तामा पनि चुन र सुर्कीकै प्रयोग गरिएको छ । सुर्की–चुन झिकेर वाटरप्रुफिङ प्रविधिबाट मर्मत गर्न सकिने भए पनि पुरातत्त्व विभाग, युनेस्को, विश्व सम्पदा केन्द्रलगायतको सहमति चाहिने भट्टराई बताउँछन् ।

कोषका पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीले दुईपटकसम्म वाटर प्रुफिङ गर्दा पनि समाधान हुन नसकेको बताए । दीर्घकालीन समाधानका लागि थाइल्यान्डको थाइपुङ थाई नामक संस्थासँग गत वर्ष सहमति गरिएको उनको भनाइ छ । ‘मन्दिर संरक्षणका लागि इस्टिमेट गर्न छिट्टै प्राविधिक टोली पठाउने जानकारी आएको छ,’ उनले भने, ‘मर्मत खर्च थाइपुङ थाईले बेहोर्ने भए पनि टोली कहिलेसम्म आइपुग्छ भन्ने टुंगो छैन ।’ सुर्की–चुन सिमेन्टभन्दा बलियो हुने दाबी गरिए पनि पुनर्निर्माणको पाँच वर्षदेखि मन्दिर चुहिनुलाई निर्माण क्रममा कमजोरी भएको हुन सक्ने उप्रेती बताउँछन् । मायादेवीको मूर्तिदेखि दक्षिणतर्फ, मार्कर स्टोन छेउ, पूर्वतर्फको पुरातात्त्विक भग्नावशेष, मन्दिरको उत्तरपश्चिम कुना र दर्शनार्थी हिँड्ने चौतर्फी बाटोमा छतबाट पानी चुहिन्छ ।

उप्रेतीका अनुसार जापान सरकारको सहयोग र युनेस्कोले संयोजन गरेको अन्तर्राष्ट्रियस्तरका पुरातत्त्वविद् सहितको टोलीले ६ वर्षअघि अनुसन्धान गरेको थियो । टोलीमा इटालियन रसायनविद् कन्सट्यान्टिनो म्युसी पनि थिए । उनले मायादेवीमुनि जमिनको पानीमा नुनको मात्रा धेरै रहेको र यसले अम्लीयपन बनाउने हुँदा ती सम्पदाको क्षयीकरण हुने गरेको तथ्य सार्वजनिक गरेका थिए । मन्दिरभित्रका सम्पदाको दीर्घकालीन संरक्षणको उपाय खोजीका लागि उक्त टोली आउँदो नोभेम्बरमा अध्ययनका लागि पुनः नेपाल आउँदै छ ।

धेरै वर्षा भए परिसरमा पानी जम्छ । डुबानबाट सम्पदा जोगाउन कोषले मन्दिरबाहिर पाँच/छ वटा इनार खनेर पानी संकलन गरी मोटरले फाल्ने गरेको छ । चिस्यानले प्राचीन इँटाका भग्नावशेष गल्दै र खिइँदै जान थालेपछि ढल्न लागेकाले फलामको टेकोले अड्याइएको छ । पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले संरक्षण गर्न कोषलाई पहिल्यै स्वीकृति दिइसकेको बताए । ‘विभागको स्वीकृति भनेर रोकिनुपर्ने कारणै छैन । अर्बौं लागे पनि हामी सक्षम हुँदाहुँदै विदेशी पनि गुहार्नु पर्दैन,’ उनले भने ।

सन् १९९२ मा पुरानो मायादेवी मन्दिर भत्काएर पुरातत्त्व विभाग, जापानी बुद्धिस्ट फेडरेसन र कोषले संयुक्त रूपमा सन् १९९६ मा उत्खनन सकेका थिए । त्यसबाट बुद्ध जन्मेको स्थानमा सम्राट अशोकले राख्न लगाएको बुद्ध जन्मस्मृति शिला पत्ता लागेको थियो । शिलाले बुद्धको जन्मस्थल लुम्बिनी भएको विश्वसामु वैज्ञानिक रूपमा प्रमाणित गरेको थियो । सन् १९९७ मा लुम्बिनीलाई युनेस्कोले विश्व सम्पदामा सूचीकृत गरेपछि बुद्ध जन्मस्थल र लुम्बिनीका बारेमा रहेका भ्रम र अफवाह निष्क्रिय बन्दै गएका थिए ।

प्रकाशित : असार २१, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?