नेपालसँग सम्पर्क बढाउन चीनको क्विचौ प्रान्त इच्छुक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालसँग सम्पर्क बढाउन चीनको क्विचौ प्रान्त इच्छुक

लक्ष्मी लम्साल

बेइजिङ — चीनको क्विचौ प्रान्तले नेपालसँग आर्थिक, व्यापारिक तथा सांस्कृतिक सम्बन्ध स्थापनाका लागि प्रस्ताव गरेको छ । निकटवर्ती प्रान्त सिचुवानस्थित नेपाली महावाणिज्य दूतावासका प्रतिनिधिलाई आफ्नो प्रान्तको भ्रमण गराएर क्विचौ प्रान्तका विभिन्न विभागले नेपालसँग सहकार्यका लागि प्रस्ताव राखेका हुन् ।

क्विचौ प्रान्तीय वैदेशिक मामिला कार्यालयका महानिर्देशक चाङ हानलिन र क्विचौ प्रान्तीय वाणिज्य विभागका महानिर्देशक एवं प्रादेशिक लगानी प्रवर्द्धन ब्यूरोका निर्देशक मा लेई सहितको प्रतिनिधि मण्डलले फरक फरक बैठकमा यस्ता संभावनाहरू अगाडि सारेका हुन् ।

चाइना साउदर्न एयरलाइन्समा लगानी रहेको क्विचौले नेपालसँग सिधा उडान गर्दै बुद्धधार्मिक सहकार्य, शैक्षिक छात्रवृत्ति, लगानी लगायतमा नेपालसँग मिलेर अघि बढ्ने बताएको हो । ‘क्विचौ प्रान्तमा एउटा थोङ् रन् भन्ने ठाउँ भविष्यका बुद्धको उत्पत्तिस्थल भन्ने आस्थाका कारण प्रख्यात रहेछ, महावाणिज्यदूत दिनेश कुमार घिमिरेले कान्तिपुरसँग भने, ‘बौद्ध धर्मको आधारमा थोङरन र नेपालको लुम्बिनीको कुनै ठाउँबीच भगिनी सम्बन्ध स्थापित गरेर सीधा उडान मार्फत् जोडिने चिनियाँ अभिरुचि देखिन्छ ।’

भेटवार्तामा नेपाली प्रतिनिधि मण्डलले नेपालको पर्यटकीय संभाव्यताबारे जानकारी गराएको थियो । साथै हस्तकला, चिनियाँ लगानी, सोलार तथा स्वच्छ ऊर्जामा लगानीका पर्याप्त संभावना रहेको बारेमा पनि जानकारी गराइएको महावाणिज्यदूत घिमिरेले बताए ।

भेटवार्तामा क्विचौ वैदेशिक मामिला कार्यालयका महानिर्देशक चाङ हानलिनले विकट भौगोलिक अवस्थितिका बाबजुद क्विचौले एक दशकमा गरेको गरिबी निवारणको अनुभव नेपालसँग बाँड्न सकिने बताए । चिनियाँ संचारमाध्यमहरूका अनुसार क्विचौ नै चीनको गरिबी निवारण भएको सबैभन्दा अन्तिम प्रान्त हो । चीनले सन् २०२० भित्र गरिबी निवारणको लक्ष्य लिएको थियो । सोही वर्षको अन्तिमतिर मात्रै क्विचौ प्रान्तले बाँकी रहेका ९ वटा गाउँहरूलाई गरिबीको सूचिबाट हटाएपछि चीनले गरिबी निवारणको लक्ष्य साकार भएको उद्घोष गरेको थियो ।

त्यस्तै वाणिज्य महानिर्देशक मा लेईले जलवायु परिवर्तन, आईटी तथा बिग डेटा, शैक्षिक, साँस्कृतिक, पर्वतीय खेलकुद लगायत पाँच वटा विषयमा नेपालसँग सहकार्यको संभाव्यता प्रस्तुत गरेको प्रतिनिधि मण्डलमा सहभागी वाणिज्यदूत मनहरी दंगालले बताए ।

सो क्रममा नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा अन्तरदेशीय पर्यटन, आयात निर्यात व्यापारमा उल्लेखनीय सहयोगको नतिजा हासिल भएको बताउँदै गरिबी निवारण र आम्दानी वृद्धिका लागि व्यापार र लगानी महत्त्वपूर्ण माध्यम हुनेबारे छलफल भएको थियो ।

दुई पक्षबीचको आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने प्रस्तावबारे चर्चा गर्दै महावाणिज्यदूत घिमिरेले नेपालमा उत्पादन, कृषि, पर्यटन लगायत क्षेत्रमा औद्योगिक विकासको राम्रो गति रहेको बताउँदै थप क्विचौका उद्यमीले नेपालमा लगानीका बारेमा बुझ्न आग्रह गरे । उनले भने, ‘नेपालले व्यापारिक वातावरणलाई स्तरोन्नति र अनुकूल बनाउन प्रयास गरिरहेको छ । क्विचौले आयात निर्यात व्यापारको सुविधालाई समर्थन गर्ने र दुई पक्षबीचको व्यापार प्रवर्द्धन गर्ने आशा छ ।’

दुवै पक्षको पर्यटन स्रोत र पर्यटन उत्पादनहरू थप प्रचार गर्न अनलाइन पर्यटन प्रवर्द्धन बैठकहरू गर्न सम्बन्धित विभागहरूसँग सहकार्य गर्नुपर्ने भन्दै उनले सीमापार पर्यटन पूर्ण रूपमा विकसित भएपछि नयाँ उडान खोल्न मद्धत पुग्ने बताए ।

शुक्रबार भएका ती बैठक र भेटवार्ताहरूमा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य, क्विचौ प्रान्तीय वैदेशिक विभागहरू, उद्योग वाणिज्य प्रतिनिधिहरू लगायत सहभागी थिए ।

प्रकाशित : असार २०, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

अर्थतन्त्र सुधार्ने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

'यस वर्ष देशबाट करिब ३ खर्ब रुपैयाँ आउट फ्लो भएको छ । पैसा बाहिर पठाउँदा बैंकहरूले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने हुन्छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् ।

सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताए ।

गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरूले ल्याएका सिद्धान्त नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरे पनि सम्भव नभए साउनको पहिलो सातासम्म मौद्रिक नीति ल्याउने बताए ।

‘मलाई कताकता लाग्छ हामी यस्तो बेला परिएछ संसारभरका अर्थशास्त्रीले निकालेका सिद्धान्तहरूका प्रयोग यतिबेला नै गर्न पाइने जस्तो भइरहेको छ । व्यवहारिक हिसाबले त्यो अवस्था छ । सबै जना अर्थतन्त्रका सबै सूचकको विषयमा जानकार नै हुनुहुन्छ । उद्योग व्यवसायमा लाग्ने साथीहरूले दबाब र सहज दुवै महसुस गर्नुभएको छ । हामी मौद्रिक नीतिको तयारीमा छौं । मौद्रिक नीति असारको अन्त्यमा ल्याउँछौं नसके साउन महिनाको पहिलो सातामा ल्याउने तयारीमा छौं । मौद्रिक नीति सकेसम्म अहिले अर्थतन्त्रमा परेको प्रभावलाई निकास दिनेगरी कसरी ल्याउन सकिन्छ भन्ने हिसाबले ल्याउने तयारी छ । मौद्रिक नीतिले करको विषयमा केही गर्दैन ।’

गभर्नर अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्च बढ्दै जाने अवस्था भइरहेको भन्दै पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृतिमा सुधार नआएको बताए ।

साथै अधिकारीले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको बताए । उनले अर्थतन्त्र आयातमुखी हुँदा यस वर्ष देशबाट करिब ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको पनि बताएका थिए ।

पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको उनको भनाइ छ । उनले बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीहरुले सहनुपर्ने पनि बताएका थिए ।

यस्तै गभर्नर अधिकारीले सरकार, राष्ट्र बैंक निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याएका थिए । गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको बताएका थिए ।

‘अहिले हाम्रो अर्थतन्त्रमा सेभिङमा कमजोर हुँदै जाने, खर्चहरू बढ्दै जाने अवस्था छ । व्यक्तिगत र समाजको खर्च गर्ने आनीबानीको सवालमा पनि सकारात्मक बदलाव आएको छैन । त्यसले आयातमुखी अर्थतन्त्र बनाएको छ । त्यसले गर्दा आयातमुखी अर्थतन्त्र रहेको र त्यसको असर स्वरुप हामीलाई वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढिरहेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएको, आयात निरन्तर बढेको अवस्था छ । निर्यातले नधानेको अवस्था छ । रेमिटेन्स बढेको भए पनि आयातले नधानेको अवस्था छ । त्यसको असर स्वरुप यस वर्ष देशबाट करिब ३ खर्ब रुपैयाँ आउट फ्लो भएको छ । पैसा बाहिर पठाउँदा बैंकहरूले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने हुन्छ,' गभर्नर अधिकारीले भने ।

यस क्रममा गभर्नर अधिकारीले बैंकहरूमा १० लाख भन्दा बढी रकम जम्मा गर्न हुँदैन भन्ने उद्योगी व्यवसायी र बैंकर्सहरु समेत दुविधामा रहेको बताएका थिए ।

प्रकाशित : असार २०, २०७९ १८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×