१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अस्पतालमा पैसा तिर्नु नपर्ने

कोषको कार्ड देखाएपछि अस्पतालले पैसा लिँदैन : कोष

काठमाडौँ — सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले स्वास्थ्य सेवा लिएवापत अस्पतालमा पैसा तिर्नु नपर्ने व्यवस्था सोमबारबाट लागू भएको छ । श्रमिकको उपचार गरेवापत लाग्ने खर्च सम्बन्धित अस्पतालले सिधै कोषसँग दाबी गर्ने व्यवस्था मिलाइएको छ ।

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अस्पतालमा पैसा तिर्नु नपर्ने

कोषले एक सय २६ वटा अस्पतालसँग समझदारी गरेकोमध्ये पहिलो चरणमा २६ वटा अस्पतालले कोषसँग नै खर्चको दाबी गर्ने व्यवस्था मिलाएको हो । कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीका अनुसार अब तोकिएको अस्पतालमा उपचार गर्दा लागेको शुल्क कामदारले बुझाउनु पर्दैन । ‘योगदानकर्ताले स्वास्थ्य उपचारको लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम सोधभर्नाको निम्ति कागजातसहित कोष कार्यालय जानुपर्ने झन्झटको अन्त्य गरेका छौं’, ज्ञवालीले भने ।

कोषका अनुसार बिर्तामोडस्थित मनमोहन मेमेरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, मेची दृष्टि आइ केयर अस्पताल एण्ड रिसर्च सेन्टर, विराटनगरस्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल, नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, हाम्रो अस्पताल, इटहरीस्थित पशुपति मोडेल हस्पिटल, राजविराजस्थित छिन्नमस्ता एजुकेसन एकेडेमी एण्ड मेडिकल कलेजमा उपचार गर्दा रकम बुझाउनु पर्ने छैन ।

त्यस्तै हरिवनस्थित सामुदायिक स्वास्थ्य सहकारी संस्था नमूना अस्पताल, विरगञ्जस्थित नेसनल मेडिकल कलेज, विरगञ्ज हेल्थ केयर अस्पताल, विरगञ्ज दृष्टि आइ केयर सेन्टर, भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज), भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स, कोहलपुरस्थित लर्ड बुद्ध एजुकेसनल फाउन्डेसन, बनेपास्थित शिर मेमोरियल अस्पताल, चावहिलस्थित हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, अर्थोपेडिक अस्पताल, दृष्टि आइ केयर, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरास्थित ग्यालेक्सी अस्पताल र उर्लाबारीस्थित अरनिको अस्पताल रहेका छन् ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षावापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी गरी बाँकी ८० प्रतिशत र दुर्घटना वापतको सुविधा लिँदा शत प्रतिशत रकम नै कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी हुने ज्ञावलीले बताए ।

२०७५ मंसिर ११ मा कार्यक्रमको औपचारिक घोषणा गरिएकोमा हाल सम्ममा आबद्ध करिब ३२ हजार श्रमिकले कोषबाट सुविधाहरू लिइसकेका छन् । जसमध्ये करिब ११ हजार ५०० जनाले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत सुविधा, ७३४ ले दुर्घटना तथा अशक्तता सुविधा, २२४ ले आश्रित परिवार सुविधा र १९ हजार जनाले वृद्धावस्था सुविधा लिएका छन् ।

सामाजिक सुरक्षा कार्यक्रममा निजी संगठित क्षेत्रका १७ हजार १५४ संस्थासँग आबद्ध ३ लाख ४४ हजार ५३१ श्रमिकहरू सूचिकृत भइ योगदान गरिरहेका छन् । जसमा योगदानकर्ताले गरेको करिब २० अर्ब योगदान रकम जम्मा गरेका छन् । योगदानकर्तालाई १ अर्ब ५७ करोड भुक्तानी गरिसकिएको छ । कोषमा रोजगारदाताको तर्फबाट आधारभूत पारिश्रमिकको २० प्रतिशत र योगदानकर्ताको तर्फबाट ११ प्रतिशत रकम जम्मा हुने गरेको छ ।

प्रकाशित : असार २०, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?