१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

उच्च पहाडी गाउँमा मलेरिया सार्ने लामखुट्टे

५५० वटा लामखुट्टे समातेर सर्वेक्षण गर्दा ३२३ मलेरिया सार्ने एनोफिलिज
आश गुरुङ

लमजुङ — उच्च पहाडी बस्तीहरू पनि लामखुट्टेले सार्ने रोगको जोखिममा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको सहयोगमा लमजुङमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो ।

उच्च पहाडी गाउँमा मलेरिया सार्ने लामखुट्टे

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अनुसन्धान गर्न राइनास–४ छबिसे र अलकाटारमा समातिएका ५ सय ५० वटा लामखुट्टेमा १३ प्रजातिमध्ये अधिकांश रोग सार्ने छन् । सबैभन्दा बढी ३ सय २३ वटा मलेरिया सार्ने एनोफिलिज जातका छन् । ९० वटा हात्तीपाइले सार्ने क्विङ्कीफेसियटस प्रजाति र २५ जापनिज् इन्सेफ्लाइटिस सार्ने ट्राइटोरिङकाइटस प्रजातिका लामखुट्टे भेटिए । ९ वटा आर्मीजेरेस नामक रोग नसार्ने थिए ।

जिल्ला स्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक यमराज बरालका अनुसार सर्वेक्षण प्राप्त नतिजाले लमजुङ लामखुट्टेबाट सर्ने रोगको उच्च जोखिममा रहेको देखिन्छ । उनका अनुसार मध्यनेपाल–७ करापुटार क्षेत्रमा ५ सय ५७ वटा लामखुट्टेमा गरिएको सर्वेक्षणअनुसार ३ सय ३५ वटा औलो रोग सार्ने एनोफिलिज जातका भेटिए । हात्तीपाइले सार्ने ४१ र कालाजार सार्ने स्यान्डफ्लाइ १६ वटा थिए । ५ वटा आर्मीजेरेस नामक लामखुट्टे परे ।

सुन्दरबजार–६ खत्रीठाँटीमा परीक्षणका लागि समातिएका ४ सय ९६ लामखुट्टेमध्ये औलो रोग सार्ने एनोफिलिज जातका ३८ वटा भेटिए । हात्तीपाइले सार्ने ५० र कालाजार सार्ने १ सय ३३ वटा भेटिए । सर्वेक्षण गरिएकामध्ये रोग नसार्ने आर्मीजेरेस नामक लामखुट्टे ५७ वटा भेटिए । डेंगु सार्ने पनि भेटिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मध्यनेपालमा मलेरियाका १ र बेंसीसहरमा कालाजारका २ बिरामी छन् । राइनासमा ३३ जना बढी हात्तीपाइले र हाइड्रोसिलका बिरामी छन् । ‘परीक्षण सर्वेक्षण गर्दै जाने हो भने अझ धेरै समस्या भेटिन सक्छन् । यहाँको अवस्था पत्ता लगाउन सर्वेक्षण गरेका हौं,’ स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले भने ।

विश्व स्वास्थ्य संगठनका अनुसार ६ चरणमा अभियान सकिने भए पनि लमजुङमा १३ औं पटक खुवाइसक्दासमेत हात्तीपाइले निवारण हुन सकेको छैन । सन् २०२० भित्र हात्तीपाइले रोग निवारण गरिसक्ने र सन् २०२२ मा उक्त रोगलाई शून्यमा झार्ने सरकारले लक्ष्य थियो । तराईको गर्मी ठाउँमा बस्ने कालाजार र मलेरिया रोग सार्ने लामखुट्टेहरू पहाडी जिल्ला लमजुङमा देखिएको र बिरामीसमेत भेटिनु राम्रो संकेत नरहेको स्वास्थ्य प्रमुख दवाडी बताउँछन् । ‘हामीले सर्वेक्षण तटीय क्षेत्रमा गर्‍यौं । जहाँ गर्मी बढी छ,’ उनले भने, ‘तराईको जस्तो गर्मी नभएको ठाउँमा पनि सजिलै यी लामखुट्टे आएर बस्छन् भने अब पहाडमा पनि गाह्रो छ ।’

प्रकाशित : असार २०, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?