कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

५ देखि ११ वर्षका लागि आइपुग्यो थप २३ लाख खोप

कोभिड हटेको छैन, कम मात्र भएको हो, त्यसैले बुस्टर डोज अनिवार्य लगाऔं – डा. समीरकुमार अधिकारी सहप्रवक्ता, स्वास्थ्य मन्त्रालय
प्रशान्त माली

काठमाडौँ — सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको २२ लाख ९९ हजार २ सय डोज खोप आएको छ । सरकारले संयुक्त राष्ट्रसंघको गाभीमार्फत आइतबार बालबालिकाका लागि खोप ल्याएको हो ।

५ देखि ११ वर्षका लागि आइपुग्यो थप २३ लाख खोप

स्वास्थ्य विभागले आएको थप खोपलाई स्टक र मागका आधारमा आइतबारै सातै प्रदेशमा वितरणका लागि पठाइएको जनाएको छ । विभागका अनुसार पहिलो चरणमा खोप अभियान चलाइएका २७ मध्ये काठमाडौं, भक्तपुर, ललितपुर, इलाम, मोरङ, सप्तरी, धनुषा, सिन्धुली, मकवानपुर, चितवन, कास्की, रूपन्देही, दाङ र कैलाली गरेर १४ जिल्लाले मात्र प्राप्त सबै खोप वितरण गरेका थिए । विभागले सुनसरीमा सबैभन्दा बढी ४० हजार, पर्सामा १४ हजार २ सय ४०, सिरहामा १२ हजार, बर्दियामा ६ हजार, झापामा ५ हजार खोप स्टक रहेको जनाएको छ ।

त्यस्तै महोत्तरीमा २ हजार ५ सय, काभ्रेमा ५ सय, नवलपरासी पूर्वमा ३ हजार, नवलपरासी पश्चिममा १ हजार २०, बाँकेमा १ हजार ५ सय, सुर्खेतमा २ सय, डडेलधुरामा १ हजार ३ सय ५० र कञ्चनपुरमा ७ सय ४० डोज स्टक रहेको विभागले जनाएको छ । पहिलो पटक असार ६ मा २२ लाख ३ हजार २ सय डोज आएको थियो ।

मुलुकमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिका करिब ३९ लाख छन् । सरकारको दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा पहिलो मात्रा भदौ ५ देखि ११ गतेसम्म र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म लगाउने तयारी थालेको छ । बालबालिकालाई खोपको बुस्टर डोज लगाउनेबारे भने स्वास्थ्य मन्त्रालयले केही भनेको छैन ।

अघिल्लो साता खोप अभावका कारण उपत्यकाका तीनवटै जिल्लामा ५ देखि ११ वर्ष उमेरका बालबालिका लक्षित खोप कार्यक्रम स्थगित भएको थियो । विभागले उपत्यकाका तीन जिल्लामध्ये ललितपुरलाई ३४ हजार ५ सय र भक्तपुरलाई १७ हजार ३ सय डोज पठाउने निर्णय गरेको छ । काठमाडौंले खोप माग नगरेकाले कति पठाउने भन्नेबारेमा विभागका अधिकारीहरू अन्योलमा छन् । स्वास्थ्य कार्यालय काठमाडौं निमित्त प्रमुख वसन्त अधिकारीले नगरपालिकाहरूले तथ्यांक उपलब्ध नगराएकाले माग गर्न नसकेको दाबी गरे । ‘आर्थिक वर्षको अन्त्यतिर भएकाले अन्य कामकाजमा व्यस्त भइयो । अन्दाजी २०/३० हजार अपुग भएको थियो,’ उनले भने, ‘साउनको १० गतेबाट दोस्रो डोज लगाउन सुरु गर्नुपर्छ ।’ स्वास्थ्य सेवा विभागको भ्याक्सिन वितरण शाखा प्रमुख बडेबाबु थापाले पहिलो मात्रा लगाउन नपाएकाहरूलाई प्राथमिकतामा राखेर खोप वितरण गरिने बताए । ‘खोप लगाउन छुटेकाहरूले नजिकैको वडा कार्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गरेर लगाउन सकिन्छ,’ उनले भने, ‘अर्को साताभित्र थप १० लाख डोज ल्याउने योजनाअनुरूप काम भइरहेको छ ।’

स्टक भएको र मागका आधारमा दोस्रो मात्रा लगाउन प्रदेश १ मा ४ लाख ३२ हजार, मधेसमा ५ लाख ४२ हजार ४ सय, वाग्मतीको मकवानपुर, चितवन, सिन्धुलीमा १ लाख ९६ हजार ८ सय, लुम्बिनीमा ४ लाख १७ हजार ६ सय, कर्णालीमा ६२ हजार ४ सय, सुदूरपश्चिममा २ लाख १६ हजार र गण्डकीमा १ लाख १५ हजार २ सय पठाएको विभागले जनाएको छ । थापाका अनुसार कास्कीबाट १५ हजार, मोरङबाट १० हजार गरेर खोप अपुग भएको भन्दै विभिन्न जिल्लाबाट १ लाख २७ हजार डोज थप माग भएको थियो । ‘धनुषा र सप्तरीमा अन्य खोप पठाउनुपरेन । दाङमा बर्दियाको स्टक खोप पठाउने व्यवस्था मिलाएको छु । काठमाडौंले किन माग गरेन थाहा भएन,’ उनले भने, ‘बसाइँसराइ र जन्मदर्ता नभएकाले सही तथ्यांक नहुँदा पनि कतिपय जिल्लामा बढी खोप स्टक बसेको देखिन्छ ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार खोप अभियान सुरु भएदेखि आइतबारसम्म ४ करोड ६७ लाख ४३ हजार ४ सय ९ जनाले खोप लगाइसकेका छन् । त्यसमध्ये एक मात्रामा १ करोड ९८ लाख ९३ हजार ८ सय ४८ र पूर्ण मात्रामा २ करोड ३ लाख ५२ हजार २ सय ३८ जनाले लगाइसकेका छन् । अतिरिक्त मात्रा ६४ लाख ९७ हजार ३ सय २३ जनाले लगाइसकेका छन् । मन्त्रालयका अनुसार १२ देखि १८ उमेर समूहका र वयस्कहरूमा बुस्टर डोज लगाउने निकै कम देखिएका छन् । हालसम्म ५ करोड ५५ लाख ८४ हजार ७ सय ७० डोज प्राप्त भइसकेको छ । स्टक भएकामध्ये भेरोसिल ४० लाख डोज छ । तर, सरकारले भेरोसिल वितरण भने गरेको छैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले विज्ञ समूहले निर्णय गरेपछि मात्र भेरोसिल वितरण गरिने बताए । ‘भेरोसिलभन्दा अन्य खोप धेरै मात्रामा स्टक छ,’ उनले भने, ‘कोभिड हटेको छैन, कम मात्र भएको हो । बालबालिकाबाहेक अन्य उमेर समूहकाले पनि बुस्टर अनिवार्य लगाउन अनुरोध छ ।’

प्रकाशित : असार २०, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?