कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवासँग कोइराला समूह सशंकित

पार्टीकै शक्ति सन्तुलनलाई व्यवस्थापन गर्नुको साटो गठबन्धनको बलमा मात्रै अघि बढ्न खोज्दा कांग्रेस कमजोर हुने कोइराला समूहको विश्लेषण

काठमाडौँ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको शक्ति सन्तुलनमा बेवास्ता गरेको भन्दै आलोचना गरिरहेको शेखर कोइराला समूह प्रदेशसभा र प्रतिनिधिसभा चुनावको टिकट वितरणप्रति पनि सशंकित बनेको छ । सैद्धान्तिक रूपमा चुनावी तालमेलकै पक्षमा भए पनि देउवाले ‘बलमिच्याइँपूर्वक’ टिकट वितरण गरेर आफूहरूलाई पाखा लगाउन सक्ने शंका कोइराला समूहले गरेको हो ।

देउवासँग कोइराला समूह सशंकित

देउवा पार्टीकै शक्ति सन्तुलनलाई व्यवस्थापन गरेर बृहत् एकता निर्माण नगरीकनै गठबन्धनको बलमा मात्रै अघि बढ्न खोज्दा कांग्रेस कमजोर हुने विश्लेषण कोइराला समूहको छ । राजधानीमा बिहीबार र शुक्रबार बसेको उक्त समूहको बैठकमा देउवाको कार्यशैलीमाथि खुलेर आलोचना भएको थियो । बैठकमा नेताहरूले आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा उम्मेदवार चयन गर्दा देउवा बहुमतको आडमा ‘एकलौटी’ ढंगले चल्न सक्ने चिन्ता प्रकट गरेका थिए ।

कांग्रेसका एक नेताका अनुसार दोस्रो कार्यकाल सम्हालेपछि देउवाले १४ औं महाधिवेशनका प्रतिस्पर्धी रहेका कोइरालाको अस्तित्व स्वीकार गरेका छैनन् । महाधिवेशनमा कोइरालाले पार्टी संगठनको ४० प्रतिशत मत प्राप्त गरेका थिए । पार्टीको वरीयता निर्धारण र टिकट वितरण गर्ने पार्टीको औपचारिक निकाय संसदीय समितिमा समेत कोइराला समूहको उपस्थितिलाई देउवाले महत्त्व दिएका छैनन् । स्थानीय तहको उम्मेदवार चयनका क्रममा नेता रामचन्द्र पौडेललाई संसदीय समितिमा मनोनयन गर्दा देउवाले कोइरालालाई समेटेनन् । राष्ट्रिय राजनीतिदेखि पार्टी सञ्चालनका गतिविधिमा समेत कोइराला समूहलाई उपेक्षा गर्दै आएकाले प्रतिनिधिसभा र प्रदेशको चुनावमा पनि एकलौटी हुन सक्ने कोइराला समूहको शंका छ ।

कोइराला समूहको आशंकालाई कांग्रेस प्रवक्ता प्रकाशशरण महत हतारोको संज्ञा दिन्छन् । उनले आसन्न चुनावमा एकपक्षीय रूपमा टिकट वितरण नहुने दाबी गरे । ‘महानगर र उपमहानगरको टिकट वितरण गर्दा शेखरजीलाई मिलाउनकै लागि ढिलाइ गरेरै निर्णय भएको थियो । प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा अहिल्यैदेखि यस्तो र उस्तो होला भनेर अनुमान लगाएर निष्कर्षमा पुग्नु ठीक छैन,’ उनले कान्तिपुरसँग भने, ‘अनावश्यक शंका गर्नुपर्दैन । अरू पार्टीलाई त मिलाएर जाने कुराकानी भइरहेका बेला आफ्नै पार्टीभित्र नमिलाउने कुरा कल्पना पनि गर्न सकिन्न ।’

कोइराला पक्षीय नेताका अनुसार निर्वाचनपछि पनि प्रधानमन्त्री बन्ने लक्ष्य बनाएर अघि बढेकाले देउवा आफ्नो समूहप्रति अनुदार बन्ने सम्भावना छ । पार्टीको एकल बहुमत आएको अवस्थामा बाहेक प्रधानमन्त्री हुन संसदीय दलको नेता नै बन्नुपर्ने कानुनी प्रावधान छैन् । कानुनी अड्चन नभए पनि संसदीय दलको नेता नै प्रधानमन्त्री हुने अभ्यास रहँदै आएको छ । ‘संसदीय दलको नेताबाटै पराजित भएपछि प्रधानमन्त्री हुने नैतिक धरातल रहँदैन, त्यसैले गठबन्धनको बलमा पार्टीलाई ठूलो बनाउने र पार्टीभित्र आफ्नो बहुमत जुटाउने हिसाबकिताबमा देउवा हुनुहुन्छ,’ दुई दिनसम्म चलेको बैठकमा कोइराला पक्षीय एक पार्टी पदाधिकारीको भनाइ थियो, ‘एकलौटी गर्न खोजियो भने हामी स्वीकार्दैनौं, निर्णयमा हस्ताक्षर गर्दैनौं र जबर्जस्ती गर्न खोजिए बरु टिकट नपाइएला तर त्यस्तो ज्यादती सहँदैनौं ।’

पार्टीका पदाधिकारी टिकट वितरण गर्ने संसदीय समितिको पदेन सदस्य हुने व्यवस्था छ । पार्टीका १४ पदाधिकारीमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र सहमहामन्त्री जीवन परियार मात्रै कोइराला समूहमा छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा यतिबेला पार्टीको दुवै कित्तामा छैनन् । तर मुद्दामा कोइराला निकट देखिएका छन् ।

एक्लै अघि बढ्ने कार्यशैलीलाई लिएर पार्टीभित्र चर्को आलोचना भइराख्दा देउवा भने नसुनेझैं गरिरहेका छन् । देउवा निकट नेताहरूका अनुसार उनको प्रमुख प्राथमिकता गठबन्धनलाई चुनावसम्म लैजानेमा केन्द्रित छ । ‘कांग्रेस प्रत्यक्षमा फेरि २३ हुने कि ८० हुने भन्ने हो, ८० हुने हो भने गठबन्धन बनाउनैपर्छ । अहिले उहाँको प्राथमिकता गठबन्धनमा कुनै जोखिम आउन नदिनेमा केन्द्रित छ,’ देउवा निकट एक नेताले भने । उनका अनुसार देउवाले असारभित्रै अमेरिका भ्रमण गर्ने भनेर अनौपचारिक तहमा तय भएको कार्यक्रम ढिलाइ हुनुका पछि गठबन्धनमा कुनै तलबितल परिहाल्छ कि भन्ने भय पनि कारण हो । ‘०७४ मा पनि अमेरिका भ्रमणमा गएकै बेला एमाले र माओवादीबीच गठबन्धन गर्ने समझदारी बनेको थियो । कम्तीमा माओवादी अध्यक्ष प्रचण्डलाई विश्वासमा नलिई उहाँले भ्रमण गर्नुहुन्न,’ उनले भने, ‘पार्टीभित्र शेखरजीले के भन्नुभयो, अरूले के भने, ६ महिनाभित्र विभाग गठन भयो कि भएन भन्ने जस्ता कुरासँग उहाँलाई त्यति चासो छैन । गठबन्धन जोगाउने, निर्वाचनको मिति घोषणा गर्ने र सिट बाँडफाँट कसरी टुंग्याउने भन्ने मुख्य गृहकार्यमा उहाँ लागिरहनुभएको छ ।’

कोइराला निकट नेताहरू भने गठबन्धनलाई भन्दा आफ्नै पार्टी मिलाउन प्राथमिकता दिनुपर्ने बताउँछन् । गठबन्धन हुने तर पार्टीभित्रको असन्तुष्टि व्यस्थापन नहुने हो भने कांग्रेसले चाहेजस्तो नतिजा ल्याउन नसक्ने उनीहरूको भनाइ छ । ‘पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन सक्दाका बखतमा मात्रै कांग्रेसले शतप्रतिशत लक्ष्य प्राप्त गर्न सक्छ, मिलाउन सकिएन भने ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ,’ कोइराला निकट सहमहामन्त्री बद्री पाण्डेले भने, ‘केन्द्रीय कार्यसमितिको बैठकमा घर मिलाउने कुरानै मुख्य हुनुपर्छ । त्यसपछि मात्रै गठबन्धनको बाटो तय गर्नुपर्छ ।’

अर्का नेता गोविन्द पोखरेलले कांग्रेसभित्र शक्ति सन्तुलन मिलाउन नसक्दा स्वतन्त्रहरूले लाभ लिन सक्ने परिस्थिति निर्माण भएको बताउँछन् । स्वतन्त्र समूहले देशभर नै अभियान लैजान खोजिरहेका बेला नेतृत्वले पार्टीभित्रै शक्ति सन्तुलनलाई बढी ध्यान दिन जरुरी भएको उनको बुझाइ छ । ‘केन्द्रका नेताले मुखको चोचोमोचो मिलाउँदैमा तलका कार्यकर्ताले मान्ने, संगठन परिचालन हुन्छ भन्ने देखिँदैन । विधि, विधान र प्रक्रियालाई लत्याएर नेतृत्वले मुख मिलाउँदैमा नतिजा राम्रो आउँदैन भन्ने प्रस्ट भइसकेको छ,’ उनले भने ।

प्रवक्ता महतले पार्टीमा सहज बहुमत हुँदाहुँदै पनि सहमतिबाटै जानुपर्छ भन्नेमा देउवा रहेको दाबी गरे । ‘अहिले उहाँले आफ्नो छुट्टै छलफलसमेत गर्नु भएको छैन,’ उनले भने, ‘पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा उपसभापति हुने व्यवस्था छ । पूर्ण खड्काजीलाई त्यसमा राख्दा अर्का उपसभापति धनराजजीलाई सोध्नुभएकै हो । भोलि टिकट वितरणमा पनि नसोधीकन गर्ने कुरा हुन्न ।’

प्रकाशित : असार २०, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?