कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
केन्द्रीय समितिमा दाहालको प्रतिवेदन

‘पाँच दलबाहिर पनि गठबन्धन’

स्थानीय निर्वाचनमा कांग्रेस इमानदार नभएको र एकीकृत समाजवादीले बढी दाबी गरेको निष्कर्ष
आगामी दिनमा गठबन्धनबारे पुनर्विचार गर्न नेतृत्वलाई प्रदेश अध्यक्ष र केन्द्रीय सदस्यको सुझाव
बबिता शर्मा

काठमाडौँ — माओवादी केन्द्रले प्रदेश र संघीय निर्वाचनमा पाँच दलबाहिर पनि गठबन्धन वा तालमेल गर्न सक्ने भएको छ । आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले ‘समाजवादी कार्यदिशा अंगीकार गर्ने शक्ति र व्यक्तिसँग सहकार्य गर्नुपर्ने’ प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

‘पाँच दलबाहिर पनि गठबन्धन’

अध्यक्ष दाहालले स्थानीय निर्वाचनमा भएको तालमेलको समीक्षासहित आसन्न निर्वाचनमा गठबन्धनको दायरा फराकिलो बनाउन सकिने रणनीतिक प्रस्ताव अघि सारेका हुन् । ‘समाजवादी कार्यदिशा अवलम्बन गर्ने पार्टी, शक्ति र व्यक्तित्वहरूको तत्कालको मोर्चा निर्माण आजको आवश्यकता हो । यसबाट तत्कालिक रूपमा निर्वाचनमा क्रान्तिकारी शक्ति एवं जनतालाई गोलबन्द गर्ने र दीर्घकालीन रूपमा समाजवादी वैकल्पिक क्रान्तिकारी धारको निर्माण हुनेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘केपी शर्मा ओली प्रवृत्तिको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्यत् प्रतिगामी प्रवृत्तिलार्ई पराजित गर्नेछ ।’ प्रतिवेदनमा ‘तत्काल प्रतिगामी र दक्षिणपन्थी शक्तिविरुद्ध तत्कालीन जिम्मेवारी संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता एवं संघीयतासहितको लोकतन्त्रमा सहमत शक्तिसँग गठबन्धनको नीति अख्तियार गरिने’ उल्लेख छ ।

प्रतिवेदनमा दाहालले स्थानीय निर्वाचनमा गठबन्धनका सहयात्री दलबारे पनि समीक्षा गरेका छन् । पाँचदलीय गठबन्धनको नेतृत्व तहमा भएका समझदारी र आवश्यकता महसुस स्थानीय तहमा हुन नसकेको उनको ठम्याइ छ । ‘कांग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन । जसको परिणाम रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्ला र तीबाहेक पनि हाम्रो पार्टीको बलियो उपस्थिति रहेका स्थानीय तहमा एमाले र अन्य दलसँग गठबन्धन गरी हामीलाई पराजित गर्ने वा कमजोर पार्ने घटना देखिए,’ प्रतिवेदनमा भनिएको छ ।

कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलको गठबन्धन बन्न नदिने, माओवादी र गठबन्धनका दल बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता घोषित नीति अपनाएको दाहालको प्रतिवेदनमा उल्लेख छ । कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा धेरै मत बदर भएको दाहालको निष्कर्ष छ ।

गठबन्धनको अर्को दल एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँटमा ठाउँ–ठाउँमा समस्या देखियो दाहालको प्रतिवेदनमा छ । त्यही कारण केही स्थानमा गठबन्धन नै पराजित बन्न पुगेको दाहालको निचोड छ । सत्ता सहयात्री अर्को दल जनता समाजवादी पार्टी आफ्नो आधार बलियो भएको तराई–मधेसमा गठबन्धनका लागि अनिच्छुक देखिएको दाहालले उल्लेख गरेका छन् ।

बैठकमा प्रदेश अध्यक्ष र केही केन्द्रीय सदस्यले स्थानीय चुनावमा कांग्रेस इमानदार नभएकाले आगामी दिनमा गठबन्धनबारे पुनर्विचार गर्न नेतृत्वलाई सुझाव दिएका छन् । दाहालले स्थानीय निर्वाचनमा भएको गठबन्धनका विषयमा सहयात्री दलको आलोचना गरे पनि परिणाम सन्तोषजनक रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘हाम्रो पार्टी मूल रूपमा गठबन्धनप्रति इमानदार देखियो भने कतिपय स्थानमा स्थानीय अन्तर्विरोध तथा स्थानीय नेतृत्वको व्यक्तिगत महत्त्वाकांक्षाका कारण कमजोरी पनि हुन गएका छन्,’ दाहालले भनेका छन्, ‘यी तमाम कारणका बाबजुत विगतको तुलनामा निर्वाचन परिणामलाई सन्तोषजनक नै मान्नुपर्छ ।’ संख्याका हिसाबले तेस्रो दल भए पनि राष्ट्रिय राजनीतिक एजेन्डामा माओवादी पहिलो स्थानमा रहेको दाबी दाहालको छ ।

दाहालले स्थानीय निर्वाचनमा गठबन्धन र पार्टीका तर्फबाट भएका कमजोरीलाई ८ बुँदामा औंल्याएका छन् । गठबन्धनप्रति आवश्यकताभन्दा बढी विश्वास गर्नाले आफ्नो तयारीमा फितलोपन देखिएको, गठबन्धन हुँदा उम्मेदवारका आकांक्षी बढी तर एकल प्रतिस्पर्धा गर्नुपर्दा अरुचि देखा परेको, प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमा गठबन्धन हुनु तर वडा तहमा एकल प्रतिस्पर्धा गर्नुपर्दा चुनावी प्रचार र एकीकृत परिचालनमा तालमेल मिलाउन नसकिएको निष्कर्ष दाहालको छ ।

व्यक्तिकेन्द्रित वा निश्चित पालिकाकेन्द्रित तालमेलको प्रयत्न गर्नु, लोकप्रियभन्दा आफूनिकटलाई उम्मेदवार बनाउन जोड गर्नु, आफू वा आफूनिकटकाले उम्मेदवारी नपाउँदा असहयोग गर्न वा हराउन उद्यत् हुनु, पैसा खर्च गरेर मतदाता किन्नेजस्ता प्रतिस्पर्धी दलहरूमा विकृतिका रूपमा देखा परेको प्रवृत्ति रोक्न नसक्नु र कतिपय स्थानमा पार्टीभित्रको गुटबन्दी, असहयोग एवं अन्तर्घातसम्मका गम्भीर कमजोरी र घटना देखा पर्नुलाई पनि दाहालले कमजोरीका रूपमा उल्लेख गरेका छन् । उनले आगामी निर्वाचनमा गठबन्धन नहुँदा पनि आफ्नो शक्ति र संगठनमा भर परेर उम्मेदवार बन्न तयार हुने, गुट उपगुट वा निकटताका आधारमा नभई लोकप्रिय उम्मेदवारमा ध्यान दिनुपर्ने शिक्षा स्थानीय तहको निर्वाचनले दिएको दाहालले उल्लेख गरेका छन् ।

दाहालले आगामी निर्वाचनको तयारीका लागि सात प्रस्ताव तय गरेका छन् । संघ र प्रदेशमा जनसहभागितासहित चुनावी प्रतिबद्धतापत्रको तयारी गर्ने, संघीय तथा प्रदेश निर्वाचन क्षेत्रको तथ्यांक संकलन र विश्लेषण गर्ने, संयुक्त मोर्चा, गठबन्धनमा सहभागी दल र विपक्षीको अवस्था अध्ययन गर्ने, निर्वाचन क्षेत्र आधारित संगठन परिचालन, स्थिति आकलन र जनताको अपेक्षाका आधारमा निर्वाचनमा विजयी बन्ने रणनीति बनाउने दाहालको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक सम्भावित उम्मेदवारहरूको सूची तयार गर्ने र दक्षिणपन्थी र प्रतिगामी शक्तिलाई पराजित गर्ने ढंगले चुनावी रणनीतिको तयारी गर्ने प्रस्ताव दाहालले केन्द्रीय समितिमा बैठकमा पेस गरेका छन् ।

पदाधिकारी चयनको सम्भावना कम

केन्द्रीय समिति वैठकमा पदाधिकारी चयन पनि एजेन्डा छ । तर माओवादी नेता शक्ति बस्नेतका अनुसार जारी बैठकले पदाधिकारी चयन गर्ने सम्भावना कम छ । महाधिवेशन सकिएको ६ महिना बित्दा पनि माओवादीमा अध्यक्षबाहेकका पदाधिकारी छैनन् ।

विभिन्न दलसँग एकताका लागि भइरहेका वार्ता, आसन्न निर्वाचनमा पार्न सक्ने असर र आन्तरिक विवाद बढ्न सक्ने भयले दाहाल अहिले पदाधिकारी नटुंग्याउने सोचमा छन् । ‘निर्वाचन अगाडि नै एकीकृत समाजवादी र जसपाबाट अलग हुन चाहेका बाबुराम भट्टराईको पार्टीसँग एकताको सम्भावना कायमै छ । यस्तोमा अहिले नै पदाधिकारी बनाउँदा एकता जटिल हुन सक्छ भन्ने अध्यक्षको बुझाइ छ,’ दाहालनिकट एक नेताले भने,

‘पदाधिकारी बनाउँदा चुनावको मुखमा पार्टीभित्र विवाद बढ्न सक्छ भन्ने अध्यक्षलाई लागेको छ ।’ आइतबारको बैठकमा प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्दा अहिले नै पदाधिकारी टुंग्याउनुपर्ने धारणा राखेका थिए । बैठकले पोलिटब्युरो र स्थायी समिति भने बनाउने भएको छ । दाहालले पूर्वस्थायी समिति सदस्यहरूसँगको परामर्शमा स्थायी र पोलिटब्युरो सदस्य प्रस्ताव गर्ने तयारी छ ।

प्रकाशित : असार २०, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?