कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सांसदलाई सुनको औंठी !

पूर्वाधार विकास कोष र प्रदेश मन्त्रालयबाट बजेट दिलाएबापत महँगो उपहार
अवधेशकुमार झा

राजविराज — निर्वाचन क्षेत्र विकास कार्यक्रम र प्रदेश मन्त्रालयबाट बजेट दिलाइदिने सांसदसहित ६ जनाले उपहारमा सुनको औंठी लिएका छन् । सप्तरीको राजविराजस्थित सामुदायिक संस्था साह सेवा सदनले भवन निर्माणका लागि बजेट दिलाउन भूमिका खेलेको भन्दै दुई प्रदेश सांसदसहित ६ जनालाई महँगो उपहार दिएको हो ।

सांसदलाई सुनको औंठी !

प्रदेश सांसद मनीषकुमार सुमन र नेत्रविक्रम साहसहित ६ जनाले सुनको औंठी उपहार पाएका हुन् । साह सेवा सदनको धर्मशालाको पहिलो तला उद्घाटनका अवसरमा प्रदेश सांसदद्वय सुमन र साहसहित आयोजक संस्थाका अध्यक्ष दुर्गाप्रसाद साह, संस्थापक अध्यक्ष रामचन्द्र साह, तेली कल्याण समाजका केन्द्रीय अध्यक्ष शैलेन्द्रकुमार साह र पूर्वसांसद जगदीश साहलाई औंठी उपहार दिँदै सम्मान गरिएको हो ।

प्रत्येकलाई साढे ५ आना तौलको औंठी दिइएको हो । साह सेवा सदन राजविराजका अध्यक्ष दुर्गाप्रसाद साहले ६ जनालाई दिइएको सुनको औंठीको मूल्य २ लाख ५० हजार रहेको बताए ।

प्रदेश सांसद साहले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट ५० लाख रुपैयाँ साह सेवा सदनको धर्मशाला निर्माणका लागि दिएकाले सम्मान गरिएको अध्यक्ष साहले बताए । यस्तै, प्रदेशका मन्त्रालयबाट बजेट दिलाउन भूमिका खेलेकाले सांसद सुमनलाई सम्मान गरेको उनको भनाइ छ । अन्य चार जनाले संस्थाको भवन निर्माणमा सहयोग गरेको उनले बताए । ‘उद्घाटनमा बोलाइएको थियो । सम्मानका लागि भनेपछि सुनको औंठी दिनुभयो । ग्रहण गर्नैपर्‍यो,’ प्रदेश सांसद साहले भने ।

अर्का प्रदेश सांसद सुमनले आफूले सदनको धर्मशाला बनाउन मन्त्रालयबाट बजेट व्यवस्थापनमा सहयोग गरेको बताए । ‘सम्मान गर्न बोलाउनुभयो । औंठीसमेत दिनुभयो,’ सुमनले भने, ‘उपहार त महँगै भयो । तर सम्मान गरेपछि लिनैपर्‍यो ।’ साह सेवा सदनको पहिलो तला निर्माणका लागि सांसद साहले ५० लाख, सामाजिक विकास मन्त्रालयले ४० लाख, पूर्वाधार विकास मन्त्रालयबाट २५ लाख र राजविराज नगरपालिकाबाट ५ लाख सहयोग प्राप्त भएको अध्यक्ष साहले बताए । उक्त रकमबाट १० कोठा, एउटा सानो हल, चार अट्याच शौचालय र बाहिर चारवटा शौचालय निर्माण गरिएको छ ।

प्रकाशित : असार २०, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?