कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बजेट भए पनि कान्तिले मेसिन नकिन्दा बिरामीलाई ‘होल ब्लड’

‘होल ब्लड’ चढाउँदा बिरामीको शरीरमा आइरनको मात्रा बढ्नुका साथै मधुमेह, मुटु र पाचन प्रक्रियासम्बन्धी समस्या हुने चिकित्सकको भनाइ
प्रशान्त माली

काठमाडौँ — कान्ति बाल अस्पतालमा बिरामीलाई रगतको संरचना (कम्पोनेन्ट) नछुट्याई सिधै ‘होल ब्लड’ चढाउने गरिएको छ । बिरामीलाई प्लाज्मा, आरबीसी, डब्लूबीसी र प्लेटलेट्समध्ये जुन आवश्यक हो, त्यो मात्र चढाउनुपर्ने हुन्छ तर अस्पतालले रक्तदाताबाट संकलित रगत सोझै बिरामीलाई चढाउने गरेको छ । रक्तदाताले दान गरेपछि ‘कम्पोनेन्ट’ नछुट्याइएको रगतलाई ‘होल ब्लड’ भनिन्छ ।

बजेट भए पनि कान्तिले मेसिन नकिन्दा बिरामीलाई ‘होल ब्लड’

अस्पतालले ‘होल ब्लड सेप्रेसन मेसिन’ खरिदमा ढिलाइ गर्दा शरीरमा रगत अभावका कारण उपचारमा आउने र अप्रेसनका बिरामी मर्कामा परेका छन् । ‘होल ब्लड’ चढाउँदा बिरामीको शरीरमा आइरनको मात्रा बढी हुने, मधुमेह, मुटु र पाचन प्रक्रियासम्बन्धी समस्या हुने चिकित्सकहरू बताउँछन् । काठमाडौं महानगरपालिकाले ०७७/७८ कै बजेटमा मेसिन खरिद गर्नका लागि अस्पताललाई एक करोड रुपैयाँ बजेट दिएको थियो । अस्पताल र महानगरपालिकाबीच सम्झौता पनि भयो तर बजेट फ्रिज भयो । महानगरले यो आर्थिक वर्षका लागि पनि पुनः बजेट दियो तर अस्पतालले आर्थिक वर्ष सकिन लाग्दासमेत मेसिन खरिद गर्न सकेको छैन ।

अस्पतालका अनुसार दैनिक सरदर आठ जनाको अप्रेसन हुने गर्छ । रगत चढाउनुपर्ने बिरामी दैनिक १६ जनाजति आउने गर्छन् । अस्पतालमा रगतको संरचना नछुट्याई बिरामीलाई चढाइने थाहा पाएका कतिपय बिरामीका आफन्तले भने अस्पतालबाहिरका ब्लड बैंकमा पुगेर रगत ल्याउने गरेका छन् ।

काठमाडौं महानगर स्वास्थ्य विभागका सहायक निर्देशक ज्ञानबहादुर ओलीले अस्पताल निर्देशकलगायत प्रशासनको बेवास्ताका कारण मेसिन खरिद हुन नसकेको बताए । ‘हामीले पटक–पटक ध्यानाकर्षण गरायौं । खरिद गर्ने आश्वासन पनि दिए तर खरिद प्रक्रिया नै अगाडि बढाएनन्,’ उनले भने, ‘अब उक्त मेसिन कान्तिलाई आवश्यक नपरेको ठानेको छु ।’

कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौला भने पूर्वनिर्देशकहरूले पदभार छोड्दा आफूलाई यसबारेमा जानकारी नदिएको भन्दै पन्छिए । ‘म फागुनमा बल्ल आएको हुँ । ब्लड सेप्रेसन मेसिन खरिद गर्न बजेट विनियोजित गरेको बारेमा कसैले पनि जानकारी गराएन,’ उनले भने, ‘अहिले आर्थिक वर्ष सकिन लागेकाले खरिद प्रक्रिया अगाडि बढाउन सम्भव भएन । अर्को आर्थिक वर्षमा बजेट छुट्याएमा जसरी भए पनि खरिद गर्छौं ।’ कान्तिका पूर्वनिर्देशक डा. आरपी बिच्छाले पनि आफूलाई यसबारेमा जानकारी नभएको दाबी गरे । ‘ब्लड सेप्रेसन मेसिन खरिद गर्न बजेट छुट्याएको बारेमा बिर्सिसकेको छु,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले बजेट विनियोजित हुँदा पनि खर्च गर्न नसक्ने कान्तिको कार्यसम्पादन मूल्यांकन गरिने बताए । ‘कर्मचारीको कमजोरीका कारण बिरामी मर्कामा पर्न दिनु हुँदैन,’ उनले भने, ‘यसमा क–कसको कमजोरी हो सच्याउन आग्रह गर्छौं ।’

स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य अस्पताल प्रशासन र नियमनकारी निकायको गम्भीर लापरबाहीले बिरामी मर्कामा पर्दै आइरहेको बताउँछन् ।

‘मेसिन नहुँदा ब्लड बैंक धाउनुपर्ने अर्को समस्या छ । उपचारमा आउने दुर्गमका न्यून आय भएका बिरामी काठमाडौं बसाइ लम्बिँदा थप मर्कार्मा छन्,’ उनले भने, ‘रगतजस्तो संवेदनशील अमूल्य वस्तुमा पनि गम्भीरता देखिएन ।’ लापरबाही गर्ने कर्मचारीलाई कारबाही नहुँदासम्म सुधार नहुने उनले बताए ।

ब्लड सेप्रेसन मेसिन नहुँदा अस्पतालमा संकलित रगत पनि खेर जाने गरेको छ । अस्पतालका अनुसार वयस्कलाई भन्दा बालबालिकालाई रगत कम मात्रामा उपयोग हुन्छ । अस्पतालमा मेसिन भएमा आवश्यकताका आधारमा ब्लडका कम्पोनेन्ट छुट्याउन सकिने कान्तिका प्याथोलोजिस्ट डा. निरा पाठकले बताइन् । उनका अनुसार एक पिन्ट रगतमा ४०० एमएल हुन्छ । ‘मेसिन भएमा आवश्यकताका आधारमा ५० एमएल, १०० र २०० एमएल पनि छुट्याउन सकिन्छ,’ उनले भनिन्, ‘यसले खेर जाने रगत केही हदसम्म बचाउन सकिन्छ ।’

चिकित्सकका अनुसार होल ब्लडको आयु ३५ दिन हुन्छ । आरबीसी ४२ दिन, प्लेटलेट्स ३ देखि ५ दिन र प्लाज्मा ३ सय ५० दिनसम्म प्रयोग गर्न सकिन्छ । कान्तिका ब्लड बैंकका टेक्निसियन सुदीप महर्जनले बिरामीका आफन्तका कारणले पनि कतिपय रगत खेर जाने गरेको बताए । ‘कतिपयको केसमा बिरामीले ल्याएको ब्लड उनीहरूको अनुमतिबिना अरूलाई चढाउन नमिल्ने हुन्छ,’ उनले भने, ‘त्यस्ता ब्लड खेर जान्छन् ।’ ब्लड सेप्रेसन मेसिन त्रिवि शिक्षण अस्पताल, नेपाल रेडक्रस सोसाइटी र केही निजी अस्पतालमा बाहेक अन्य सरकारी अस्पतालमा छैन ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक दिव्यराज पौडेलले रगत खेर जान नदिन पटक–पटक सरोकारवालासँग छलफल गरिरहेको दाबी गरे । ‘अस्पतालमा ब्लडसम्बन्धी हेर्ने छुट्टै एकाइ नभएर पनि समस्या दोहोरिएको हो,’ उनले भने, ‘सरकारी निकायको अनुगमन फितलो र कारबाही नहुँदा समस्या निम्तिएको हो ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले अस्पताल व्यवस्थापनको कमजोरीका कारण रगत खेर जाने गरेको बताइन् । ‘प्रयोगमा नआएको रगत फिर्ता पठाउने वा अन्य बिरामीका लागि प्रयोग गर्ने भन्ने विषय अस्पताल प्रशासनले मिलाउन सक्नुपर्छ,’ उनले भनिन्, ‘अब रगत खेर जान नदिन प्रविधिमार्फत निगरानी गर्ने तयारीमा छौं ।’ उनले कारबाहीका लागि छुट्टै कानुन नहुँदा पनि अनुगमन प्रभावकारी नभएको बताइन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले अस्पतालहरूले माग र आपूर्तिको तालमेल मिलाउन नसक्दा रगत खेर जाने गरेको बताए । रगत खेर जाँदा सबभन्दा बढी नियमित रगत चढाउनुपर्ने ब्लड क्यान्सर, थालेसिमिया (शरीरमा जन्मजात रगत नबन्ने), डायलसिस, आईटीपी (सेतो ब्लड कम बन्ने), एप्लास्टिक एनिमिया (सेतो, रातो कुनै पनि ब्लड नबन्ने) रोगका बिरामी मर्कामा छन् । नेपाल थालेसिमिया सोसाइटीकी स्वयंसेविका सरिता बुढाथोकीले रगत खेर जान नदिन सरोकारवाला निकायले अनुगमन गर्नुपर्ने बताइन् । उनी २५ वर्षदेखि छोरीको थालेसिमियाको उपचार गराउँदै आएकी छन् ।

प्रकाशित : असार २०, २०७९ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?