१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पार्टीमा ‘भागबन्डा’ माग्न शेखरलाई दबाब

प्रकाश धौलाकोटी

काठमाडौँ — १४ औँ महाधिवेशनमा सभापति पदमा पराजित भएपछि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशभरिबाट आएका प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्दै भनेका थिए, ‘भागबन्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौं, नयाँ ढंगले पार्टी रुपान्तरणको काम गर्छौं ।’ महाधिवेशनमा ४१ प्रतिशत मत पाएका कोइराला अहिले पार्टीभित्र प्रतिपक्षी समूहको नेता बनेका छन् ।

पार्टीमा ‘भागबन्डा’ माग्न शेखरलाई दबाब

तर, उनको भूमिकालाई लिएर उनीनिकट नेताहरूले नै प्रश्न उठाउन थालेका छन् । महाधिवेशनमा ४१ प्रतिशत मत पाएकोमा त्यही हिसाबले पार्टीमा हिस्सा पाउनुपर्ने र त्यसका लागि सभापति शेरबहादुर देउवासँग बार्गेनिङ गर्नुपर्ने भन्दै नेताहरूले कोइरालामाथि दबाब बढाएका हुन् ।

अहिले महाधिवेशन सकिएको छ महिना बितेको छ । यो अवधिमा सभापति देउवाले पार्टीमा विधानबमोजिम गर्नुपर्ने काम नै गरेका छैनन् भने जे जेति काम गरेका छन्, ती सबै एकलौटीरुपमा मात्रै गरेका छन् । कोइराला समूहलाई खुम्च्याएरै अघि बढ्ने देउवा रणनीति छ । महाधिवेशनपछि पार्टीको कामकारबाहीबारे समीक्षा गर्न कोइरालाले हालै गरेको गुटको बैठकमा नेताहरूले सभापति देउवासँग गुटको नेतृत्व र पदाधिकारीहरूले बलियो प्रस्तुति गर्न नसकेको भन्दै असन्तुष्टिसमेत पोखेका छन् ।

बैठकमा कोइरालाले सभापतिले विधानबमोजिम काम नगरेको, सानो गुटको घेराभित्र घेरिएको र एकलौटीरुपमा पार्टी सञ्चालन गरेको बिफ्रिङ गरेका थिए । केन्द्रीय समितिका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सहमहामन्त्री जीवन परियारसमेत सहभागी बैठकमा त्यसपछि बोल्ने नेताहरूले पार्टीभित्र प्रतिपक्षीको भूमिका बलियो नभएको भन्दै प्रश्न उठाएका थिए । त्यसक्रममा केन्द्रीय सदस्य मनोनयनदेखि भ्रातृ संस्थाको नेतृत्व चयन र स्थानीय तह निर्वाचनमा टिकट वितरणसम्म संस्थापन पक्षले एकलौटी गरेको आक्रोश नेताहरूले नेता कोइराला र महामन्त्री थापामाथि पोखे ।

देउवाको कार्यशैलीमाथि प्रश्न गर्न बोलाएको बैठकमा आफैंमाथि प्रश्न तेर्सिएपछि कोइराला र थापाले पनि देउवाविरुद्व चर्को अभिव्यक्ति दिए । बैठकले पार्टीमात्रै होइन, चुनावको सम्मुखमा कांग्रेसकै नेतृत्वको सरकारतर्फ समेत गम्भीर प्रश्नहरू उठायो । कांग्रेस नेतृत्वको गठबन्धन सरकारले नौ महिनासम्म काम गर्दा नागरिकको जनजीवनलाई छुन नसकेको कोइराला पक्षको ठहर छ ।

बैठकमा पूर्वकेन्द्रीय सदस्य हृदयराम थानीले नेता कोइरालालाई लक्षित गर्दै गुटमात्रै चलाउने कि भागबन्डा नि माग्ने ? भन्दै प्रश्न गरेका थिए । युवा नेताहरू भुपेन्द्रजंग शाही, मनोजमणि आचार्यलगायतले पनि गुट चलाउने भए भागबन्डा माग्नुपर्ने, नभए कार्यकर्ता जोगाउन नसकिने बताएका थिए । ‘गुट पनि चलाउने भन्ने अनि भागबन्डा नमाग्ने पनि भन्ने, कार्यकर्तामाथि ज्यादति भएको छ, यस्तो बेला पनि नबोल्ने । यसरी कसरी गुट चल्छ ?,’ थानीको प्रश्न थियो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नेता कोइराला र पदाधिकारीको भूमिकामाथि थुप्रै नेताहरूले प्रश्न उठाएको बताए । ‘बैठकमा संस्थापन पक्षको दबदबाविरुद्ध चर्को आवाज उठ्यो । पार्टी नेतृत्वको सरकार छ, तर आफ्नो पार्टीको सरकार भएको महसुस भएन । एकातिर चुनावमा टिकट वितरणमा न्याय भएन भने अर्कोतिर फरक गुट भएकै कारण अन्तर्घात भन्दै कारबाही सुरू भएको छ,’ ती नेताले भने, ‘बास्तवमा देशभरि संस्थापन पक्षको अत्याचार छ । यस्तो अवस्थामा पनि नेतृत्वले कुनै एक्सन लिएन भन्ने नेताहरूको गुनासो थियो ।’

ती नेताका अनुसार बैठकमा नेता कोइरालाले गुट चलाउने भए भागबन्डा अनिवार्य माग्नुपर्छ भन्ने विषय उठ्यो । ‘गुट चलाउने हो भने भागबन्डा माग्नुपर्‍यो, कार्यकर्तालाई न्याय दिलाउनुपर्‍यो । होइन भने सभापतिका अघिल्तिर हात उठाउनुपर्‍यो, त्यही ठीक हुन्छ,’ बैठकमा उठेको प्रसंग सुनाउँदै ती नेताले भने, ‘गुट चलाउने, तर भागबन्डा नमाग्ने भन्ने हुँदैन । कि गुटबन्दी नै नगरौं ।’ ती नेताले सभापति देउवा आफैं विगतदेखि भागबन्डा माग्दै पार्टीको नेतृत्वमा पुगेको भन्दै उनीसँग भागबन्डा नमागे नपाइने अवस्था हुने भनेका थिए ।

कतिपय नेताहरूले भने भ्रातृसंस्थामा समानान्तर समिति गठन गर्न माग गरेका थिए । नेताहरूले कोइरालाले गुटको नेताको रुपमा भूमिका निभाउन नसकेको र महामन्त्री थापा पनि सभापतिको सहयोगी बनेको जस्ता प्रसंगसमेत उठाएका थिए । ‘पार्टीमा सभापतिको मनलाग्दी छ । हामीले प्रतिपक्षीको सशक्त भूमिका निभाउन सकेनौं, प्रतिपक्षीको भूमिकामा हामी निरीह देखियौं,’ बैठकमा अर्का एक नेताले भनेका थिए ।

बैठकमा अधिकांश नेताको प्रश्न स्थानीय चुनावमा जस्तै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा टिकट वितरणमा एकलौटी हुन सक्ने भन्ने थियो । नेताहरूले अहिल्यै टिकट वितरण पारदर्शी बनाउन दबाब दिनुपर्ने भनेका थिए । सभापति देउवाले नेता कोइरालालाई नै टिकट वितरण गर्ने केन्द्रीय संसदीय समितिमा नराखेकाले नेताहरू सशंकित बनेको अर्का एक नेताले बताए ।

‘संसदीय समिति बनेको छ । तर, अपूरो छ । त्यहाँ ४१ प्रतिशत महाधिवेशन प्रतिनिधिले मानेको सभापतिसमेत हुनुहुन्न,’ बैठकमा उठेको प्रसंग ती नेताले इकान्तिपुरसँग भने, ‘एकलौटी टिकट वितरण हुने डरले सबैलाई सताएको रहेछ ।’

केन्द्रीय सदस्य गोविन्द पोखरेलले बैठकमा थुप्रै नेताहरूले भागबन्डाको विषय उठाए पनि त्यसबारे निर्णय नभएको बताए । ‘त्यो विषय उठ्यो, तर हामी अझै पनि भागबन्डा गर्नुहुँदैन, त्यो राम्रो होइन भन्ने पक्षमै छौं,’ पोखरेलले भने, ‘नेतृत्वबीच भागबन्डा हुँदा राम्रो मान्छे छुट्छ, सक्षम मान्छेलाई अन्याय हुन्छ, हामी पार्टीमा भागबन्डा होइन, सम्मानजनक भूमिका र अवसरको समन्यायिक वितरण चाहन्छौं ।’ उनले संस्थापन पक्षले एकलौटी गरे पार्टीमा नेता कार्यकर्ताले स्वत:स्फूर्त विद्रोह गर्ने अवस्था आउन सक्ने बताए ।

नेताहरूले उठाएका सवालहरूमा नेता कोइराला र महामन्त्री थापाले चर्को जवाफ फर्काए । ‘यो सुरूवाती हो, भर्खरै छ महिनामात्रै पुग्दैछ, हामी पार्टी सञ्चालनमा सभापतिलाई सहयोग गरेर अघि बढ्न चाहन्छौं,’ कोइरालाले महाधिवेशनलगत्तै आफूले भनेको दोहोर्‍याउँदै बैठकमा भनेका थिए, ‘हामीले गुटबन्दी वा भागबन्डा होइन, पार्टीलाई बलियो बनाउने गरी सहकार्य र समन्वय गरेर अघि बढ्न चाहन्छौं ।’

कोइरालाले अहिलेसम्म सभापति देउवाले पार्टीभित्रको सहकार्यभन्दा कम्युनिष्टसँगको गठबन्धनमा रुची देखाएको आरोप लगाए । ‘सभापतिजी पार्टीभित्रको एकताभन्दा कम्युनिष्टसँगको गठबन्धनमा धेरै रुचि राख्नुभएको छ । उहाँलाई पार्टी नै गठबन्धन हो भन्ने परेको छ, यो राम्रो होइन,’ उनले भनेका थिए ।

१४ औँ महाधिवेशनअघि संस्थापनइतर समूहको नेताको रुपमा रहेका रामचन्द्र पौडेल महाधिवेशनपछि देउवाकै सहयोगीका रुपमा छन् । पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीत्रय कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र शशांक कोइराला पनि देउवासँगै नरम छन् । त्यसो त संस्थापन पक्षकै नेताहरू पनि महाधिवेशनपछि पार्टीभित्रको प्रतिपक्षी आवाज मत्थर बनेको गुनासो गर्छन् ।

केन्द्रीय सदस्य नैनसिंह महर महाधिवेशनपछि पार्टीभित्रको प्रतिपक्षी आवाज मलिन बनेको बताउँछन् । ‘प्रतिपक्षी कमजोर अवस्थामा रहृयो, पार्टी सञ्चालनमा सशक्त प्रतिपक्षीको भूमिका आवश्यक हुन्छ, त्यो अहिलेको प्रतिपक्षीले गर्न सकेन,’ उनी भन्छन्, ‘हिजो प्रश्न उठाउने साथीहरू पनि अहिले खै के गर्दै हुनुहुन्छ ?’

महाधिवेशनपछि सभापति देउवाले केन्द्रीय समितिमा १३ नेतालाई केन्द्रीय सदस्य मनोनीत गरे । जबकि विधानले सभापतिलाई ३३ जना सदस्य मनोनयनको अधिकार दिएको छ । तर, अहिलेसम्म कोइराला पक्षका उपसभापति उम्मेदवार चन्द्र भण्डारी र महामन्त्री उम्मेदवार मिनेन्द्र रिजाल नै केन्द्रीय समिति बाहिर छन् । सभापति देउवाले पदाधिकारीबाहेक ११ सदस्य मनोनीत हुने केन्द्रीय संसदीय समितिमा रामचन्द्र पौडेललाई मात्रै मनोनीत गरेका छन् ।

स्थानीय निर्वाचनमा उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमाण्डर बनाएका देउवाले चुनावलगत्तै खड्कालाई नै पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनयन गरेका छन् । जबकि उही भूमिकामा रहेका कोइराला समूहका धनराज गुरुङ भने भूमिकाविहीन छन् । भ्रातृ संस्थाको नेतृत्व चयनमा पनि सभापति देउवाले आफ्ना बाहेकलाई समेटेका छैनन् । १३ भ्रातृ संस्थामध्ये अझै आठ वटा भ्रातृ संस्था विघटित अवस्थामा छन् ।

प्रकाशित : असार १९, २०७९ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?