१७ डिआइजीलाई दर्ज्यानी चिह्न- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१७ डिआइजीलाई दर्ज्यानी चिह्न

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सरकार (मन्त्रीस्तर) को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नतिपछि दर्ज्यानी चिह्न प्राप्त गर्ने डिआइजीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् ।

यसैबीच दर्ज्यानी चिह्न पप्त गरेपछि गृह मन्त्रालमया आयोजित एक समारोहका बीच बधाई र निर्देशन दिँदै मन्त्री खाणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वस्त रहेको बताए । प्रहरी अधिकृतहरूले सरकारले उपलब्ध गराएको सीमित स्रोतसाधन उपयोग गरेर उत्कृष्ट जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै यहाँले अहिले डिआइजी भएकाबाटै अबको नौ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कार्यसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोसिस गर्न पनि निर्देशन दिए ।

उनले बढुवाका लागि भन्दा उत्कृष्ट कार्यसम्पादनका लागि प्रतिस्पर्धा गर्न पदोन्नति भएका अधिकृतलाई निर्देशन दिए । नेपाल प्रहरीमा महिला नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारको रहेको पनि उनले बताए । अहिले प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १७ मध्य चार महिला छन् । यही असार ८ गते बढुवा सिफारिस समितिले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो ।


प्रकाशित : असार १९, २०७९ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मतीमा बेपत्ता दुई भारतीय नागरिक मृत भेटिए

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर १ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका बेला शनिबार दिउँसो वाग्मती नदीले बगाएर बेपत्ता दुई भारतीय युवक आइतबार मृत अवस्थामा भेटिएका छन् ।

सुरक्षाकर्मीले खोजीको क्रममा उनीहरूको शव आइतबार घटनास्थलबाट झण्डै १० किलोमिटर दक्षिणतर्फ नदी किनारमा फेला पारेको हो ।

भारतको सीतामाढी जिल्ला कोटबजार बस्ने २७ वर्षीय सुमन साह, ३० वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलु कुमार बीआर ०१ एचएफ ६६१९ नम्बरको कारमा पर्यटकीय नुनथर घुम्न आएका बेला पौडी खेल्ने क्रममा वाग्मतीले बगाएर बेपत्ता भएका हुन् । नदीले बगाएकै अवस्थामा सुमनलाई स्थानीयले तत्कालै उद्धार गरेका थिए । दुई जना मयक र गोलु कुमार बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र सन्तपुरस्थित सशस्त्र प्रहरी बेसबाट खटिएको सुरक्षाकर्मी टोलीले बेपत्ताको खोजी गर्ने क्रममा बृन्दावन नगरपालिका १ स्थित बलेरिखोर र चन्द्रपुर ९ को सिमाना टोकार भन्ने स्थानमा वाग्मती खोलाको बगरमा गोलु र मयकलाई मृत अवस्थामा फेला पारेको इलाका प्रहरीका डीएसपी सन्तु जैसवारले बताए ।

‘खोजी गर्दै जाँदा दुवै जनालाई घोप्टो परेको अवस्थामा फेला पारेका हौं,’ उनले भने, ‘घटनाबारे अहिले थप अनुसन्धान भइरहेको छ ।’

नुनथर क्षेत्र घुम्न आउनेहरू हरेक वर्ष वाग्मतीमा पौडी खेल्ने क्रममा बगाएर मृत्यु हुने क्रम बढ्दो छ । पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरमा रहेको नुनथर क्षेत्र घुम्न ठूलो संख्यामा भारतीयहरू आउने गर्छन् । उनीहरु नुनथरमा रहेको प्रख्यात झोलङे पुलमा पर्यटकहरू सेल्फी खिच्नुका साथै मोटरबोट चढेर रमाइलो गर्छन् । धेरैजसो नदीमा पौडी खेलेर आनन्द लिन यहाँ आउँछन् ।

प्रकाशित : असार १९, २०७९ १९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×