अब दक्षिण कोरियामा पनि सैनिक सहचारी

दक्षिण कोरियामा सैनिक सहचारी थपिएसँगै नेपाली सेनाको यूएन मुख्यालय र विभिन्न सात मुलुकमा सैनिक सहचारी रहने भएका छन्
जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले दक्षिण कोरियास्थित नेपाली राजदूतावासमा पनि नेपाली सेनाको सैनिक सहचारी राख्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आइतबार नेपालले दक्षिण कोरियामा सैनिक सहचारी राख्ने निर्णय गरेको जानकारी दिइन् । दक्षिण कोरियासँग सैनिक साझेदारी बढ्न थालेपछि नेपाली सेनाले सैनिक सहचारी राखिएको हो ।

अब दक्षिण कोरियामा पनि सैनिक सहचारी

अहिले नेपाली सेनाले अमेरिका, चीन, पाकिस्तान, बंगलादेश, बेलायत र भारतमा सैनिक सहचारी राखेको छ । यस्तै, न्यूर्योकस्थित संयुक्त राष्ट्र (यूएन) को मुख्यालयमा पनि सैनिक सहचारीको दरबन्दी छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०६१ साल असार २१ गतेको निर्णय अनुसार नेपाली सेनाको प्रचलन अनुसार विभिन्न मुलुकहरुमा रहेका नेपाली राजदुतावासमा नेपाली सेनाको तर्फबाट सैनिक सहचारी/सैनिक सल्लाहकारको रुपमा कार्यरत रहन जाने रथीवृन्द तथा अधिकृतहरुको छनोट प्रक्रियालाई सहज, सरल र व्यवस्थित गर्न नेपाली सेनाले सैनिक सहचारी/सैनिक सल्लाहकार छनोट सम्बन्धी कार्यविधि बनाएर लागू गरेको थियो ।

तत्कालीन प्रधानसेनापति गौरव शमशेर राणाको कार्यकालमा २०७१ साल जेठ ५ बाट लागू गरिएको सैनिक सहचारी/सैनिक सल्लाकार छनोट कार्यविधि–२०७१ बनाएका थिए । अहिले यूएन र अन्य ६ मुलुकमा गरी महासेनानीले सैनिक सहचारीको रुपमा काम गर्दै आएका छन् ।

सैनिक सहचारी भन्नाले विभिन्न मुलुकहरुमा रहेका नेपाली राजदूतावासमा कार्यरत रहन नेपाली सेनाको तर्फबाट खटिने वरिष्ठ सैनिक अधिकारीलाई जनाउँछ । सैनिक सल्लाहकार भनेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थानी नियोगमा कार्यरत रहने नेपाली सेनाको तर्फबाट खटिने वरिष्ठ सैनिक अधिकारीलाई जनाउँछ ।

नेपाल सरकारबाट निर्णय भएको अवस्थामा अन्य देशहरुमा समेत नेपाली सेनाबाट सैनिक सहचारी/सैनिक सल्लाहकार खटाउन सकिने व्यवस्था उक्त कार्यविधि अनुसार दक्षिण कोरियामा पनि सैनिक सहचारी थपिएको हो ।

कार्यविधिको परिच्छेद–२ को (४) मा नेपाली सेनाबाट सैनिक सहचारी/सैनिक सल्लाहकार खटाउँदा चीन र भारतमा खटाइने सैनिक सहचारीहरु सहायक रथी दर्जाका र अन्य राष्ट्रमा खटाईने सैनिक सहचारी तथा सैनिक सल्लाहकारहरु महासेनानी दर्जाका अधिकृतहरु मध्येबाट खटाइने व्यवस्था छ ।

कार्यविधिमा नोकरी, उमेर, तालिम तथा उपलब्ध कोटाले गर्दा भविष्यमा उपरथी दर्जामा पदोन्नती हुने सम्भावना नरहेको योग्य सहायक रथीहरूमध्येबाट सैनिक सहचारी छनोट गरिन्छ । सैनिक सहचारीको कार्यअवधि ३ वर्षको हुन्छ । उनीहरू सम्बन्धित कुटनीतिक मिसन अन्तर्गत रहेको नेपाली सेनाको मुख्यालयसँग समन्वय गरी काम गर्छन् ।

सैनिक सहचारी छनोट प्रक्रिया सम्बन्धी व्यवस्थामा उम्मेद्वार सिफारिस समिति गठन हुन्छ । उक्त समितिको अध्यक्षमा रथी हुन्छन् । सदस्यहरूमा निरीक्षण अधिकृत, कार्यरथी, व्यवस्था तथा यूद्धकार्य महानिर्देशक, सैनिक विनय महानिर्देशक र कमाण्डमा रहेको उपरथीहरूमध्ये प्रधानसेनापतिले तोकेका उपरथी तीन जना हुन्छन् । समितिको सदस्य–सचिवमा सैनिक सचिव हुन्छन् ।

सैनिक सहचारीको लागि छनोट परिक्षा पनि हुन्छ । सैनिक सहचारी उम्मेदवारले अंग्रेजी राम्रोसँग पढ्न, लेख्न र बोल्न सक्ने हुनुपर्नेछ । साथै, सिफारिस समितिले लिएको अंग्रेजीको मौखिक परीक्षा तथा कम्प्युटरको माध्यमबाट लिइने लिखित परीक्षा उत्तीर्ण गर्नुपर्नेछ ।

नेपाली सेनामा थप सैनिक सहचारी थपिए पनि हालसम्म नेपाल प्रहरीको तर्फबाट भने भारतमा बाहेक अन्य कुनै पनि प्रहरी सहचारीको दरबन्दी राखिएको छैन । नेपाली प्रहरीले नेपालीको रोजगार र वैदेशिक अध्ययनका गन्तव्य रहेका मुलुकमा प्रहरी सहचारी राख्नको लागि एक दशक अघिबाट गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

प्रहरीले गृहमार्फत गरेको प्रस्तावलाई सरकारले स्वीकृत दिएको छैन । अर्थ मन्त्राल र परराष्ट्र मन्त्रालय त्यस बारेमा सकारात्मक नभएको प्रहरीको गुनासो छ । प्रहरीले प्रस्तावमा खाडी मुलुकहरूसहित दक्षिण कोरिया, बहराइन, मलेसिया र चीन प्रहरी सहचारी राख्नको लागि प्रस्ताव गरेको थियो । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघ मुख्यालयमा पनि प्रहरीले आफ्नो सहचारी रहनु पर्ने प्रस्ताव गरेको थियो ।

प्रकाशित : असार १९, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?