कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

१५ दिनभित्र सबै जिल्लामा राहदानी पुग्छ : विभाग

नयाँ प्रणाली अनुसार अब ‘डमी आवेदन’ राख्न नपाइने

काठमाडौँ — राहदानी विभागले काठमाडौं उपत्यकाका जिल्लाहरू र काभ्रेमा एक साता तथा अन्य जिल्लाहरूमा १५ दिनमै राहदानी उपलब्ध हुने जनाएको छ ।

१५ दिनभित्र सबै जिल्लामा राहदानी पुग्छ : विभाग

विभागले आइतबार सूचना जारी गर्दै सेवाग्राहीहरूलाई जिल्लाबाटै राहदानी लिनको लागि प्रोत्साहन गरेको हो । एक व्यक्तिले जिल्लाबाट साधारण राहदानी लिँदा ५ हजार रुपैयाँ लाग्छ भने काठमाडौं आएर राहदानी विभागबाट सोही साधारण राहदानी लिनको लागि १२ हजार तिर्नुपर्ने हुन्छ ।

‘जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेकोले काठमाडौं उपत्यका भित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले एक साताभित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ,‘यसर्थ, अत्यन्त जरुरी परेका सेवाग्राहीहरूको राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनुहुन सेवाग्राहीमा अनुरोध छ ।’

राहदानी सेवालाई छिटो, छरितो र सरल तुल्याउन विभाग सधैँ क्रियाशील हुने पनि बताइएको छ । ‘सुरुमा २–३ महिनासम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल एक घन्टाभित्रै सेवा प्राप्त गर्न सक्ने प्रबन्ध मिलाइसकिएको छ,’ जारी सूचनामा भनिएको छ । विभागले सेवाग्राहीहरुको सहजताको लागि प्रत्येक दिन २४ सय जनाले अनलाइन फाराम भर्नसक्ने र फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आदेवन गरेपछि दुई कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

विभागले आफ्नो क्षमता अभिवृद्धि गर्ने, सबै जिल्ला प्रशासन कार्यालयहरू र १७ वटा इलाका प्रशासन कार्यालयहरूबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

विभागले विद्युतीय राहदानी प्रणालीमा समय सापेक्ष अद्यावधिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरेको जनाएको छ । विभागले अब अनलाइन फारम भर्दा ‘डमी आवेदन’ मा अर्थात् मिति लिएर नक्कली नाम हालेर फारम रोकेर राख्ने बाटोको अन्त्य गरेको छ । विभाग स्रोतका अनुसार विभागको कार्यालय रहेको स्थान त्रिपुरेश्वर वरपरका साइबरहरुले डमी डेटा प्रयोग गरी ६५ सय फारम रोकेर राखेका थिए । सुधार गरिएको प्रणालीमा भने डमी आवेदन राख्न पाइँदैन । आवेदनको लागि फारम भरेपछि अहिले नै टुंग्याउनु पर्ने हुन्छ, त्यसलाई पछि गएर पुन: सम्पादन गरेर अर्कै व्यक्तिको नाम राखेर भर्न मिल्दैन ।

विभागले हाल दैनिक रुपमा २४ सयले आवेदन दिने संख्या रहेको, राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य इर्मजेन्सी कार्यको लागि गरी दैनिक ५ हजार भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ । विभागले हाल दैनिक रुपमा ६५ सय राहदानी उत्पादन गरी वितरण गरिरहेको पनि जनाएको छ ।

प्रकाशित : असार १९, २०७९ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?