सरकारलाई ओलीको प्रश्न- हरेक साल किसानलाई चाहिने बेला मल आपूर्ति हुँदैन, यस्तो किन ?- समाचार - कान्तिपुर समाचार

सरकारलाई ओलीको प्रश्न- हरेक साल किसानलाई चाहिने बेला मल आपूर्ति हुँदैन, यस्तो किन ?

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष खेती गर्ने बेला किसानलाई मल किन आपूर्ति हुँदैन भनेर प्रश्न गरेका छन् । उनले यस वर्ष पनि सरकारले किसानका लागि मल ल्याउने व्यवस्था नगरेको बताए । 

अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले मलको प्रबन्ध नगरेपछि किसानले कसरी पाउँछन् भनेर असन्तुष्टि व्यक्त गरे ।

संसद्‌मा गरेको प्रतिबद्धता प्रधानमन्त्री शेरबहादुर देउवाले पूरा गर्न नसकेको पनि उनको भनाइ थियो । 'हामीले सरकार छोडेपछिको मात्रै हिसाब गर्दा मात्रै चामल कसरी आयात भयो ? कृषि प्रदान देश, ६० प्रतिशत जनता कृषिमा संलग्न छ । यस्तो अवस्थामा कृषि प्रदान देशमा, यस्तो उर्वर देशमा, जहाँ यति हिमाल, पहाड, उर्वर फाँट छन् । जहाँको जनसंख्या ३ करोडभन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बका आयात गर्छौं, चामलमात्रै,' उनले प्रश्न गरे, 'हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन, किन यस्तो हुन्छ ? यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ । त्यही कुरा ६ महिना अगाडिदेखि प्रयास गरे हुन्थ्यो नि ! अस्ति प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसद्‌मा उभिएर भन्नुभयो–किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिनेछ र किसानले मल पाउनेछन् । वाणी मिठो थियो । कुरा राम्रो थियो । तर, ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ ? अर्थात् अलमल्याउने काम भएको छ । अलमल्याउने कामबाट, छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन ।’

किसानका लागि मलको अभाव हुन नदिन सरकारले बेलैमा आवश्यक व्यवस्था गर्न नसकेको ओलीको भनाइ थियो ।

प्रकाशित : असार १८, २०७९ १७:११
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं उपत्यकामा थप ३ जनामा हैजा पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ३ जनामा हैजा पुष्टि भएको छ । असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो ।

हालसम्म काठमाडौंको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाे प्राविधिक टोलीको प्रारम्भिक अनुसन्धानले धारा तथा जारको पानी शुद्धीकरण नगरिकन प्रयोग गरिएको कारण हैजा देखिएको निष्कर्ष निकालेको थियो ।

चिकित्सकहरुका अनुसार हैजाबाट बच्न व्यक्तिगत सरसफाइ, खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्रै खाने तथा बासी खानेकुरा खानुहुँदैन ।

प्रकाशित : असार १८, २०७९ १७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×