स्वतन्त्र अभियानमा लागेका नेता भन्छन् - 'दलको विकल्प दलै हो' [भिडियो]- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वतन्त्र अभियानमा लागेका नेता भन्छन् - 'दलको विकल्प दलै हो' [भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार उठाउनुपर्ने अभियानमा सहभागीहरूले दलको विकल्प दल नै भएको बताएका छन् । उनीहरूले अहिलेका राजनीतिक दलका नेतृत्वमा रहेकाले सही किसिमले राज्य संचालन गर्न नसकेको तर दलीय व्यवस्थाको विकल्प अरु हुन नसक्ने धारणा राखेका हुन् । 

रविन्द्रकुमार श्रेष्ठ र सुमन सायमी ।

स्वतन्त्र उम्मेदवारीको अभियान चलाइरहेकाहरूको शनिबार ललितपुरमा सुरु भएको भेलामा उपस्थितले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको छुट्टै दल गठन गर्नुपर्नेबारे छलफल भइरहेको हो । दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा राजनीतिक दल गठन गरेर जाने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको काठमाडौं महानगरपालिकामा स्थानीय तह निर्वाचनमा मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीले बताए । 'संसदीय चुनाव नीति निर्माणका लागि हो । त्यहाँ बहुमतको कदर हुन्छ । एक व्यक्तिले नीति निर्माण र कानुन बनाउन सक्दैन । त्यै भएर दलको विकल्प दल नै हो भन्ने बुझ्नु जरुरी छ,' उनले भने, 'जनमानसमा वितृष्णा जागेको छ दलप्रति । दल एउटा माध्यम हो भन्ने पनि बुझाउन जरुरी छ । जनतालाई भ्रम भइरहेको छ, दल ठीक छैन, दलीय व्यवस्था ठीक छैन, यो व्यवस्था ठीक छैन भन्नु गलत हो भन्ने बुझाउन जरुरी छ ।'

सत्ता सञ्चालनमा रहेका राजनीतिक दलको नेतृत्व ठीक नभएकाले जनतामा वितृष्णा पैदा भएको उल्लेख गर्दै सायमीले त्यसमा गढेको त्यो धारणालाई चिर्नुपर्ने बताए । 'दल चलाउने नेतृत्वको चरित्र ठीक छैन भन्ने बुझाउन जरुरी छ । त्यसको लागि हामीले अहिले जुन समस्या आइरहेको छ, दलको विकल्प दलै हो,' उनले भने ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमामा स्वतन्त्रहरूको पनि एउटा दलको आवश्यकता छ भन्ने निष्कर्षका साथ आफू भेलामा सहभागी भएको रवीन्द्रकुमार श्रेष्ठले बताए । उनले प्रदेश र संघीय निर्वाचनमा राजनीतिक दल नै आवश्यक पर्ने बताए । त्यसका लागि सबैबीच छलफल गरी निष्कर्षमा जानुपर्ने उनको भनाइ थियो । ‘प्रदेश र संघको निर्वाचनमा एउटा दलको आवश्यकता छ, नयाँ विचारसहितको । देशको समस्या यो हो । यसरी निकास दिन सकिन्छ भन्ने विचारसहितका नयाँ दल चाहिन्छ भन्ने मेरो विचार छ । प्रदेश र संघको निर्वाचनमा अनिवार्य छ दल,' उनले भने ।

देशभरबाट स्थानीय तह निर्वाचनमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरू भेलामा सहभागी भएका छन् । ‘स्वतन्त्र उम्मेदवारी अभियान’को नाममा आयोजना गरिएको भेलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल गरिरहेको छ ।

प्रकाशित : असार १८, २०७९ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी प्रदेशका उद्योगको क्षमता उपयोग ५० प्रतिशत

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका उद्योगहरूको क्षमता उपयोग ५०.१८ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । कोभिड–१९ को असर विस्तारै कम हुँदै गएपछि लुम्बिनी प्रदेशका उद्योगहरूको क्षमता उपयोग बढेको बताइएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा आल्मुनियम उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग सबैभन्दा बढी शतप्रतिशत रहेको छ भने तोरीको तेल उत्पादन गर्ने उद्योगको सबैभन्दा कम २१.९३ प्रतिशत रहेको छ । उक्त अवधिमा आल्मुनियमको अत्यधिक माग बढेकाले ती उद्योगले सतप्रतिशत क्षमता उपयोग गरेको राष्ट्र बैंकले औंल्याएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा उद्योगको औसत क्षमता उपयोग ४९.२२ प्रतिशत थियो ।

यस्तै, चालु आर्थिक वर्षको ६ महिनामा लुम्बिनी क्षेत्रका उद्योगको उत्पादनहरूमध्ये बजार माग बढेको कारण सिन्थेटिक कपडा १९.९४ प्रतिशत र कागजको ६६.१६ प्रतिशतले बढेको छ । यस्तै, प्लाष्टिकका सामान ७.०७, सिमेन्ट ६३.१५, कंक्रिट ६.९३, फलामको छड तथा पत्ति ५६.४७ र बिजुलीको तार तथा केबल १४.५८ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा सीजीको नयाँ उद्योग रारा चाउचाउ फ्याक्ट्री सञ्चालनमा आएको कारण चाउचाउ उत्पादन ११.४७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, कच्चा पदार्थको सहज उपलब्धता नभएको कारण रोजिन उत्पादन ८.९४ प्रतिशत र बजारमा माग घटेको कारण मदिरामा २१.६९ प्रतिशतले ह्रास आएको बताइएको छ ।

लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योेगिक क्षेत्रमा प्रवाह गरेको औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा ०.७६ प्रतिशत र कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २८.६७ प्रतिशत कर्जा प्रवाह गरेका छन् । यस्तै, गैर–खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा ४०.६४ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २२.८७ प्रतिशत, विद्युत् ग्यास तथा पानी सम्बन्धी उद्योगमा ०.८७ प्रतिशत र धातुका उत्पादन मेसीनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा ६.१७ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित : असार १८, २०७९ १६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×