१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विवाह गर्नुपूर्व अब अनिवार्य रगत जाँच !

काठमाडौँ — पश्चिम तराईका थारु समुदायलाई वंशाणुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएपछि अनिवार्यरूपमा रगत जाँच गरेर विवाह कुण्डली मिलाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

विवाह गर्नुपूर्व अब अनिवार्य रगत जाँच !

थारु समुदायमा मात्र होइन अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको यो रोग रोकथामका लागि अनिवार्य रगत जाँच गर्न आग्रह गरिएको हो । यतिबेला बाँकेका थारू गाउँहरुमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छ्याप्छ्याप्ती बाँडिएको छ ।

भेरी अस्पताल बाँकेका मेडिकल विभागका प्रमुख तथा सिकलसेल, थालेसेमिया रोगका श्रोत व्यक्ति डा. राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ । ५० प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ ।

२५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने डा पाण्डेको भनाइ छ । सामान्यतया विवाह गर्दा चिना हेर्ने चलन छ तर थारू समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी बाहकहरु पत्ता लगाएर बाहक–बाहकबीच र बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर समुदायले स्वीकार्न जरुरी रहेको डा पाण्डे बताउँछन् ।

डा पाण्डे भन्छन्–‘अहिले रोग नदेखिए पनि उनीहरुबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको हो । यसबारे थारु समुदायलाई सचेत गराउन आवश्यकता छ ।’

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बिरामी र बाहक पत्ता लगाएर समुदायमा सचेतनाका जगाउने काम भइरहेको बताए । उनका अनुसार बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको र जाँच भइरहेको जनाए ।

सिकलसेल रोगको उपचारमा धेरै खर्च लाग्ने हुँदा यसका बिरामी तथा आफन्तहरु भने सरकारले बिरामीलाई बाँचुन्जेल निःशुल्क औषधि गर्नुपर्ने उनीहरुको माग छ । सिकलसेल रोगीका बिरामीका आफन्त रामकृष्ण थारुले यसको निःशुल्क उपचारको व्यवस्था मिलाइदिन माग गरे ।

सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्या भन्दै पश्चिमका अस्पतालहरुमा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत सिकलसेल एनिमियाका बिरामीलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ । भेरीमा औषधि खाइरहेका २० जनाको यो औषधिको सीमा सकिन थालेको छ ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तुलगायतका जिल्लाका थारु समुदायमा सिकलसेल रोगको समस्या देखिन्छ । यतिबेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन् । सिकलसेलका रोगको औषधि महँगो पर्छ ।सरकारले अत्यावश्यक औषधिको सूचीमा सिकलसेल रोगीको औषधि पनि राखेको छ । तर बीमामा भने समावेश गरिएको छैन । जसका कारण औषधिको सीमा सकिएका बिरामीले बीमाबाट सिकलसेलका लागि चाहिने औषधि पाउन सकेका छैनन् ।

भेरी अस्पतालमा दैनिक ३ देखि ७ जना थालेसिमियाका बिरामीहरुले रगत चढाउनुपर्ने अवस्था छ । स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पतालमा हप्तामा सोमबार र बिहीबार निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । उपचार गर्न आउने बिरामीका लागि बिरामीको कार्ड बनाएर वितरण गरिएको छ ।

प्रकाशित : असार १८, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?