कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षको समानान्तर कमिटी

काठमाडौँ — नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको असन्तुष्ट पक्षले समानान्तर समिति घोषणा गरेको छ । असन्तुष्ट पक्षले शनिबार काठमाडौंको बानेश्वर भेला गर्दै पवन कार्कीको संयोजकत्वमा विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको हो । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै संगठनको उपाध्यक्ष रहेका पवन कार्की नेतृत्वको समूहले अलग्गै समिति गठन गरेर राष्ट्रिय भेला बोलाएको हो । 

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षको समानान्तर कमिटी

संयोजक कार्कीले संगठनलाई कोही पनि व्यक्ति र समूहको निहित स्वार्थमा उपयोग हुन नदिन संगठन पनुर्निर्माण र पुनर्जागरणका लागि विशेष राष्ट्रिय भेला आह्वान गर्ने र अघि बढ्ने बताए ।

‘हाम्रो राष्ट्रिय सम्मेलनमा सबै साथीहरूको भावना आफ्नो नेता चुन्न पाउनुपर्छ भन्ने थियो । तर, विधान विपरीत पार्टी नेतृत्वले अध्यक्ष घोषणा गर्‍यो, सम्मेलन सकियो । सम्मेलनपछि जिम्मेवारी पाएको नेतृत्वले पनि विधानबमोजिम काम गर्न सकेन,’ कार्कीले भने, ‘यो संगठनमा हामीले गरेको योगदानलाई अवमुल्यन गर्ने काम भयो । जिम्मेवार साथीहरूसँग समेत छलफल नै नगरी केन्द्रीय कमिटी गठन र जिम्मेवारी बाँडफाँड भएको छैन । जसले उहाँहरूलाई भेटेर नमस्कार गर्‍यो, उसले भूमिका पायो, जसले गरेन, उनीहरूलाई बाहिर राख्ने काम गरिएको छ ।’

उनले संगठन भित्रका बेथिति सच्याउन पहल गर्दा पनि नेतृत्वले त्यसतर्फ चासो नदिएपछि आफूहरूले संगठन पुनर्निर्माणको अभियान थालिएको बताए ।

‘यो कसैको प्राइभेट कम्पनी होइन, जे मन लाग्यो, त्यही गर्नका लागि । हामीले पटक पटक नेतृत्वलाई खबरदारी गर्‍यौँ, तर सुनुवाई भएन,’ कार्कीले भने, ‘संगठनलाई निष्क्रिय बनाउने काम भयो, विद्यार्थीहरूको हक अधिकारकालागि लड्नुपर्ने संगठन विज्ञप्ति निकाल्ने काममा सीमित गरियो । हामीलाई त्यो स्वीकार्य भएन ।’

उनले हिजो जुन व्यवस्था र प्रवृत्तिकाविरुद्व लडेर संगठन बन्यो, अहिले नेतृत्वले नै त्यही चरित्र र प्रवृत्ति प्रस्तुत गरेको आरोप लगाए ।

भेलाले कार्कीको नेतृत्वमा १९९ सदस्यीय कमिटी गठन गरेको छ ।

यसअघि ५ असारमा बसेको केन्द्रीय समिति बैठकमा विवाद भएपछि अध्यक्ष पन्चा सिंहले ६ असारमा उपाध्यक्ष पवन कार्कीसहित प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी, पदम नेपाली लगायत १० जनालाई कारवाही गरेकी थिइन् ।

५ असारको बैठकमा कार्की पक्षका नेताहरूले विधिविपरीत काम गरेको भन्दै अध्यक्ष सिंह र विद्यार्थी इन्चार्ज हितमान शाक्यको राजीनामा मागेका थिए । त्यसपछि उनीहरुलाई बैठकबाट निकालिएको थियो ।

प्रकाशित : असार १८, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?