२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेकपा एकीकृत समाजवादीको वाग्मती संसदीय दलको बैठक बस्दै

काठमाडौँ — नेकपा एकीकृत समाजवादी वाग्मती प्रदेश संसदीय दलले सत्ता साझेदार दलहरुले मुख्यमन्त्री परिवर्तनका लागि दबाब बढाए पछिको परिस्थितिको बारेमा छलफल गर्न शनिबार बैठक बोलाएको छ ।

नेकपा एकीकृत समाजवादीको वाग्मती संसदीय दलको बैठक बस्दै

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पूर्व सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन दबाब दिएपछि त्यस विषयमा छलफल गर्नका लागि बिहान ११ बजे मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि उपस्थित हुने सम्भावना छ ।

'कांग्रेस र माओवादी केन्द्रका साथीहरुले प्रदेशमा भएको सहमतिअनुसार मुख्यमन्त्री पाउनु पर्ने बताउँदै आउनु भएको छ,' प्रदेश सांसद लक्ष्मण लम्सालले भने, 'केन्द्रमा पनि प्रदेशको जिम्मेवारी बाँडफाँटको विषयमा एक प्रकारको सहमति भएको छ ।' प्रदेशमा गरेको सहमति र संघमा गरेको सहमतिमा तालमेल देखिएन । लम्सालका अनुसार वाग्मती प्रदेशको नेतृत्व नेकपा एकीकृत समाजवादीले छाड्नु पर्ने हो भने अर्को कुन प्रदेशको नेतृत्व पाउने हो त्यो स्पष्ट हुनुपर्छ ।

अहिले सात प्रदेशमा सत्तारुढ ५ दलीय गठबन्धनको सरकार रहेको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी २-२ प्रदेशको नेतृत्व गरिरहेको छ भने जनता समाजवादी पार्टी (जसपा)ले एउटा प्रदेशको नेतृत्व गरेको छ ।

प्रदेश १ र वाग्मतीमा एकीकृत समाजवादी, मधेस प्रदेशमा जसपा, गण्डकी र कर्णालीमा कांग्रेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा माओवादीको नेतृत्व रहेको छ।

प्रकाशित : असार १८, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?