१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘हामीले गरिखान पनि नपाउने ?’

‘तिमीहरू दिनमा २/३ हजार कमाउँछौं मलाई दिन सक्दैनौं’ भन्थ्यो । पैसा नदिएपछि नगरप्रहरीले जहिले दुःख दिन थाल्यो । ’
‘नगरप्रहरीले मकै र गाडा लगेपछि दिनभरि रोयौँ । सडकछेउमा मकै पोलेर बेच्न पनि नपाउने भएपछि अब के चोर्न जानु ?’
मकर श्रेष्ठ

काठमाडौँ — सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य र उनकी पत्नी सीताले प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न र मौसमअनुसारका फलफूल बेच्न थालेको १४ वर्ष भइसक्यो । उनीहरु नगर प्रहरीलाई आफ्नो शत्रु ठान्छन् किनभने आफूले खाइनखाई जोडेका पाँचवटा गाडा तिनले उठाइसके । नगर प्रहरीले शुक्रबार उनको गाडा उठाएको भिडियो भने भाइरल बनेको छ । 

‘हामीले गरिखान पनि नपाउने ?’

नगर प्रमुख बालेन्द्र शाहको चुनावी घोषणापत्रमा उपभोग अवधि वा समयअनुसार खुला ठाउँमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने उल्लेख थियो । घोषणापत्र कार्यान्वयन गर्नुको सट्टा महानगरले सडक छेउमा मकै पोल्नेहरुलाई काम गरेर खान नदिएको भन्दै चर्को आलोचना भइरहेको छ । यस विषयमा कान्तिपुरले नगर प्रमुख शाहलाई बारम्बार सम्पर्क गर्दा पनि बोल्न चाहेनन् । उनले म्यासेजमा लेखे, ‘भोलि दिउँसो कुरा गरौंला है ।’

नगर प्रहरी प्रमुख धनपति सापकोटाले आचार्य दम्पतीले सडक नै ढाक्ने गरी मकैको व्यापार गरेको र नराख्न आग्रह गर्दा अपशब्द बोल्ने र प्रहरीलाई अगुल्टोले समेत हान्ने गरेकाले उठाएको बताए । साँझ बालुवाटारस्थित डेरामा पुगेर चेतेन्द्रसँग कान्तिपुरका मकर श्रेष्ठले गरेको कुराकानी उनकै शब्दमा :

अरू दिनजस्तै शुक्रबार बिहान पनि प्रधानमन्त्री निवास नजिकै पवित्र वर्कशप चोकमा ४ सय घोगा मकै झारें । बिहानभर काँचै बेचें । सानो घोगालाई ८ वटाको एक सय र ठूलोको २० रुपैयाँमा बेचें । १२ बजेसम्म १ हजार ७ सय रुपैयाँको बेचिसकेको थिएँ । दुई छोरालाई खाना खुवाएर नजिकैको सामुदायिक विद्यालय शिवपुरी मावि पठाएपछि श्रीमती सीता पनि आइन् । बिहानभरि काँचै मकै बेचे पनि दिउँसो १२ बजेपछि पोलेर बेच्छौं । यहाँ सबै बिक्री नहुने भएकाले पोलेर बेच्न टिचिङ र कान्ति अस्पताल वरिपरि जान्छौं । आजचाहिँ श्रीमती आगो बाल्दै थिइन्, आगो राम्ररी सल्किएको थिएन । त्यही बेला नगर पुलिस भित्री बाटोबाट लुकेर आए । पुलिस देखेपछि हस्याङफस्याङ गर्दै गाडा दौडायौं । उनीहरूले लखेटिरहे । हामी बूढाबूढी मात्रै थियौं । गाडा तानातान भयो । हाम्रो केहीसीप लागेन । १२ हजार रुपैयाँमा किनेको गाडा र सबै मकै लिएर गए । परसम्म दौडिँदै गयौं तर पार लागेन ।

लछारपछार गर्दा कति मकै सडकमा छरियो । बूढीलाई पनि चोट लाग्यो । गरिखाने गाडी र मकै नै लगेपछि अब के गरिखाने सोच्नै सकेका छैनौं । दिनभरि रोयौं । सरकारले गरिबलाई गरिखान पनि नदिने भयो । सडकछेउमा मकै पोलेर बेच्न पनि नपाउने भएपछि अब के चोर्न जानु ? गरिखान पनि नदिने भएपछि अर्को उपाय त हामीसँग छैन । दिनभर मकै बेचेर दुई छोरालाई काठमाडौंमा पढाइरहेका छौं । एउटा कक्षा नौ र अर्को कक्षा ८ मा पढ्दै छन् । बोर्डिङ पढाउन नसकेर सरकारीमा भर्ना गरेको छु । बोर्डिङमा पढाएको फिस तिर्नै बाँकी छ ।

सिन्धुपाल्चोकको मेलम्ची आचार्य टोलबाट १७ वर्षअघि काठमाडौं आएँ । गाउँमा बनाएको घर दुई पटक भत्किएपछि ऋण तिर्न सहर छिरेको हुँ । भूकम्पले गाउँको घर भत्किएपछि बनाउँदा ४० लाख ऋण छ । ऋण तिर्ने र छोराछोरी पढाउने आधार नै यही मकै बेचेर कमाउने थियो । त्यो पनि नगर पुलिसले खोसिदियो । आज मात्रै गाडा, मकै, ओदान, दाउरा गरी ३० हजारको सामान गुम्यो । नगर प्रहरीले यसरी गाडी लगेको पाँचौं पटक हो । महानगरले अहिलेसम्म मेरो गाडा र सामान गरी २ लाखको लगिसक्यो ।

सुरुमा गाउँबाट आएर जोरपाटीमा किराना पसल चलाएँ । पसलमा पनि घाटा लागेपछि फुटपाथको व्यापार राजें । ०६५ असोजदेखि यही ठाउँमा बसेर मकै बेचिरहेका छौं । दुई वर्ष त मासिक २० हजार भाडा तिरेर फलफूल पनि बेचें । घर नै बेचेपछि पसल सार्नुपर्ने भयो । अन्त कतै सटर नपाएपछि सबै सामान कोठामा थन्क्याएँ । त्यसपछि सडकमा मकै बेच्न सुरु भयो । मकै बेचेरै थलीमा जग्गा किन्न १० लाख रुपैयाँ बैना गरें । त्यो पैसा पनि फस्यो ।

घर बनाउँदा, छोराछोरी पढाउँदा, आमाबुबा पाल्दा लागेको ऋण मकै पोलेको पैसाले तिरिरहेको छु । एउटा फाइनान्सबाट डेढ लाख र अर्कोबाट २ लाख ऋण लिएको थिएँ । फाइनान्सको त्यो कागज पनि गाडासँगै लग्यो । गाडामा सय डेढ सय जम्मा गर्ने फाइनान्सको कागज पनि लग्यो । फलफूलको सिजनमा फलफूल पनि लग्ने गर्थे । यसपालि त नगर पुलिसले मागेको घूस नदिएरै मेरो गाडामा आँखा लगायो । नगरपालिकाको सइसाप हुनुहुन्छ । उहाँले ५ हजार माग्नुभएको थियो । हामीले दिएनौं । उहाँलाई दिने पैसाले त हाम्रो छोराछोरीलाई खुवाउन हुन्छ भन्ने ठान्यौं । हामीले पैसा नदिएपछि दुःख दिन थाल्यो । पैसा नदिएपछि उहाँले नै प्रहरी बोलाएको पो हो कि ! नगरपालिकाले लास्टै पेलिरहेको छ । मकै पोलेर बूढाबूढीले दैनिक २ हजार ५ सय कमाउँथ्यौं । मैले १५ सय र बूढीले १ हजार । मकैको सिजन नहुँदा साग बेच्थ्यौं ।

पहिला अलिअलि पैसा माग्थ्यो । दिन्थें । गाडा र सामान लाँदैनथ्यो । सडकमा व्यापार गर्नेलाई ५ सय लिँदो रहेछ । मलाई पनि ५ हजार मागेको थियो । ‘तिमीहरू दिनमा २/३ हजार कमाउँछौं मलाई दिन सक्दैनौं’ भन्थ्यो । पैसा नदिएपछि जहिले दुःख दिन थाल्यो । दुःख दिएपछि दुई दिनअघि त बूढीले नगर पुलिसलाई अगुल्टोले नै झोसिदिएछ । त्यो रिस पनि हुन सक्छ, हामीलाई देखिसहँदैन । कान्ति अस्पतालको गल्लीमा बस्दा लखेटेर सामाखुसी जाने ओरालोमा पुर्‍याउँथ्यो । कहिले महाराजगन्ज चोकमा पुर्‍याउँथ्यो । पैसा दिनेहरूलाई बस्न दिन्थ्यो । आमाको उपचार गर्न ल्याएको अस्पतालको ट्वाइलेटबाट लडेर बित्नुभयो । बुबा १४ वर्षदेखि हराउनुभएको अझै केही पत्तो छैन । गाउँमा घर बनाएको थिएँ, छाना छाएको भोलिपल्टै लड्यो । गाउँ फापेन भनेर काठमाडौं आएको हुँ ।

बालेन्द्र शाहले जित्दा अब काम गर्न पाउने भएँ भनेर आस लागेको थियो । जाम हुने ठाउँमा पसल गरेको हो भने चित्त बुझ्थ्यो । भित्री रोडमा पनि काम गर्न नपाउने ? कुनामा बसेर त मकै पोल्न दिनुपर्‍यो नि । हामीसँग पैसा भएको भए रोडमा आउने नै थिएनौं । मकै पोल्न पनि नदिएपछि छोराछोरीलाई कसरी पढाउनु ? जागिर खाऔं, दुवै जनाले पढेको छैन । १० हजारको जागिरले पुग्दैन । बालेन्द्र सरले जित्दा अब त गाडामा मकै बेच्न पाइएला भन्ने आशा पनि आजदेखि मर्‍यो ।

भोलि शनिबार त पुलिस आउँदैन भनेर साँझ मकै झारेको छु । पुलिसबाट जोगाएको एउटा गाडामा बेच्ने सोचेको छु । पर्सिदेखि के गर्ने थाहा छैन ।

प्रकाशित : असार १८, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?