‘छोरा जन्माउने औषधि कहाँ पाइन्छ ?’- समाचार - कान्तिपुर समाचार
अझै पनि उही प्रश्न

‘छोरा जन्माउने औषधि कहाँ पाइन्छ ?’

छोराको आसमा सात, आठ, नौ र दस जनासम्म सन्तान जन्माएका आमाहरुको कथा
चाँदनी कठायत, राजबहादुर शाही

वीरेन्द्रनगर, मुगु — हुम्लाको अदानचुली गाउँपालिका–६ की दिनकुमारी धिमाल ७४ वर्षकी भइन्, उनी आफैं अस्वस्थ छिन्, त्यसमाथि तीन वर्षअघि ज्यान गुमाएकी छोरी भूमिसराको शोकले थप सताइरहेको छ । भूमिसराको मृत्यु आठौं छोरी जन्माउने क्रममा भएको हो । ‘भौंती छाचुरी (धेरै छोराछोरी) पाउँदा मरेई हो,’ उनले भनिन्, ‘न निको खान पाई, न गाउँका मान्ठबाट निको वचन पाई, मेरी छोरी निकाला (अकालमै) मरी ।’

मुगुको सोरु गाउँपालिका–१० धैनकोट गाउँका महिला । तस्बिर सौजन्य : सोनम लामा

आमा दिनकुमारी पनि नौ पटक गर्भवती भएकी थिइन् । १३ वर्षमा बिहे भएदेखि गर्भवती हुन थालेकी दिनकुमारीले पाँच छोराछोरी मात्रै हुर्काउन सकिन्, चार गर्भमै खेर गए । उनको पाला परिवार नियोजन सुविधा सहज थिएन । अहिले छ, तर छोरा र छोरीको भेद गर्भमै थाहा हुन्छ । छोरीको उता ज्यान गयो, यता बुहारी पनि लगातार गर्भवती भइन् । दिनकुमारी आफैं भन्छिन्, ‘मजस्तो आमाले जन्माया छोराले पनि जहानलाई बच्चा पाउन्या मेसिन बनाया छन् ।’ धेरै सन्तान जन्माउँदा शरीर कसरी बिग्रन्छ भन्ने बुढेसकालमा बुझ्दै गएकाले बुहारीलाई अब बच्चा नपाउन सल्लाह दिइन् । तर लगालग दुई छोरी जन्माएकी बुहारीले सबैको दबाबपछि तेस्रो सन्तान छोरा पाइन् । छोराबुहारीले अझै परिवार नियोजन गरेका छैनन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–४ की ३७ वर्षीया उर्मिला परियारको काखमा १८ महिनाको छोरा हुर्किरहेको छ । छोरा पाउनुअघि उनी आठ पटक गर्भवती भइन् । पहिल्यै जाँच गर्दा छोरा नभएको पुष्टि भएपछि तीन पटक गर्भपतन गराइन् भने जन्मिएको केही महिनामै दुई छोरीको मृत्यु भयो । अहिले तीन छोरी र एक काखे छोरा छन् । ‘१४ वर्षमा बिहे गरेकी हुँ,’ उनी भन्छिन्, ‘पहिलो बच्चा १६ वर्षमा जन्माएँ, त्यसपछि लगातार आठ पटक गर्भवती भएर छोरा जन्माएँ ।’

खासमा उनलाई दुई वा तीनभन्दा धेरै सन्तान पाउने मन थिएन तर निर्णय उनले गर्न पाइनन् । ‘मैले मात्रै चाहेर के गर्ने हो र, लोग्नेले मान्दैनन्, समाजले पनि के भन्छ भन्दाभन्दै नौ पटक गर्भवती भएँ,’ उनी भन्छिन् । ठूली छोरीको बिहे भइसक्यो । एउटी छोरी कक्षा ६ र अर्की कक्षा ४ मा पढ्दै छन् । छोरा भने विद्यालय जाने भइसकेका छैनन् ।

मुगुको सोरु–५ नेरकी ३६ वर्षीया हिरा शाहीका पाँच छोरी छन्, परिवार छोराको पर्खाइमा छ । हिरा र श्रीमान् निमबहादुरले आफन्त र समाजबाट दबाब पनि झेलिरहेका छन् । कान्तिपुर संवाददातालाई निमबहादुरले सोधे, ‘छोरा जन्माउने औषधि कहाँ पाइन्छ ?’ उनीजस्ता पुरुषलाई छोरा वा छोरी पाउन औषधि होइन, पुरुषको क्रोमोजोमको भूमिका हुन्छ भनेर बुझाउन कसैले सकेको छैन । उनले यो पनि जान्न खोजे, ‘छोरा छ कि छैन चेक गर्ने ठाउँ कता होला ? थाहा छ भने भन्दिनुस् ।’ छोरा नै किन चाहिने ? उनले उही ‘समाज र संस्कृति’ कै कुरा गरे ।

सोरु गाउँपालिका–१० धैनकोटकी ३७ वर्षीया अबकती जैसी त १० पटक गर्भवती भइन् । १४ वर्षमा बिहे गरेकी उनका दुई छोरी र तीन छोरा छन् । दुईवटा गर्भ खेर गए भने तीन छोराछोरीको एक वर्ष नपुग्दै मृत्यु भयो । यतिका धेरै छोराछोरी उनले रहरले जन्माएकी होइनन् । ‘आफूले चाहेरभन्दा पनि परिवार र आफन्तको खुसीका लागि बच्चा जन्माउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘न गर्भवती र सुत्केरी अवस्थामा स्याहारसुसार पाइयो, न अहिले ।’ परिवार र समाजको दबाबमा बच्चा जन्माउने मेसिनजस्तै बनेकी अबकती अहिले पाठेघरको समस्या झेलिरहेकी छन् । रक्तअल्पता, मधुमेहको त उनी दीर्घरोगी भइसकिन् ।

बच्चा बोकेर धैनकोट स्वास्थ्यचौकीको बैठकमा सहभागी हुन आएका महिला । तस्बिर : राजबहादुर शाही/कान्तिपुर

सोरु गाउँपालिका–४ फोतुकी ३५ वर्षीया सोबी नेपालीका काखमा अहिले सातौं सन्तान छ । १४ वर्षको उमेरमा विवाह गरेकी उनका दुई बच्चा खेर गए, एउटाको एक वर्ष नपुग्दै मृत्यु भयो । उनका श्रीमान् नन्दवीरले छोराको आसमा लगातार ७ सन्तान जन्माउनुपरेको बताए । ‘सामाजिक मान्यता नै छोरा पाउनुपर्ने भन्ने छ,’ उनले भने, ‘छोराकै आसमा लगातार ६ छोरी जन्मिए, अन्तिममा छोराको जन्म भयो ।’

बग्रेल्ती सन्तान जन्माएका सोबी–नन्दवीर दम्पतीसँग तिनीहरूलाई पालनपोषण गर्ने र हुर्काउने गतिलो आम्दानीको स्रोत छैन । आफ्नो कृषि उत्पादनले ३ महिना पनि खान पुग्दैन । त्यसैले दुवै ज्यालादारी गरेर घर धान्छन् । ‘समाजकै चलनले धेरै छोराछोरी जन्माइयो, अहिले पालनपोषण गर्न समस्या भयो,’ भन्छन्, ‘बूढी पनि रोगी छ, कमाइले घर चल्नै मुस्किल भयो ।’ गाउँमा कम्तीमा पनि ५ सन्तान जन्माएका महिलाको संख्या कति होला ? अबकतीले गनेर छुट्याउन सकिनन् । छोराको आसमा जति पनि सन्तान जन्माउन तयार हुने र अन्तिममा एउटा मात्रै छोरा जन्मेपछि पनि स्थायी परिवार नियोजन नगर्ने धेरै छन् ।

सोरु गाउँपालिका–४ फोतुमा झन्डै ३ सय घर छन् तर परिवार नियोजन गर्ने पुरुषको संख्या शून्य छ । ‘श्रीमान्ले नियोजन नगर्दा पनि हामी महिला बच्चा जन्माउने कारखानाजस्तै बन्यौं,’ फोतुकै कमला नेपालीले भनिन्, ‘गर्भ निरोधक साधन हाम्रा लागि पहुँचमै छैनन् ।’ आठ छोराछोरीकी आमा उनले एउटा बच्चाले स्तनपान गर्दागर्दै अर्को बच्चा जन्माउने चलन सामान्य रहेको बताइन् । भनिन्, ‘सहर बजारमा दुई सन्तान ईश्वरका बरदान भन्छन्, हाम्रोमा ५/६ बच्चा नजन्माएका कोही महिला छैनन् ।’ कमजोर आर्थिक पृष्ठभूमिका अभिभावकले छोराको आसमा बग्रेल्ती सन्तान जन्माउँदा कुपोषणको समस्या पनि बढेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुको तथ्यांकअनुसार फोतुमा १ सय ३ जना बालबालिकामा कुपोषणको समस्या छ । जसमा ३१ बालबालिका कडा कुपोषणको समस्याबाट ग्रसित छन् ।

कर्णालीका आमाहरूले छोरा नै जन्माउनका लागि धेरै सन्तान जन्माउँदा आफूसँगै सन्तानसमेत कुपोषित हुने गरेको सुआहारा–२ कर्णालीका वरिष्ठ कार्यक्रम संयोजक सुरज शर्माको भनाइ छ । ‘आमाहरूको प्रजनन स्वास्थ्यमा सरकारले ध्यान नदिए भविष्यमा दक्ष जनशक्ति पाउन कठिन छ,’ उनले भने, ‘आमा बलियो र स्वस्थ भए बच्चा पनि स्वस्थ र बलियो जन्मन्छ । त्यसैले गर्भावस्थादेखि नै आमालाई पौष्टिक आहार सेवन गराउनुपर्छ ।’

छोरी मात्रै पाएको निहुँमा महिला अपहेलित हुने र घरबाट समेत निकालिएका घटना पनि कर्णालीमा अनगिन्ती छन् । ‘महिलाले छोरी पाउँदा कोही पनि खुसी हुँदैन,’ हुम्लाको अदानचुली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हंस महतरा भन्छन्, ‘छोरा जन्माउँदा गाउँमा बाजागाजासमेत गरिन्छ, परम्परागत सोच हावी हुँदा यहाँका महिलाको ज्यान नै जोखिममा पर्छ ।’ उनले गाउँ–गाउँमा परिवार नियोजनको अस्थायी तथा स्थायी बन्ध्याकरणबारे जानकारी नहुँदा पनि यस्तो समस्या आएको बताए ।

आगामी आर्थिक वर्षदेखि अदानचुली गाउँपालिकाले दुई सन्तान मात्रै जन्माउने जोडीलाई पाँच हजार नगद पुरस्कारसहित सम्मान गर्ने नीति पनि ल्याएको उनको भनाइ छ । ‘यसरी सम्मान गर्दा महिलामाथि बच्चा जन्माउनैपर्ने बोझ थपिँदैन कि भन्ने ठानेका छौं,’ स्वास्थ्य संयोजक महतारा भन्छन्, ‘महिलाको बिग्रँदै गएको प्रजनन स्वास्थ्यलाई ध्यानमा राखेरै यस्तो कार्यक्रम ल्याइएको हो ।’

जुन काममा पनि छोरालाई नै अगाडि सार्ने समाजमा महिला सधैं दबाबमा पर्ने गरेको हुम्लाको ताँजकोट–१ भैसाबाजकी नन्दकला खड्काले बताइन् । ‘जबसम्म छोरीलाई पनि छोरासमान आमाबुवालाई दागबती दिनेलगायत काममा लगाइँदैन, तबसम्म छोराप्रतिको विभेद कम हुँदैन,’ उनले भनिन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ लुड्कुकी झनमाया रोकायालाई उनका पतिले तीन वर्षअघि घरबाट निकाले । लगातार ६ छोरी मात्र जन्माएको भन्दै उनी घरबाट निकालिइन् । पति गंगाराम रोकायाले झनमायालाई घरनिकाला गरेपछि दोस्रो बिहे गरे । उनीमात्रै हैन, सुर्खेतको लेकबेसी नगरपालिका–१ का तेजेन्द्र विकले लगातार चार छोरी जन्मिएपछि गत वर्ष श्रीमती कमलालाई कुटपिट गर्दै माइती खेदे । उनी अहिले पनि छोरीहरूसहित माइतीमै छिन् । तेजेन्द्रले पनि दोस्रो बिहे गरिसकेका छन् । ‘छोरीहरूलाई मैले नै हुर्काइरहेकी छु,’ उनले भनिन्, ‘छोरी धर्ती हुन् भन्ने कुरा मेरा श्रीमान्ले बुझेन, मलाई छोरा नपाएको भनेर हेलाँ गर्‍यो अनि मैले पनि छाडिदिएँ ।’

३३ वर्षको उमेरसम्म छोराकै आसमा ६ छोरी जन्माएकी कालीकोटकी सकुन्तला (नाम परिवर्तन) ले धेरै पटक परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न खोजिन् । तर श्रीमान्ले अनुमति नदिएकाले प्रयोग गर्न पाइनन् । ‘छोरा भन्दै पटक–पटक गर्भपतन गराउँदा शरीर कमजोर भइसक्यो,’ भन्छिन्, ‘मेरा छोरीहरूले पनि मैले जस्तै भोग्नुपर्छ भन्ने डर लाग्छ ।’

गर्भावस्थामा नियमित स्वास्थ्य जाँच पनि नगर्ने चलनले सुत्केरीको ज्यानै जाने घटना पनि यहाँ भएका छन् । मुगुको धैनकोटकी स्वास्थ्य स्वयंसेविका बिसु जैसीले भनिन्, ‘स्वास्थ्यचौकी जान ३ घण्टा हिँड्नुपर्छ, अस्पताल त २ दिनको पैदल दूरीमा पर्छ, त्यसैले सबैले घरमै बच्चा जन्माउँछन् ।’ उनका अनुसार धैनकोटमा ३ वर्षमा ३ जना गर्भवतीको ज्यान गयो । जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले कम उमेरमा बच्चा जन्माउँदा, स्याहारसुसार नपाउँदा र धेरै बच्चा पाउँदा महिलामा पाठेघरको समस्या बढ्दै गएको बताए । उनका अनुसार जिल्लाका ६५ प्रतिशत महिला पाठेघरको समस्याबाट पीडित छन् । ‘तल्लो पेट दुख्ने, सेतो पानी बग्नेजस्ता समस्या नदेखिएका महिला भेट्टाउनै मुस्किल छ,’ उनले भने, ‘त्यस्तो समस्या हुँदाहुँदै पनि महिला बच्चा जन्माउन छोड्दैनन्, उनीहरूमाथि परिवार हावी छ ।’

गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच र पोषणको अभावले नवजात शिशुको मृत्युदर पनि मुगुमा बढिरहेको देखिन्छ । मुगुमा आर्थिक वर्ष ०७६/७७ मा ५ जना नवजात शिशुको मृत्यु भएको थियो भने यो संख्या ०७७/७८ मा ४ थियो । पछिल्लो आर्थिक वर्ष ०७८/७९ मा शिशु मृत्युदर तेब्बरले बढेर १२ पुगेको छ ।

कर्णालीका धेरै महिलालाई परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न श्रीमान्ले दिँदैनन् । जसका कारण नचाहेको गर्भ रहन गई गर्भपतन गर्नॅपर्ने बाध्यतामा महिला छन् । पटक–पटक गर्भपतन गराउँदा रक्तस्राव भइरहने, पाठेघर खस्ने समस्या देखिने र ज्यानैसमेत गुमाउनुपर्ने अवस्थामा कर्णालीका महिला परेका हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो र दोस्रो सन्तानको जन्ममा करिब २४ महिनाको अन्तर हुनु जरुरी हुन्छ । उक्त अवधिमा महिलाको स्वास्थ्य पूर्ण रूपमा ठीक भइसकेको हुन्छ । दुई सन्तानबीचको जन्मान्तर कम भए ‘प्रि–म्याचुयर डेलिभरी’ हुनुका साथै कम तौलको बच्चा जन्मने खतरा बढी रहन्छ तर कर्णालीका आमा भने छोराको आसमा बर्सेनि गर्भवती हुने गरेका छन् । जसका कारण उनीहरूको स्वास्थ्य त बिग्रिएको छ नै, नवजात सन्तानको स्वास्थ्य पनि जोखिममा परिरहेको छ ।

कर्णाली प्रदेश अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. धर्मराज रेग्मीका अनुसार छोराको पर्खाइमा धेरै सन्तान जन्माउने आमाहरूले जन्मान्तर नै नराख्दा ज्यान जोखिममा परेको छ । धेरै बच्चा जन्माउँदा र गर्भपतन गराउँदा महिलामा अत्यधिक रक्तस्राव हुने, पाठेघर प्वाल पर्ने, फुट्ने जस्ता समस्या देखिने उनले बताए । ‘सामान्य अवस्थामै बच्चा जन्मिए पनि हरेक पटकको गर्भमा जोखिम त हुन्छ नै,’ उनले भने, ‘त्यसमाथि पनि लगातार गर्भपतन गराउँदा पाठेघर निकालेरै फाल्नुपर्ने अवस्था पनि आएको छ ।’

डा. रेग्मीले धेरै बच्चा जन्मिएको खण्डमा बच्चा जन्मिसकेपछि साल अड्किने समस्या आउने गरेको बताए । कर्णालीमा धेरै आमाहरूको ज्यान बच्चा जन्माउँदा साल अड्किएर, अत्यधिक रक्तस्राव भएर जाने गरेको उनको भनाइ छ । सुर्खेत र जुम्लाबाहेक अन्य जिल्लामा सुविधायुक्त अस्पताल नहुँदा दुर्गमका आमाहरूले अकालमै ज्यान गुमाउनुपरेको उनको भनाइ छ ।

प्रकाशित : असार १८, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

घाइते बालिकाको मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — मोरङको पुरानो बजार रंगेली–७ स्थित माउन्ट मकालु बोर्डिङका प्रिन्सिपलको घरेलु कामदारले चलाएको स्कुल बसले किचेर सिकिस्त घाइते भएकी थप एक बालिकाको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ ।

प्रिन्सिपल भक्तराज (बीआर) सुब्बाको घरमा कार्यरत विजय माझीले मंगलबार स्कुलको को १ क ११३० नम्बरको बस चलाउँदा कक्षा एलकेजीमा अध्ययनरत स्थानीय ५ वर्षीय ऋतिक मण्डल र रंगेली–६ की ५ वर्षीया सोनमकुमारी मण्डललाई विद्यालयको गेटमै किचेको थियो । ऋतिकको घटना स्थलमा मृत्यु भएको थियो ।

घाइते सोनमको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले बताएको छ । प्रिन्सिपल सुब्बाले माझीलाई बिहान–बेलुका घरको काम गराउन र विद्यालय बसमा विद्यार्थी ओसार्न लगाउँदै आएको स्थानीयको भनाइ छ । माझीसँग सवारी चालक अनुमतिपत्रसमेत छैन । उनी फरार छन । इप्रका रंगेलीका प्रहरी निरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार विद्यालयका अर्का सवारी चालकलाई प्रहरी नियन्त्रणमा राखेर माझीको खोजी भइरहेको छ ।

सवारी चालक अनुमतिपत्र नभएकालाई विद्यालयको बस चलाउन दिएकोमा विद्यालय व्यवस्थापनसँग जोडिएकालाई पनि कानुनी कारबाही गर्ने तयारी भइरहेको उनले बताए । आक्रोशित स्थानीयका अनुसार साढे ८ लाख क्षतिपूर्ति दिएर घटनालाई ढाकछोप र थामथुम गर्ने प्रयास भइरहेको छ ।

विद्यालय परिसरभित्र ज्यान गएकोले माझीसँगै प्रिन्सिपल सुब्बालाई कर्तव्य ज्यानमा मुद्दा चलाइनुपर्ने स्थानीयको माग छ । स्थानीयका अनुसार सत्ता र शक्तिमा पहुँच राख्ने केही नेताहरू प्रहरीलाई दबाब दिएर मुद्दालाई कमजोर पार्नतिर लागेका छन् ।

विद्यालय व्यवस्थापनमा संलग्न मुख्य व्यक्तिहरूलाई कानुनी दायरामा नल्याए आफूहरू सडकमा उत्रिन बाध्य हुने स्थानीयको चेतावनी छ । जनप्रतिनिधिकै रोहबरमा ज्यानको मूल्य तोकेर अपराधीलाई उन्मुक्ति दिने षड्यन्त्र भइरहेको स्थानीयको आरोप छ ।

प्रकाशित : असार १८, २०७९ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×