संघ र प्रदेशको निर्वाचन मिति तोक्न आयोगलाई प्रधानमन्त्रीको आग्रह- समाचार - कान्तिपुर समाचार

संघ र प्रदेशको निर्वाचन मिति तोक्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेका हुन् ।

‘आयोगले प्रस्ताव गरेको मितिमै अघि जाने सोच छ । अन्य दलहरूसँग पनि परामर्श गर्छौं र समिति तोक्छौं‚’ बैठकमा सहभागी स्रोतले भन्यो‚ ‘अर्को साता मिति प्रस्ताव गर्न प्रधानमन्त्रीले भन्नुभएको छ ।

आयोगका प्रमुख आयुक्त थपलियाले प्रधानमन्त्रीसँग भेट भएको जानकारी दिँदै निर्वाचन समयमै गर्न प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिए । आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई अनौपचारिक प्रस्ताव गरेको छ । यसअघि आयोगले मंसिर पहिलो सातासम्म निर्वाचन गरिनसक्नुपर्ने बताउँदै आएको थियो ।

निर्वाचनसम्बन्धी कानुन पेश गर्ने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

प्रकाशित : असार १७, २०७९ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्

पेरिस विमानस्थलमा हडताल, उडान रद्द

ददि सापकोटा

पेरिस — बिहीबारदेखि फ्रान्सको राजधानी पेरिसस्थित चार्ल्स द गोल विमानस्थलका कर्मचारीहरुको हडतालका कारण दर्जनौं विमानहरु रद्द भएका छन् । युरोपकै अति व्यस्त  चार्ल्स द गोल विमानस्थलका कर्मचारीहरुले हडताल गरेपछि बिहीबार सम्पूर्ण उडानको १० प्रतिशत रद्द गरिएको थियो ।

शुक्रबार पनि कर्मचारीहरूले हडताल जारी राखेका छन् र अझ धेरै विमान रद्द हुने आकलन गरिएको फ्रान्सको बीएफएम टीभीले जनाएको छ । विमानस्थल अपरेटर एडीपीका प्रवक्ताले विमानस्थल जाने सडक यातायातसमेत अवरुद्ध भइरहेको बताए ।

एयरलाइन्स ट्राफिक महामारीपूर्वको स्तरतिर फर्किंदै गर्दा कट्टरपन्थी मजदुर युनियन सीजीटी र अन्य कर्मचारी युनियनहरूले ज्याला, तलबवृद्धि अन्य र थप सुविधाको माग गर्दै हडताल गरेका हुन् ।

फ्रान्समा जुन महिनामा मुद्रास्फीति ६.५ प्रतिशतमा पुगेर गम्भीर आर्थिक समस्या भोगिरहेकै बेला सीजीटीले सबै कर्मचारीहरूको प्रतिमहिना ३०० युरो न्यूनतम तलबवृद्धिको माग गरिरहेको छ ।

कोभिड–१९ महामारीको बेलामा ठूलो मात्रामा कर्मचारी कटौती गरेपछि एयरलाइन्सहरूले कर्मचारी भर्ना गर्न संघर्ष गरिरहेका बेला कामदारहरूले विभिन्न माग राखेका हुन् ।

फ्रान्सेली उड्डयन प्राधिकरण डीजीएसीले एयरलाइन्सहरूलाई शुक्रबार स्थानीय समय ७:०० बजे र दिउँसो २:०० बजेको बीचमा रहेका ६ मध्ये एउटा उडान रद्द गर्न भनेको थियो । डीपीले शुक्रबार साँझसम्म लगभग १० प्रतिशत उडानहरू रद्द हुने आकलन गरेको छ ।

सीजीटीका अनुसार जुन ९ मा पेरिसमा भएको पहिलो एयरपोर्ट हडतालमा एक हजार पाँच सय विमान कर्मचारी संलग्न थिए । तिनको हडतालकै कारण चार्ल्स द गोल विमानस्थलका २० प्रतिशत उडान रद्द गर्नुपरेको थियो ।

व्यवस्थापन दुई देखि तीन प्रतिशत तलब बढाउन राजी भए पनि कर्मचारीहरुले भने १५ देखि २० प्रतिशत माग गरेको चार्ल्स द गोल अन्तर्राष्ट्रिय एयरपोर्टका ग्राउन्ड ह्यान्डलिङ एजेन्ट लोरिस फोरम्यानले मेडियाहरुलाई बताएका छन् ।

कर्मचारी कटौतीले गर्दा थोरै कर्मचारीले अत्यधिक बढी समय काम गर्नु परेकाले कर्मचारीहरु डिप्रेसनको बिदामा बस्नु परेको र त्यसले गर्दा थोरै कर्मचारीले अझ धेरै तनाव भोग्नुपरेको पनि उनले उल्लेख गरेका छन् ।

प्रकाशित : असार १७, २०७९ १९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×