गैंडा मारेर १० र १५ वर्ष सजाय भोगे, फेरि उही अभियोगमा पक्राउ

रमेशकुमार पौडेल

चितवन — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीको विशेष सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले  गैंडा मारेर खाग बिक्री गरेको आरोप लागेका दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।

गैंडा मारेर १० र १५ वर्ष सजाय भोगे, फेरि उही अभियोगमा पक्राउ

पक्राउ पर्नेमा कालिका नगरपालिका–९ सिद्धी बस्ने बमबहादुर प्रजा चेपाङ र राप्ती नगरपालिका–१० कोराकका रामकुमार प्रजा चेपाङ रहेका छन् । गैंडा मारेकै अपराधमा बमबहादुर १५ वर्ष र रामकुमार १० वर्ष कैद बसेर छुटेका व्यक्तिहरू हुन् ।

बमबहादुरलाई चितवन निकुञ्जले खोजी गरिरहेको थियो । चितवन निकुञ्जका एक जना पूर्वअधिकारीका अनुसार पछिल्ला दुई तीन वर्षका बीचमा निकुञ्ज क्षेत्रमा खाग बेच्ने उद्देश्यले १४ वटा जति गैंडा मरेको र यी सबै घटनाहरुमा बमबहादुर र रामकुमार संलग्न रहेको बताउँछन् । चितवन निकुञ्जका सूचना अधिकाररी गणेशप्रसाद तिवारीका अनुसार बमबहादुर र रामकुमारलाई हाल चार–चारवटा मुद्दा लागेको छ ।

निकुञ्जको घाँघर, घोसरघाट, ब्रह्मपुर र मर्दिघोल क्षेत्रमा मरेका गैंडामा यी दुईजना संलग्न भएको भनेर गत वर्ष निकुञ्जले मुद्दा दयार गरेको थियो । रामकुमारलाई सीआईबीले असार १३ गते मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ बाट समाएर निकुञ्जलाई बुझाएको थियो । बमबहादुर धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुबाट असार १६ गते पक्राउ परेका हुन् ।

सीआईबी र धादिङ प्रहरीसहित बमबहादुरलाई चितवन निकुञ्ज र निकुञ्जमा तैनाथ सेनाको विशेष टोलीले समाएको सूचना अधिकारी तिवारीले बताए । यसअघि गैंडा मारेर खाग बिक्री गरेको अपराधमा १५ वर्ष कैद सजाय पाएका बमहादुर ७५ सालमा छुटेका थिए । त्यसैगरी रामकुमार पनि यही मुद्दामा १० वर्ष कैद सजाय पाएर ७० सालमा रिहा भएका थिए । रामकुमारका दाइ राजकुमार समेत गैंडा मारी खाग बिक्रीवितरण गरेको अभियोगमा सजाय भुक्तान गरिरहेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए । उनका अनुसार राजकुमारले २८ वटा गैंडा मारी फरार रहेका थिए । रेडकर्नर नोटिससमेत जारी गरी उनलाई इन्टरपोलको सहयोगमा मलेसियाबाट पक्राउ गरिएको थियो ।

गैंडा दुर्लभ वन्यजन्तु भएका कारण यसलाई मारेमा वा यसको अंगको कारोबार गरेमा पाँच वर्षदेखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । तस्करहरुले नाकमाथि हुने सिङ जस्तो वस्तु खागका लागि गैंडा मार्ने गर्दछन् । गैंडा मार्न चितवनको पहाडी क्षेत्र शक्तिखोर, सिद्धी र कोराकका चेपाङ समुदायलाई तस्करहरूले अत्यधिक मात्रामा उपयोग गरेको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित : असार १७, २०७९ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?