कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघ पाल्नै महँगो

समस्याग्रस्त बाघलाई समातेर खोरमा थुन्दा वार्षिक ६० लाख खर्च 
कमल पन्थी

बर्दिया — समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिई खोरमा राख्न सहज मानिए पनि यसको हेरचाह, उपचार र आहारामा हुने खर्च असाध्यै महँगो पर्न थालेको छ । बाघको सबैभन्दा बढी खर्च आहारामा छ । नियन्त्रणमा लिइएको एउटा बाघलाई दैनिक ६ किलो राँगो र भैंसीको मासु चाहिन्छ ।

बाघ पाल्नै महँगो

मांसहारी भएका कारण बाघलाई दैनिक मासु खुवाउनु पर्ने भएकाले आहारामा बढी खर्च लाग्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । वनमा रहँदा बाघको मन पर्ने आहारा चित्तल, बँदेल, जरायो र नीलगाई मानिन्छ ।

समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन पनि सहज नरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डाक्टर रविन कडरियाले बताए । ‘समस्याग्रस्त बाघ नियन्त्रण लिन हात्ती, प्राविधिक, सुरक्षाकर्मीलगायत डट गर्ने बन्दुकको सहारा लिनु पर्छ,’ उनले भने, ‘त्यस्तो बाघलाई पहिचान गरी नियन्त्रणमा लिइन्छ ।’

खोरमा राखिएपछि यसको आहारा भैंसी र रांगाको मासु हो । बाघको हेरचाहका लागि २ जना सहायक कर्मचारी, एक पशु स्वास्थ्य चिकित्सक र वन्यजन्तु प्राविधिक परिचालित हुने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । ‘बिरामी बाघलाई औषधोपचार र डट गर्नु पर्छ,’ उनले भने, ‘सामान्य बिरामी भए मासुमा औषधि मिसाएर खुवाउनु पर्छ ।’ बाघको खोरमा निकुञ्जका कर्मचारीबाट सुरक्षित रूपमा सरसफाइ हुने गरेको छ । समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिई खोरमा राखिने गरिएको हो । त्यस्तो बाघको वार्षिक खर्च नै ६० लाख रुपैयाँ हाराहारीमा हुने गरेको निकुञ्ज स्रोतले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारास्थित बाघ थुन्ने खोर । यहाँ एउटा समस्याग्रस्त बाघलाई थुनेर राखिएको छ ।

बर्दियामा विगत तीन वर्षयता समस्याग्रस्त पाँचवटा बाघलाई नियन्त्रणमा लिइएको छ । तीमध्ये तीनवटा बाघ खोरमा छन् । बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको बाघले खोर भत्काएर भागेको थियो भने अर्को बाघलाई ललितपुरको चिडियाखानामा पठाइएको थियो । समस्याग्रस्त बाघलाई खोरमा राख्नु पर्ने बाध्यता छ । बर्दिया राष्ट्रिय निकुञ्जमा त्यस्ता बाघ थुन्ने तीनवटा मात्रै खोर छन् । एउटा निकुञ्जको मुख्यालय ठाकुरद्वारा र दुईवटा रम्मापुरमा रहेका छन् । अहिले तीनवटै खोरमा समस्याग्रस्त बाघ राखिएको छ । खोरको अभाव भएपछि समस्याग्रस्त थप बाघ समात्न छोडेको निकुञ्जका कर्मचारीले बताए । बाघको एउटा खोर बनाउन करिब १ करोड रुपैयाँ लाग्ने गरेको निकुञ्जले जनाएको छ ।

प्राकृतिक वातावरणमा रमाउँदै आएका बाघलाई खोरभन्दा खुला ठाउँमा राख्न ओपेन जु सफारीको अवधारणा अघि सारिए पनि कार्यान्वयन हुन सकेको छैन । यसका लागि निकुञ्जको २५ हेक्टर क्षेत्रफलमा फलामको बार लगाउने प्रस्ताव गरिएको थियो । यसका लागि करिब ४ करोड रुपैयाँ माग गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए । ‘ओपेन जु सफारी निर्माण भएपछि बढी पर्यटक भित्रिने र उद्धार गरिएका बाघको संरक्षण हुने अपेक्षा गरेका छौं,’ उनले भने, ‘समस्याग्रस्त बाघलाई खोरभन्दा खुला छोड्दा नै राम्रो मानिन्छ ।’

स–साना कंक्रिट निर्मित खोरमा बाघलाई थुनेर राख्नु अत्यन्त अवैज्ञानिक र अशोभनीय हुने बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । ‘प्राकृतिक वासस्थानमा बाघ बस्न, डुल्न र घुम्न रुचाउँछ,’ उनले भने, ‘सुरक्षित खालको खुला खोर निर्माण गर्न जरुरी छ ।’

प्रकाशित : असार १७, २०७९ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?