१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेकपाकै नियतिमा जसपा

'सबै कुरा बाबुरामजीमा निर्भर छ' – उपेन्द्र यादव
‘उहाँले अहिले नै छुट्टिउँ, भोलि छुट्टिउँ भनेर भन्नु भएको होइन । त्यसलाई उपेन्द्रजीले बाबुरामजी बिदा माग्न आउनु भएको भन्दिएपछि अप्ठेरो परेको हो ।’- गंगानारायण श्रेष्ठ
बबिता शर्मा

काठमाडौँ — वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्देश्यसहित तीन वर्ष अगाडि एकता गरेका बाबुराम भट्टराई र उपेन्द्र यादव अन्तत: विभाजनको विन्दुमा पुगेका छन् ।

नेकपाकै नियतिमा जसपा

बुधबार जसपाका संघीय परिषद् अध्यक्ष भट्टराई र केन्द्रीय अध्यक्ष यादवबीच तिक्ततापूर्ण विवाद भन्दा सौहार्द ढंगले फरक–फरक राजनीतिक कोर्समा अगाडि बढ्ने समझदारी भएको छ । ‘कुरा त्यस्तै त्यस्तै छ । अब सबै कुरा बाबुरामजीमा निर्भर छ । उहाँले जे गर्नुहुन्छ, त्यही हुन्छ,’ अध्यक्ष यादवले कान्तिपुरसँग भने ।

अध्यक्ष यादवसँग भट्टराईले पार्टीमा मिल्न नसके गालीगलौजमा भन्दा सहमतिमा नै आ–आफ्नो बाटो लाग्न उचित हुने बताएका थिए । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठले भट्टराईको उक्त प्रस्तावलाई यादवले ‘बिदा माग्न आएको’ अर्थमा बुझेका कारण अफ्ट्यारो भएको बताए ।

‘मिल्न सक्ने बेलासम्म मिलौं, मिल्नै सकिएन भने अन्तिम उपाय भनेको सौहार्द्धपूर्ण ढंगले छुट्टिने त छँदैछ । नेपालको राजनीतिमा गालीगलौज गर्ने संस्कार छ, छुट्टिनै परेको खण्डमा हामी त्यस्तो नगरौं है भन्ने कुरा भट्टराईजीले राख्नु भएको हो,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘उहाँले अहिले नै छुट्टिउँ, भोली छुट्टिउँ भनेर भन्नु भएको होइन । त्यसलाई उपेन्द्रजीले बाबुरामजी बिदा माग्न आउनु भएको भन्दिएपछि अफ्ठ्यारो परेको हो ।’

दुवै पक्षका नेताहरुकाअनुसार जसपाको विभाजनमा अब औपचारिकता मात्रै बाँकी छ । दुवै पक्षले आ–आफ्नो पक्षको केन्द्रीय समितिको बैठक गरेर अगाडि बढ्ने तयारी गरेका छन् । यादव पक्षले असार २७ र २८ गते वीरगन्जमा केन्द्रीय समितिको बैठक बोलाइसकेको छ । यादव पक्षले एकलौटी बैठक बोलाएको भट्टराई पक्षका नेता श्रेष्ठले बताए ।

‘बिहीबार साँझ हामी (भट्टराई पक्षका नेताहरु) छलफलमा थियौं । छलफलबाट निस्केपछि मात्रै केन्द्रीय समिति बैठक बोलाइएकोबारे इमेल प्राप्त भएको छ,’ उनले भने, ‘त्यो बैठक उपेन्द्रजीले एकलौटी बोलाउनु भएको हो । त्यसकारण के गर्ने भन्नेबारे शुक्रबार छलफल गरेर हाम्रो धारणा सार्वजनिक गर्छौं ।’ स्रोतका अनुसार भट्टराई पक्षको पनि छुट्टै बैठक बोलाउने तयारी छ । जसपामा विचार र सिद्धान्त मिले पनि अधिकार बाँडफाँटलाई लिएर भट्टराई र यादवबीच व्यक्तित्वको टकराव थियो ।

जसपाको पनि अहिले नेकपाकै जस्तो नियति भएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहालको शक्ति संघर्ष र व्यक्तित्व टकरावले नेकपालाई विभाजनको विन्दुमा पुर्‍याएको थियो । अहिले भट्टराई र यादवबीच अधिकार बाँडफाँट र कार्यशैलीगत विवादका कारण जसपालाई पनि विभाजनको विन्दुमा पुर्‍याएको हो ।

२०७६ वैशाख २२ गते यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको थियो । समावेशिता, समानुपातिक प्रतिनिधित्व, लोकतान्त्रिक समाजवादलगायतका विषयमा दुई नेताबीच समानता थिए ।

एकता हुँदा नयाँ वैकल्पिक शक्तिको उदय भएको उद्घोष नेताहरुले गरेका थिए । त्यतिबेला मधेसकेन्द्रित अन्य पार्टीलाई पनि ‘एक नम्बर’को पार्टी बनाउने अभियानमा सामेल हुन आह्वान गरेका थिए । तर एकता भएको तीन वर्षसम्म दुई पक्षबीच भावनात्मक एकता हुन सकेन, सोही कारण तत्कालिन नेकपाकै जस्तो नियति भोगेको छ ।

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा पनि तीन वर्षमै सर्वोच्च अदालतको एउटा आदेशपछि टुटेको थियो । तीन वर्षको बीच (२०७७ साल)मा जसपाले राजपासँग एकता गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर भट्टराई र यादव नेतृत्वको समाजवादी पार्टी फुटाउने प्रयत्न गरेपछि रातारात महन्थ ठाकुर नेतृत्वको राजपासँग एकता भएर जसपा भएको थियो । तर एकताले पूर्णता नपाउँदै संसद विघटन र पुन:स्थापनाको मुद्दामा विवादपछि अहिले ठाकुरको नेतृत्वमा लोसपा गठन भएको छ ।

गत भदौमा लोसपा गठन भएलगत्तै जसपामा भट्टराई र यादवबीच व्यक्तित्वको टकराव सुरु भइसकेको थियो । उक्त टकराव बढ्दै गएपछि पछिल्लो केही महिना यता दुवै पक्ष आफ्नो खेमामा संसद र केन्द्रीय समितिमा बहुमत पुर्‍याउने र पार्टी नेतृत्व कब्जा गर्ने रणनीतिमा थिए । तर, दुवै पक्षले एक–अर्कामाथि कारबाही गर्नेसम्मको सुविधाजनक बहुमत जुटाउन नसकेपछि सहमतिमै अलग–अलग बाटो समात्ने निष्कर्षमा पुगेका हुन् ।

सोही अनुसार बुधबार भट्टराई र यादवबीच भेटवार्ता भएको थियो । पार्टीभित्र लगातारको विवाद र शक्तिसंघर्षबाट अलग हुन चाहेका यादवले भट्टराईको ‘सहमतिमा अलग हुने’ प्रस्तावलाई सहजरुपमा लिए । ‘सबै कुरा उहाँलाई छोडिदिएर मिल्ने भन्ने कुरा उपेन्द्रजीको छ । राजनीतिमा त्यस्तो कहाँ हुन्छ र !’, कार्यकारिणी सदस्य श्रेष्ठले भने, ‘त्यसकारण उपेन्द्रजीले आफूलाई रुपान्तरण गर्न सक्नु भएन भने बाटो फरक हुन सक्छ ।’

पछिल्लो पटक मन्त्री हेरफेरको विषयमा पार्टीभित्र दुई पक्षबीच विवाद भएको थियो । यादवले आफ्नो समूहका केन्द्रीय कार्यकारीणी सदस्यहरुको बैठक डाकेर मन्त्री बदल्ने निर्णय गरेका छन् । भट्टराईले भने एकल निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

भट्टराईले यादवको सामूहिक भन्दा एकल निर्णय गर्ने शैली रहेको भन्दै असन्तुष्टि जनाएका थिए । यादवले भने सानो शक्ति लिएर आएका भट्टराईले धरै भाग खोजेको आरोप लगाएका थिए । स्थानीय निर्वाचनमा यादवले एकल टिकट बाँडेको भन्दै पार्टीमा असन्तुष्टि बढेको थियो । त्यसअगाडि राष्ट्रियसभा निर्वाचनमा पनि यादवले एकल निर्णय गरेको अर्को पक्षको आरोप थियो । पछिल्ला दिनमा यादव संसदीय दल र केन्द्रीय कार्यकारिणीमा बहुमतमा छन् ।

प्रकाशित : असार १६, २०७९ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?