कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोइराला समूहले भन्यो : पार्टी विधानसम्मत चल्न सकेन

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको आरोप लगाएको छ । काठमाडौंको बत्तीसपुतलीमा बिहीबार बसेको कोइराला समूहको बैठकमा बोल्ने अधिकांश नेताहरूले १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको बताएका हुन् । 

कोइराला समूहले भन्यो : पार्टी विधानसम्मत चल्न सकेन

स्थानीय तह निर्वाचनको लामो समयसम्म पनि पार्टी सभापतिले केन्द्रीय कार्यसमितिको बैठक नराखेको भन्दै नेता कोइरालाले आफूपक्षीय नेताहरूको छुट्टै बैठक राखेका थिए । बैठकमा सहभागी नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् ।

बैठकमा सहभागी नेता चन्द्र भण्डारीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी र सरकारका काम कारबाहीका विषयमा छलफल भइरहेको जानकारी दिए । ‘पार्टीको महाधिवेशन भएको ६ महिना बितेको छ । यो बीचमा हामीले स्थानीय तहको निर्वाचन पनि सम्पन्न गरेका छौँ । पार्टीको सभापतिको नेतृत्वमा सरकार छ,’ उनले भने, ‘समग्रमा मुलुक, सरकार र पार्टीका काम कारबाहीका विषयमा हामीले समीक्षा गर्दैछौँ ।’

बैठकमा नेता कोइरालासहित पार्टीको केन्द्रीय समितिका कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी थिए । नेता भण्डारीका अनुसार शुक्रबार दिउँसो २ बजे पुनः बस्ने गरी बिहीबारको बैठक स्थगित भएको छ ।

‘पार्टी विधानअनुसार चलेको छैन । सभापतिजीको एकलौटी कर्मले पार्टीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था छ,’ बैठकमा नेताहरूले धारणा राखेको उदृत गर्दै एक नेताले भने, ‘भेलाको मुख्य माग भनेको स्थानीय चुनावको समीक्षा, केन्द्रीय समिति बैठक र विधानअनुसार पार्टी सञ्चालन हुनुपर्छ भन्ने हो । त्यसमध्ये केन्द्रीय समिति बैठक आह्वान भइसकेको छ । अहिले नेताहरू कसैले बैठक बहिष्कार गर्नुपर्छ भन्नुभएको छ, कसैले समानान्तर समिति बनाऔँ भन्नुभएको छ, सबैले बोल्ने क्रम छ ।’

नेता भण्डारीले भने पार्टी सभापति देउवाले आफ्नै विगत सम्झिएर काम गर्नु उपयुक्त हुने बताए । ‘पार्टीको महाधिवेशन भएको ६ महिना बित्यो, विधानअनुसार हुनुपर्ने काम भएको अवस्था छैन,’ उनले भने, ‘सभापतिजीले गुटको प्रतिनिधित्व नगरेर सिंगो पार्टीको प्रतिनिधित्व गर्नुहोस् भन्ने हाम्रो आग्रह हो । तर, त्यस्तो हुन सकेको छैन । म त उहाँलाई हिजो सुशील कोइरालाले नेविसंघमा आफ्नो व्यक्ति राख्यो भनेर ९ महिनासम्म केन्द्रीय समिति बस्न नदिएको समयको स्मरण गर्न आग्रह गर्दछु ।’

सभापति देउवाले पार्टी सञ्चालन गर्दा एकलौटी गरेको कोइराला पक्षको आरोप छ । विधानअनुसार महाधिवेशनपछि नयाँ कार्यसमिति निर्वाचित भएको ३ महिनाभित्र कोषाध्यक्ष मनोनयन, ६ महिनाभित्र पार्टीका विभागहरूको गठन गर्नुपर्ने, नेतृत्वविहीन भएका भ्रातृ संस्थामा मनोनयन लगायत कामहरू हुन सकेका छैनन् । अहिलेसम्म चार वटा भ्रातृ संस्थामा मनोनयन हुँदा सभापति देउवाले आफू पक्षीय नेताहरूलाई सभापतिमामात्रै मनोनयन गरेका छन् ।

‘भ्रातृसंस्थामा एकलौटी भएको छ । पार्टीभित्र सबै कार्यकर्तालाई समान व्यवहार भएको छैन । हामीलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिएको छ,’ ती नेताले भने ।

प्रकाशित : असार १६, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?