कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेसको निष्कर्ष

चुनावी तालमेलले धेरै सिटमा जित [पूर्ण पाठसहित]

प्रकाश धौलाकोटी

काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीचको चुनावी तालमेलले धेरै सिटमा जित निकाल्न सफल भएको निष्कर्ष निकालेको छ । केन्द्रीय निर्वाचन परिचालन समितिले गठबन्धनकै कारण पार्टीले धेरै सिटमा जित निकालेको जनाएको छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिले आठ उपसमितिहरू गठन गरी चुनावमा परिचालित थियो ।

चुनावी तालमेलले धेरै सिटमा जित [पूर्ण पाठसहित]

समितिका संयोजक एवम् उपसभापति खड्काले बिहीबार केन्द्रीय कार्यालयमा बसेको समितिको बैठकमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै चुनावी तालमेलकै कारण पार्टीले धेरै सिट जितेको बताएका हुन् ।

समितिले अहिलेको चुनावमा तालमेलकै कारण धेरै सिट जित्न सफल हुनुलाई आधार मान्दै आसन्न निर्वाचनमा समेत गठबन्धन गर्नु उपयुक्त हुने सुझाव दिएको छ । कांग्रेसले आफू नेतृत्वको गठबन्धन हुँदा राष्ट्रिय एकताको सन्देश गएको दाबी गरेको छ ।

‘निर्वाचन जित्नका लागि कांग्रेसको एकल शक्ति अपुग हुने स्थितिमा गठबन्धन परिणामुखी बन्यो । अहिलेको निर्वाचन परिणामले कांग्रेस र प्रतिस्पर्धी पार्टीको मत झण्डै बराबरीको अवस्थामा आउनुले पनि सिट संख्या बढाउन शक्ति सन्तुलनलाई ख्याल गरी गठबन्धन गर्नु आवश्यक देखिन्छ,’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘कांग्रेसको नेतृत्वमा गठबन्धन कायम हुँदा राष्ट्रिय एकता कायम भएको सकारात्मक सन्देश समेत प्रवाह भएको छ ।’

स्थानीय तह निर्वाचन अघि कांग्रेसमा गठबन्धन गर्ने वा नगर्ने भनेर नेताहरूबीचमै मतभेद भएको थियो । सभापति शेरबहादुर देउवा केन्द्रबाटै गठबन्धन गर्नुपर्ने पक्षमा थिए भने नेता शेखर कोइराला पक्षले केन्द्रबाट गठबन्धन लाद्न नमिल्ने अडान लिएका थिए । त्यहीकारण केन्द्रीय समितिले स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने भन्ने निर्णय लिएको थियो । समितिले कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि कमजोर नभएको, तर गठबन्धन गरेर जाँदा बढी सफलता मिलेको दाबी गरेको छ ।

समितिका अनुसार कांग्रेसले गठबन्धनबिनै उम्मेदवारी दिएकामा ४८ प्रतिशत जित निकालेको छ भने गठबन्धन गरेर उम्मेदवारी दिएकामा ६१ प्रतिशत जित निकालेको छ ।

कांग्रेसले २०९ पालिकामा गठबन्धन गरेर प्रमुख/अध्यक्ष पदमा उम्मेदवारी दिएकामा १२८ पालिकामा जितेको थियो भने उपप्रमुख/उपाध्यक्षमा ११५ पालिकामा उम्मेदवारी दिएकोमा ८५ जना विजयी भएका थिए । कांग्रेसले गठबन्धन विनै ४२३ पालिकामा प्रमुख/अध्यक्ष र ४१९ पालिकामा उपप्रमुख/उपाध्यक्ष पदमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये २०१ मा प्रमुख/अध्यक्ष र २१५ मा उपप्रमुख/उपाध्यक्ष पदमा जित निकालेको छ ।

समितिले देशभर वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो दल बनेको दाबी गरेको छ । समितिका अनुसार कांग्रेसले ३८ लाख ८३ हजार ८३१ मत पाएको छ । जुन नेकपा एमालेको एक लाख ७५ हजार ७६ मत बढी हो । समितिका अनुसार सबैभन्दा धेरै स्थानीय तह जितेका १० जिल्लामा डोटी, पाँचथर, बाँके, पर्वत, डडेलधुरा, ललितपुर, काठमाडौं, सोलुखुम्बु र ओखलढुंगा हुन् ।

डोटीमा ९ मध्ये ७, पाँचथर र बाँकेमा ८ मध्ये ६, पर्वत र डडेलधुरामा ७ मध्ये ५,, ललितपुरमा ६ मध्ये ५, काठमाडौँका ११ मध्ये ७, सोलुखुम्बु र ओखलढुंगामा ८ मध्ये ५/५ वटा स्थानीय तह जितेको छ । दार्चुला र रुकुम पुर्वमा कांग्रेस शुन्य भयो भने सिरहाका १५ र महोत्तरीका १७ मध्ये कांग्रेसले २–२ वटामा मात्रै जित्यो । गोरखाका ११, रोल्पाका १०, कालिकोटका ९ र कैलालीका १३ मध्ये २–२ पालिकामा मात्रै कांग्रेसले चुनाव जितेको छ ।

महानगर र उपमहानगरमा घाटा

समितिले महानगरपालिका र उपमहानगरपालिकामा भने चुनावी तालमेल गरेपनि कांग्रेसलाई घाटा भएको निष्कर्ष निकालेको छ । ‘महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धनबीच भागबण्डाको कारणले उम्मेदवारी नै कम ठाउँमा सम्भव भयो । देशभरका ६ महानगरमध्ये कांग्रेसको भागमा ३ वटामात्र परेकोमा दुई वटामा विजयी भएको छ । यस्तै ११ उपमहानगरमध्ये ७ वटामा उम्मेदवारी दिएकामा कांग्रेसले ३ वटामा जितेको छ,’ समितिले भनेको छ ।

०७४ को निर्वाचनमा विराटनगर र ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद र पोखराबाहेकका महानगरपालिकामा उपप्रमुख जितेको कांग्रेसले यसपटक पहिलेको जत्ति पनि जित्न सकेन । कांग्रेसले विराटनगर र ललितपुरमा पूरानै जित दोहोर्‍याउँदा भरतपुर र वीरगञ्जमा मात्रै उपप्रमुखको जित दोहोर्‍यायो । काठमाडौं, बीरगञ्ज र ललितपुरका उपप्रमुखमा विगतको जित गुमाएको छ ।

उपमहानगरपालिकाको परिणाम पनि कांग्रेसका लागि सन्तोषजनक नभएको समितिको निष्कर्ष छ । जितपुर सिमरामा गठबन्धनका उम्मेदवारले जित्दा कांग्रेसले जितेन । धनगढी र कलैयामा कांग्रेसले विगतको वर्चस्व गुमायो भने इहटरी, बुटवल र नेपालगञ्जमा कांग्रेसले जितेपनि दाङका दुवै उपमहानगरमा कांग्रेस पराजित भएको छ ।

समितिले गाउँपालिकाको तुलनामा नगरपालिकामा कांग्रेसको उपस्थिति राम्रो रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

भरतपुरको तालमेल कार्यकर्ताले पचाएनन्

कांग्रेसले भरतपुर महानगरपालिकामा भएको चुनावी तालमेल देशैभरि कार्यकर्ताले पचाउन नसकेको बताएको छ । चुनाव परिचालन समितिले आफ्नो प्रतिवेदनमा भरतपुरमा दोहोर्‍याएर नेकपा माओवादी केन्द्रलाई सघाउँदा कार्यकर्ताले अस्वीकार गरेको भनेको हो । समितिले दोहोर्‍याएर गठबन्धन गर्दा सधैँ अन्य चुनाव चिन्हमा मात्रै मत हालिरहनु पर्ने बाध्यकारी स्थिति हुन नदिन नहुने स्पष्ट गरेको छ ।

‘०७४ मा समर्थन गरेको माओवादी केन्द्रलाई २०७९ मा पनि दोहोर्‍याएर भरतपुरमा गरिएको गबठन्धनलाई पचाउन देशभरका कांग्रेस कार्यकर्ता र शुभेच्छुकलाई गाह्रो परेको देखियो,’ समितिले प्रतिवेदनमा भनेको छ, ‘स्थानीय निर्वाचनमा लगातार आफ्नो पार्टीका उम्मेदवारलाई प्रमुख पदमा मतदान गर्न नपाएको मतदाताको गुनासो स्वभाविक झैँ लाग्थ्यो । गठबन्धनको निरन्तरताको लागि नेपाली कांग्रेसका मतदाताले सधै अन्य चुनाव चिन्हमा मत हालिरहनु पर्ने बाध्यकारी स्थिति हुनुहुदैन भन्ने तथ्यलाई विशेष ख्याल गर्न आवश्यक देखिन्छ ।’

कांग्रेसले गुमायो १२६ पालिका

कांग्रेसले अघिल्लो पटक जितेका १२६ पालिकामा यसपटक जित निकाल्न सकेन । ०७४ को निर्वाचनमा कांग्रेसले २६६ पालिका जितेको थियो । तीमध्ये यसपटक १४० पालिकामा मात्रै कांग्रेसले दोहोरिएर जितेको हो । अन्य १२६ पालिकामा कांग्रेसले आफ्नो वर्चस्व गुमाएको हो । समितिका अनुसार २८९ वटा पालिकामा भने पछिल्लो दुवै निर्वाचनमा कांग्रेसले जित्न सकेन ।

समितिका अनुसार कांग्रेसका १८ जना उम्मेदवारले १०० मतभन्दा कमले जितेका छन् भने २७ जना उम्मेदवार निकटतम प्रतिद्वन्द्वी बनेका छन् । त्यस्तै, १०० भन्दा बढी र ५०० भन्दा कम मतले ७७ जना विजयी भएका छन् भने ५० जना निकटतम प्रतिद्वन्द्वी बनेका छन् ।

प्रतिवेदनको पूर्ण पाठ

प्रकाशित : असार १६, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?