१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

निगमको जहाजले जब बेंग्लोर जाने क्याप्टेन नै पाएन...

व्यवस्थापकीय कमजोरीका कारण निगमलाई घाटा, यात्रुलाई सास्ती

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बेंग्लोरका लागि उडान भर्न लागेको नेपाल वायु सेवा निगमको विमान चालकको अभाव देखाउँदै उडान रद्द गरिएको छ ।

निगमको जहाजले जब बेंग्लोर जाने क्याप्टेन नै पाएन...

करिब १ सय ३९ जना यात्रुसहित बिहीबार दिउँसो १ बजेर ४५ मिनेटमा उड्नुपर्ने जहाज क्याप्टेन उपलब्ध नहुने भएपछि अन्तिम समयमा यात्रुलाई समेत पूर्वजानकारी नदिई रद्द गरिएको हो । तर निगमका अस्थायी महाप्रबन्धक दीपु ज्वारचनले भने अदालतमा पेसी रहेकोले आफूले उडान बुधबार नै रद्द गरेको बताए ।

बेंग्लोर जान लागेका एक यात्रुले बिहीबार बेलुकासम्म पनि आफूलाई उडान रद्द भएको बारे कुनै जानकारी नदिएको बताए । विदेशबाट मंगलबार काठमाडौं आएको र घरायसी कामका लागि परिवारसहित बेंग्लोर जान लागेको र उडान रद्द भएपछि अन्योलमा परेको उनले बताए ।

'म आफै विमान चालक भएकाले विमानको सेड्युल के हुन्छ भन्ने कुरो म पूर्ण जानकार छु । तर उडान तालिकाअनुसार समय भइसक्दा पनि बेंग्लोरका लागि उड्ने विमान स्थगित भए पनि यात्रुलाई कुनै खबर गरिएको छैन । यो त हदैसम्मको लापर्बाही हो,' उनले भने । उक्त जहाजले बेंग्लोर जाँदा पनि १ सय ३९ यात्रु लिएर जाँदै थियो भने आउँदा पनि १ सय ६ जना यात्रु लिएर आउँदै थियो ।

अपरेसनल कारण देखाउँदै बेंग्लोरको उडान रद्द गरेपछि उक्त रुटका यात्रुहरुलाई रिरुट गरी निगमले आफ्नो दिल्लीको नियमित दुई उडानबाट दिल्ली हुँदै बेंग्लोर पठाएको छ । त्यसअघि बिहानै अर्जेन्ट भएका यात्रुलाई भिस्तारा एयरमार्फत दिल्ली हुँदै बेंग्लोर पठाएको थियो । अर्जेन्ट नभएका यात्रुहरुलाई भने शनिबारको नियमित बेंग्लोर उडानमा राखिएको निगमको कमर्सियल विभागले जनाएको छ । यस्तै उताबाट आउनेलाई पनि रिरुट गरी दिल्ली हुँदै काठमाडौं ल्याइएको छ । त्यसका लागि निगमले दिल्लीको नियमित उडानमा दुवैपटक वाइडबडी पठाएको थियो । यसबाट निगमलाई कति घाटा भयो भन्ने बारे यकिन भने नभइसकेको निगमका एक निर्देशकले बताए ।

निगमले यात्रुहरुलाई उडान रद्द भएको बारे इमेल र फोनमार्फत जानकारी गराएको दाबी गरेप नि विमानस्थल पुगेका यात्रुहरुले आफूले कुनै जानकारी नपाएको बताएका थिए ।

निगमका दुईवटा न्यारोबडी जहाज उडाउन हाल १३ जना क्याप्टेन कार्यरत छन् । जसमध्ये दुईजनाको वाइडबडीमा सरुवा गरिएको छ भने एकजनालाई कोभिड संक्रमण पुष्टि भएपछि आइसोलेसनमा छन् ।

अन्य सात जना क्याप्टेन भने महिनामा ९५ घण्टाभन्दा बढी विमान उडाइसकेका कारण होल्डमा छन् । एक अंग्रेजी महिनामा सय घन्टाभन्दा बढी उडाउन नपाउने अन्तर्राष्ट्रिय नियम हो । यस्तै २ जना क्याप्टेन बिहान मात्रै दुबई उडानबाट फर्किएका कारण १० घण्टाका लागि आराममा छन् ।

बिहीबारको उडान निगमको अस्थायी महाप्रबन्धकसमेत रहेका क्याप्टेन दीपु ज्वारचनले भर्न मिल्ने भए पनि उनले आफूलाई न्यूनतम उडान गर्ने गरी अस्थायी महाप्रबन्धक तोकेको र आजै अदालतमा निगमसम्बन्धित मुद्दाको पेसी रहेकाले जान नसकेको बताए । यस्तै निगमको शुक्रबार वार्षिकोत्सव समेत परेकोले पनि उडानमा जान असमर्थ भएको जानकारी दिए ।

प्रकाशित : असार १६, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?