१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रत्येक वडामा सामुदायिक नर्सिङ

१० वर्षे राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति सार्वजनिक
रासस

काठमाडौँ — सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार 'राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७/०७८ देखि २०८७/८८)' सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो ।

प्रत्येक वडामा सामुदायिक नर्सिङ

रणनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक र वातावरण स्वास्थ्यको व्यवस्था गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ । नेपालमा ७५३ स्थानीय तहका ६ हजार ७४३ वडा छन् ।

यस्तै, नर्सिङ सेवालाई विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्य सेवको रुपमा विकास गरिने उल्लेख गरिएको छ । 'विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्यलाई स्वास्थ्य सेवामा अभिवृद्धि गर्न विशेषज्ञ तथा विशिष्टिकृत नर्सिङ सेवाको विकास र व्यवस्था गरिने छ' रणनीतिमा उल्लेख गरिएको छ । यस्तै, नर्सिङ तथा मिडवाइफ्री शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि शैक्षिक संस्थाको भौतिक पूर्वाधार र जनशक्तिको न्यूनतम् मापदण्डलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्ने रणनीतिमा उल्लेख गरिएको छ ।

अहिले रहेका नर्सिङ जनशक्ति अपर्याप्त रहेकाले मुलुकको आवश्यकताको आधारमा जनशक्ति उत्पादन गर्ने लक्ष्य रणनीतिले लिएको छ । रणनीतिमा देशको आवश्यकता र प्रक्षेपणको आधारमा नर्सिङ तथा मिडवाइफ्री जनशक्ति उत्पादन गर्ने उल्लेख गरिएको छ ।

संगठनात्मक तथा व्यवस्थापन सर्वेक्षण गरी नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आपूर्ति र परिचालन गर्ने रणनीतिमा उल्लेख छ । संघीय संरचनाअनुरुप नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको गणना र प्रक्षेपण, अन्तर्राष्ट्रिय मापदण्डअनुसार एकीकृत राष्ट्रिय पाठ्यक्रम तयार गरी सोहीअनुरुप सबै सरकारी तथा निजी शिक्षण संस्थामा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीतिमा उल्लेख छ ।

अहिले नेपालमा दर्ता भएका नर्स ६८ हजार ३१६, मिडवाइफ २८, अनमी ३६ हजार ७५४ र विशेषज्ञ नर्सिङ ५९८ जना छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा आज १० वर्षे उक्त रणनीति सार्वजनिक गरिएको हो । रणनीतिमा प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्नाका साथै औद्योगिक क्षेत्रमा नर्सिङ वा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उल्लेख गरिएको छ ।

स्वास्थ्यमन्त्री खापुङले सबै ठाउँमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा जोड दिए । सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्‍याउने काम गर्नुपर्नेमा जोड दिँदै उनले संविधानमा उल्लेख भएअनुसारको स्वास्थ्य सेवा पुर्‍याउन राज्यले नसकेको समेत बताए । 'अहिले पनि चिकित्सक र नर्स चाहियो भनेर मन्त्रालयमा मानिस भन्न आउँछन्, ' मन्त्री खापुङले भने,'देशभर समतामूलक सेवा पुर्‍याउन आवश्यक छ भएको र रणनीतिले लिएको लक्ष्यअनुसार नर्सिङ सेवालाई गुणस्तरीय बनाउनुपर्छ । '

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले रणनीति अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापनमा समस्या हुने बताए । उनले दुर्गम र पहाडी जिल्लामा स्वास्थ्यकर्मी पठाउन नसकिएको उल्लेख गर्दै रणनीतिअनुसार स्वास्थ्यकर्मी दुर्गम र पहाडी क्षेत्रमा जानै पर्नेमा जोड दिए ।

प्रकाशित : असार १६, २०७९ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?