प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमै हुनेछ : प्रधानमन्त्री- समाचार - कान्तिपुर समाचार

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमै हुनेछ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै आगामी दिनमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

६४ औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले बिहीबार संघीय संसद भवनमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक प्रणालीमा अध्यावधिक निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

प्रधानमन्त्री देउवाले भने, 'हामी लोकतान्त्रिक अभ्यासमा छौं । आवधिक निर्वाचन समयमा गरिनेछ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण तरिकाले समयमै गर्न सरकार प्रतिवद्ध रहेको छ ।'

मुलुकलाई विकास र स्थायित्वतिर लाने दायित्व सबैको भएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो । उनले जननिर्वाचित व्यवस्थाअनुसार नै सबै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । 'जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्त्वपूर्ण हो । अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो,' उनले भने ।

प्रतिनिधिसभाको निर्वाचन आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साता गर्ने तयारीमा सरकार रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले संसद, संसदीय समितिको निर्देशनलाई सरकारले पालना एवं कार्यान्वयन गर्ने विश्वास दिलाएका थिए ।

प्रकाशित : असार १६, २०७९ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्

'टेस्ट राइड' मागेर मोटरसाइकल चोर्ने पक्राउ

सन्जु पौडेल

तिलोत्तमा — मोटरसाइकल किन्ने भन्दै ‘टेस्ट राइड’ का नाममा मोटरसाइकलसहित फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको सैनामैना रामापुरबाट मोटरसाइकल किन्ने भन्दै ‘टेस्ट राइड’ गर्न निस्केका सैनामैना नगरपालिका ८ का १८ वर्षीय किशोरलाई फरार भएको दुई दिनपछि सालझण्डी प्रहरीले पक्राउ गरेको हो । ती किशोरलाई कञ्चन गाउँपालिकाको रातडाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सडक किनारमा रोकिएको मोटरसाइकल मन परेको भन्दै किन्न तयार भएका ती किशोरले मूल्य तय गरी टेस्ट राइड गर्ने भन्दै निस्केर फरार भएका थिए । रोल्पाबाट बुटवल आउँदै गरेका रोल्पा त्रिवेणी गाउँपालिका ७ का दिलबहादुर विकले सैनामैना रामापुरमा मोटरसाइकल रोकेर चिया पिउँदै गर्दा बाईक मन परेको भन्दै नाटकीय रुपमा ती किशोर बाइक किन्न पुगेको र बाइक लिएर फरार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १६, २०७९ १२:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×