२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

१८ वटा हेलिकप्टरलाई काठमाडौंबाहिर सारिँदै

सुरज कुँवर

काठमाडौँ — नेपालमा उडानमा रहेका १२ वटा निजी कम्पनीका ३९ वटा निजी हेलिकप्टरमध्ये पार्किङ अभावका कारण १८ वटाको बेस (आधार विमानस्थल) काठमाडौंबाहिर सारिने भएको छ ।

१८ वटा हेलिकप्टरलाई काठमाडौंबाहिर सारिँदै

हेलिकप्टर व्यवसायी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यव्यस्थापकबीच मंगलबार भएको छलफलमा काठमाडौंमा २१ वटा हेलिकप्टरमात्रै पार्किङ गर्न सकिने भएकाले बाँकी १८ वटालाई काठमाडौंबाहिर स्तान्तरण गरिने निर्णय भएको आन्तरिक टर्मिनल प्रमुख पुर्ण चुडालले बताए । ‘हेलिकप्टर सञ्चालकहरुलाई विमानस्थलको अहिलेको पार्किङ व्यवस्थाबारे अवगत गरायौं,’ चुडालले भने, ‘१२ वटा व्यवसायीहरुले कस्को कतिवटा कता कता राख्ने उहाँहरुले नै निर्णय गरेर शुक्रबारसम्म ल्याउन भनेका छौं ।’

पार्किङ अभावका कारण उडान सुरक्षामा बाधा पुग्न थालेपछि हालै पर्यटन मन्त्रालयले स्तान्तरणलाई कडाइ गर्न प्राधिकरणलाई निर्देश गरेको थियो । त्यसै अनुसार, २१ वटा काठमाडौंमा राखेर बाँकीलाई लुक्ला, पोखरा, रामेछाप, नेपालगन्जलगायतका पायक पर्ने र बेस अनुमति भएका विमानस्थलमा अनिवार्य जान प्राधिकरणले अघिल्लो समोबारदेखि कडाइ गर्न थालेको छ ।

शुक्रबारसम्मको समयसिमा तोकिएकाले हेलिकप्टर कम्पनीहरुले बिहीबार छलफल गरी कुन कम्पनीको कतिवटा काठमाडौंमा रहने कतिवटा बाहिर पठाउनेबारे सुत्र प्राधिकरणलाई प्रस्ताव गरिसकेका छन् ।

‘हामीले एउटा फर्मुला बनाइ प्राधिकरणमा प्रस्ताव पठाएका छौं, ’ फिसटेल हेलिकप्टरका प्रबन्ध निर्देशक मनोज कार्कीले भने, ‘बेस सार्नेबारे प्रस्तावित अवधारणमा सबै कम्पनीलाई हेलिकप्टरलाई समेट्ने प्रयास गरेका छौं । प्राधिकरणबाट अन्तिम टुंगो लाग्न बाँकी छ ।’

वायुसेवा सञ्चालक संघकातर्फबाट प्रस्ताव गरिएको अवधारणामा २१ वटा हेलिकप्टरबाहेक बाँकीका लागि काठमाडौं बाहिर शुक्रबारै सारिने यसबारे गठन गरिएको कार्यदलका संयोजक तथा काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।‘हामी २१ वटा मात्रै हेलिकप्टरलाई काठमाडौंमा राख्न सक्छौं बाँकीको बेस बाहिरका विमानस्थलमा बनाउनैपर्ने भएकाले व्यवसायीहरुको सहमतीमा आउने प्रस्तावलाई नै अन्तिम मान्ने छौं,’ ठाकुरले भने ।

काठमाडौं विमानस्थलबाट हेलिकप्टर, आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान एक साथ गराउदा पार्किङ, होल्ड, डिले हुनेलगायतका समस्या नघटेपछि हेलिकप्टरलाई भक्तपुरको नलिञ्चोकमा सार्न प्राधिकरणले टेन्डर प्रक्रिया सुरु गरिसकेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अबको दुई वर्षभित्र भक्तपुरको हेलिकप्टर स्टेशन सुरु गरिसक्ने गरी ठेक्का लगाइने बताए ।

साँघुरो र एकमात्र धावनमार्ग भएको काठमाडौं विमानस्थलमा आन्तरिक वायुसेवा, हेलिकप्टर र अन्तर्राष्ट्रिय विमानलाई एकसाथ उडान वा अवतरण गराउन सकिदैन । ७ वर्षअघि टर्किस एयरलायन्सको विमान काठमाडौंमा धावनमार्गबाहिर चिप्लिएर दुर्घटनामा भएपछी काठमाडौं विमानस्थलले पूर्वी भागमा टर्किसको आर्थिक सहायतामा हेलिकप्टर पार्किङ (हेलिप्याड) लाई विस्तार गरेको थियो ।

प्रकाशित : असार १५, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?